Powered by Blogger.
शनिबारबाट तेस्रो थाहा महोत्सव, इन्द्रायणी चौरमा विशेष समारोहबीच मुख्यमन्त्रीद्धारा समुद्घाटन हुने


मकवानपुर । शनिबारबाट उत्तरी मकवानपुरको थाहा नगरपालिका स्थित इन्द्रायणी चौरमा हुने तेस्रो थाहा महोत्सवको सबै तयारी पुरा भएको छ । 

कात्तिक १८ गतेसम्म चल्ने ऐतिहाँसिक थाहा महोत्सवको उद्घाटन प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले गर्ने निश्चीत भएको छ । 

थाहा नगर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा यो समेत तेस्रो पटक थाहा महोत्सव हुन लागेको हो । ‘कृषि पर्यटन र व्यापार मेला’ नाम दिइएको महोत्सवले यस क्षेत्रको कृषि तथा पर्यटन प्रवद्धर्नमा टेवा पु¥याउने संघका अध्यक्ष कविराज खत्रीले जानकारी दिनुभयो । 

कृषि पर्यटन पुर्वाधार– आर्थिक विकासको मुल आधार भन्ने उद्देश्यका साथ हुन गइरहेको तेस्रो थाहा महोत्सव दामन घुमफिर वर्ष २०७५ सफल पार्नका लागि समेत सघाउ पु¥याउने उद्देश्यले आयोजना गरिएको महासचिव सुरेन्द्रमान प्रधानले जानकारी दिनुभयो ।  

कृषि र पर्यटनको अथाह सम्पदा रहेको उत्तरी मकवानपुरका टिष्टुङ, पालुङ र चित्लाङ जस्ता ऐतिहासिक स्थानहरुको प्रवद्र्धन गर्नुका साथै यसको चिनारी अझ वृद्धि गर्न महोत्सवलाई निरन्तरता दिनु जरुरी रहेको उहाँको भनाई छ । 



थाहा नगारपालिका ३ नम्बर प्रदेश अन्तर्गत उत्तरी मकवानपुरको प्रमुख पर्यटकीय गन्तव्य भएकाले थाहा नगर उद्योग वाणिज्य संघले सदाका वर्षहरु झैं यो पटक पनि सो स्थानको कृषि र पर्यटनको विकास तथा प्रवद्र्धन गर्न टेवा पु¥याउने अभिप्रायले महोत्सवको निरन्तरता दिइरहेको बताएको छ ।  

काठमाडौंबाट जम्मा ६५ किलोमिटरको दूरीमा रहेको यस क्षेत्र वेमौसमी तरकारी उत्पादनका हिसावले चर्चित त छँदैछ, तत्कालिन समयमा जनतामा जागरण ल्याउननुहुने थाहा आन्दोलनका अभियन्ता रुपचन्द्र विष्टको जन्मभूमि भएकाले पनि चिरपरिचित छ ।

स्वदेसी तथा विदेशी पर्यटकहरुको आकर्षणको केन्द्र दामन, जहाँबाट विश्वका प्राय प्रमुख हिमालहरु छर्लङ्ग देख्न सकिन्छ, यस्तो स्थानलाई थप प्रचार–प्रसार गर्नुका साथै लिच्छवीकाल देखिको ऐतिहासिक पृष्ठभूमि भएको ‘टिस्टुङ, पालुङ र चित्लाङ’का ऐतिहाँसिक सम्पदाहरुलाई संरक्षण र सम्वद्र्धन गर्दै यो स्थानलाई सम्पदा र प्राकृतिक विविधताको शहरका रुपमा विकास गर्नु अहिलेको आवश्यकता हो । महोत्सवमा आन्तरिक तथा बाह्य गरेर एक लाख भन्दा बढी पर्यटक भित्र्याउने लक्ष्य आयोजकले लिएको बताइएको छ । 

पछिल्लो समय स्तरोन्नती हुँदै गरेको थानकोट–चन्द्रागिरी–चित्लाङ सडक निर्माणले पुर्णता पाएमा ३४ किलोमिटरको बाटोले राजधानी काठमाडौं जोडिने र यस क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकको ध्यान खिच्न सकिने प्रष्ट छ ।  

त्यतीमात्र होइन यसपालीको बजेटमा थानकोटबाट चित्लाङसम्म सुरुङ निर्माण गरेर सो क्षेत्रको दुरी काठमाडौंसंग छोट्याउने र त्यहाको जनजीवनलाई सहज पार्ने अभियान सरकारले सुरु गसिकेको छ ।  सो सुरुङले पुर्णता पाएसंगै राजधानी काठमाडौं नजिकै रहेर पनि वत्तिमुनीको अध्याँरोको रुपमा रहेको त्यस क्षेत्रले काँचुली फेर्नेमा आशा राख्न सकिन्छ ।

महोत्सवमा कृषि मेला प्रदर्शनी हुने भएको छ । प्रदर्शनीका किसानहरुले आफूले उत्पादन गरेको कृषि उपजको प्रतिस्पर्धा गराइने महोत्सव आयोजक थाहानगर उद्योग वाणिज्य संघका सदस्य तथा कृषि मेला प्रदर्शनी संयोजक निरोज प्रधानले जानकारी दिए ।


महोत्सवको अवसरमा उत्तरी मकवानपुरको डेढ दर्जन प्रमुख पर्यटकीय स्थलहरुको तस्विरलाई एक ठाउँमा राखेर आयोजकले छुट्टै ‘पर्यटन जोन’ बनाउन लागेको छ । 

आयोजकका अनुसार महोत्सवमा उत्तरी मकवानपुरका प्रमुख पर्यटकीय स्थलहरुको छुट्टाछुट्टै तस्विर राखिनेछ । फ्लेक्समा राखिने यी स्थलहरुको एउटै तस्विर ८ फिट लम्बाई र ६ फिट उचाइका हुनेछन् । तस्वीरहरुको बीचमा भने दामन भ्युटावरको अग्लो फ्लेक्स राखिनेछ । एउटा तस्वीर थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको रहनेछ ।

तस्वीरका सामु उभिएर फोटो खिच्न र उत्तरी मकवानपुरका प्रमुख पर्यटकीय स्थलहरुको बारेमा जानकारी लिने अवसरका लागि पर्यटन जोनले सहयोग गर्ने अध्यक्ष खत्रीले बताउनुभयो । महोत्सवबाट बालबालिका, नव आगन्तुक र उत्तरी मकवानपुरको प्रमुख पर्यटकीय स्थलहरुको बारेमा चासो लिने जोकोहीलाई लाभ पुग्ने र आगामी दिनमा पर्यटन विकासमा समेत टेवा पुग्ने बताइएको छ । 

यता तेस्रो थाहा महोत्सवमा थाहाका कलाकारहरुको बेजोड प्रस्तुती रहने भएको छ । महोत्सवमा थाहाका झण्डै २ दर्जन कलाकारहरुको गायन, नृत्य लगायत प्रस्तुती रहने महासचिव सुरेन्द्रमान प्रधानले बताउनुभयो । 

प्रधानका अनुसार महोत्सव अवधिमा प्रत्येक दिन थाहाका कलाकारहरुको प्रस्तुती रहने छ । थाहाका कलाकारहरुको संयोजन  गायक मुक्तिनाथ उप्रतीले गरिरहेका छन् ।

महोत्सवमा मुक्तिनाथ उप्रेती, रुपचन्द्र सापकोटा, रुपक उप्रेती, सुशान्त गोपाली, विनिता गोपाली, जानुका अधिकारी, देवन्त गोपाली, प्रतिक गोपाली, रवि. आर. एस. लगायत गायक गायिकाहरुको प्रस्तुती रहने छ । 

महोत्सवमा थाहा कला केन्द्र, नव क्षितिज कला केन्द्र, रुप्सेली गाइज, स्ट्रङ सोउल डान्स क्र्यू, टिचर्स व्याण्ड, नेप्से कल्चर लगायतको प्रस्तुती रहने छ ।

काठमाण्डौैं र बाहिरबाट आउने कलाकारहरुको समयसँग नजुधाई थाहाका कलाकारहरुको प्रस्तुती समय मिलाइने आयोजकले बताएको छ ।

महोत्सवमा लोकप्रिय गायकहरु प्रमोद खरेल, बद्रि पङ्गेनी, उमादेवी खनाल, मिलन लामा, हेमन्त शर्मा, प्रकाश सपुत, प्रिति आले, रमेशराज भट्टराई, रुपा घर्तीगगर, चन्द्र शर्मा, भूमिका गिरी, साहिमा श्रेष्ठ लगायत कलाकारहरु आउनेछन् । त्यस्तै बाल कलाकार अशोक दर्जी, जादुगर बलराम सरकार, हास्य कलाकारहरु बल्छी ध्रुबे, राजु मास्टर, दिनेश काफ्लेसमेत आउने बताइएको छ ।

त्यस्तै चर्चित नृत्याङ्गानाहरु सीता भुषाल, सविता भुषाल र आस्था कला केन्द्र मनहरीका कलाकारहरु आउने पक्का भएको छ ।

थाहाका कलाकारहरुको प्रस्तुती उजागर गर्न, उनीहरुलाई अन्य राष्ट्रिय कलाकारहरुसँग घनिष्ठ बनाउन र कलाकारहरुमार्फत् पर्यटन प्रवर्धनमा टेवा पु¥याउन हरेक दिन दर्जनौं कलाकारहरुलाई प्रस्तुतीका लागि उतार्न लागिएको महासचिब प्रधानले बताउनुभयो ।

दामन आफै मनोरम स्थान हो भने त्यहाँ रहेको भ्यूटावरले पनि पर्यटक आकर्षित गरिरहेको छ ।  त्यस्तै थाहाको डाँडाबास आफैमा सुन्दर, दिनैभरि सूर्य र बादलको लुकामारी चल्छ । टिस्टुङ –बज्रवाराही, त्रिवेणीधाम, ऋषेश्वर, पाण्डुकेश्वर, झम्केश्वर, चम्पाकेश्वर आदि मन्दिरहरुको कारण यहाँको धामिर्क पर्यटन फस्टाउन सक्छ । चित्लाङको चैत्यलोह सम्राट अशोककालीन हो भने ऐतिहासिक भेडाफार्म र इन्द्रसरोबरले पनि पर्यटक लोभ्याइरहेको छ ।  कुन्छाल गाउँ पर्यटन गाउँ हो । थाहा नगरपालिका र आसपासमा रहेका यी सबै स्थानहरु उत्तरी मकवानपुरका प्रमुख पर्यटकीय स्थलहरु हुन् ।

महोत्सवको शनिवार बिहान १० बजे इन्द्रयणीचौरमा एक विशेष समारोहका बीच मुख्यमन्त्री पौडेलले उद्घाटन गर्नुहुनेछ भने त्यस अघि ९ बजे ओखरबजारबाट शोभायात्रा सुरु हुनेछ । 

महोत्सव मूल आयोजक समितिअन्तर्गत बनाइएका विभिन्न विभागीय टोलीहरुले आआफ्नो काम अन्तिम चरणमा पु¥याएका र शुक्रबार साँझ सम्म सम्पूर्ण तयारी पुरा हुने बताइएको छ । सो अवसरमा प्रदेश–३ का कम्तिमा ५ जना मन्त्री, साँसदहरु, थाहा नगरपालिकाका प्रमुख, उपप्रमुखसहित विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहने आयोजकले बताएको छ ।  

महोत्सवको विशिष्ट अतिथी तथा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासान समितिका सभापति रामनारायण बिडारी लगायतका व्यक्तित्वहरु शुक्रबार नै पालुङ पुगिसकेका छन् । 

शोभायात्रामा परम्परागत साँस्कृतिक झाँकीहरुसहित ब्याण्ड बाजासमेत समावेश गर्ने गरी तयारी गरिएको छ । महोत्सवमा कृषि, अटो तथा सवारीसाधन, फेन्सी तथा कस्मेटिक, हस्तकला तथा उद्यमशील, आइटी, परामर्श तथा प्रवद्र्धन लगायत गरी २ सय ५०  वटा स्टलहरु रहने बताइएको छ ।


तस्विर : श्रीकृष्ण श्रेष्ठ


0 comments

Write Down Your Responses