Powered by Blogger.
बिसिङ्खेलमा भव्य रुपमा चम्पाकेश्वर जात्रा सम्पन, ३७ फिट अग्लो त्रिशुल स्थापना


चित्लाङ । उत्तरी मकवानपुर स्थित थाहा नगर पालिका अन्तर्गत बिसिङ्खेलमा भव्य रुपमा चम्पाकेश्वर महादेवको जात्रा सम्पन्न भएको छ ।  

हरेक वर्ष कात्तिक १ गते हुने उक्त जात्रालाई स्थानीयहरु ‘अम्बे’ जात्रा भनेर पनि चिन्दछन् ।  यस पटक पनि नवमीका दिन सो जात्रा सम्पन्न भएको हो । 

जात्रा अघि नै दशैं पर्न गएमा समेत स्थानीयहरु सो जात्रा सम्पन्न गरिसकेपछि मात्र दशैं मनाउने गर्छन् । तसर्थ सो क्षेत्र साँस्कृतिक पहिचानका हिसावलै बेग्लै महत्वको क्षेत्र मानिन्छ ।

चित्लाङका  चार गाँउका ऐतिहासिक गोपाली  तथा गमाल जातीले राष्ट्रिय चाड दशैं समेत पछि सारेर मनाउने प्रचलन रहेको चम्पाकेश्वर महादेवको जात्रा यस पटक पनि कात्तिक १ गते सम्पन्न भयो । 

यसपटक स्थानीय माधव गमाल लगायतका युवाहरुको सक्रियतामा ३७ फिट अग्लो त्रिशुल समेत मन्दिर परिशरमा स्थापना गरिएको छ । 

करिव ४ लाखको लागतमा उक्त त्रिशुल स्थापना गरिएको र सो कार्यका लागि २ हजार भन्दा बढी सहयोग गर्ने सहयोगदाताहरुको नाम शिलापत्रमा राखिने बताइएको छ ।  जात्राको लागि चम्पाकेश्वर महादेव युवा समुहद्धारा मन्दिर सजावट समेत गरिएको थियो । यस कार्यले ऐतिहासिक मन्दिरको शोभा बढाएको छ । 

बिसिङ्गखेलमा हरेक वर्ष कात्तिक संक्रान्तीको दिन लाग्ने यो मेला दशैको एक हप्ता अगाडि सम्म पर्न गएमा उक्त जात्रा सम्पन्न गरेर मात्र स्थानीय गोपालीहरुले विधि पूर्वक दशैं मान्ने गरेका छन् । यसपालि भने नवमीको दिन नै जात्रा परेकाले जात्रा पछि दशैं मनाइएको थियो ।  


नुहुल गाँउ, टौखेल, कलाँटु र अम्बुटोलका बासिन्दाले विधिपूर्वक अम्बे जात्रा मनाउँछन् भने यो मेला भनै टाढा टाढाबाट समेत भक्तजनहरु आउने गरेका छन् । 

धार्मीक ग्रन्थ रामायणको पात्र वाणासुरको कथासंग चम्पाकेश्वर महादेवको उत्पत्तिको प्रसंग जोडिएकोले चम्पाकेश्वर महादेवको उत्पत्ति आदि कालमै भएको दाबी छ ।  गोपाली जातीको बाहुल्यता रहेको यो क्षेत्रमा नाच र जात्रा चलाउन गुठीको ब्यवस्था गरीएको छ ।

यस भेगमा पानी नपरेमा पानी माग्न र गाईवस्तुको रक्षाको लागि चम्पाकेश्वर महादेवलाई पुज्ने बताइन्छ । यस मन्दिरमा पुख्यौँली घर पाटन रहेका राजोपाध्याय  खलकका पुजारी छन् । प्रत्येक वर्ष जात्रामा विशेष पुजाका लागि महादेवलाई जाँड  र एकैपटक कुटीएको चिउरा चढाउनु पर्छ । जस लाई स्थानिय वासिन्दा ‘कक बजि’ भन्दछन् । 

बेलुकी काठको लठी ठोकाठोक गरेर टाउकोमा पगरी  र पगरीभरि फुल सिउरेर स्थानीय गोपालीहरुले घरबुना खेसका कपडा लगाएर नाच देखाउने चलन रहेको छ । उक्त नाचलाई स्थानिय भाषामा ‘ट्वाक प्याखँ ’ भनिन्छ । यस्ता थुप्रै नाचहरु देखाउने गरिएको छ । 

स्थानिय गोपालवंशी ग्वालाहरुको अत्यन्त श्रद्धाको पर्व चम्पाकेश्वर मेलामा विभिन्न गुठीयारहरुले चार घेम्पो जाँड ल्याउने प्रचलन छ । कीरा परिसकेको उक्त जाँड र ‘कक बजि’ प्रसादको रुपमा खाएमा पेटका रोग निर्मुल हुने जनविश्वास रहेको छ । 

किम्बदन्ती अनुसार हालको थानकोटलाई प्राचिन कालमा शोणितपुर भनिन्थ्यो ।  त्यहा राजा बाणासुर ले राज्य गर्दथे । एक दिन शिकार खेल्न राजपरिवार र सेनाहरु चन्दागिरी जंगल हँुदै बिसिङ्गखेलको वनमा आइपुगेको स्थानिय बासिन्दा बताउँछन् । 

उक्त वनको एउटा रुखमा फुलिरहेको चापको फुल राजकुमारीले देखेपछि उनी लोभिएको र उक्त फुल टिपेर ल्याउन अनुरोध गरिएको स्थानिय बुढापाकाहरु बताउँछन्  ।

कथाअनुसार फूलको रुखको फेदबाट हेर्दा फूल देखिने र टुप्पोमा पुग्दा हराउने गरेपछि राजालाई साह्ै रिस उठेछ । त्यसपछि कलाँटु गाँउका काठका काम गर्ने ब्यक्तिहरुलाई बोलाएर उक्त रुख काट्न आदेश दिएछन् । 

रुख काट्दा रगत आएको र एउटा ज्योर्ती्लिङ्ग पैदा भएपछि कलाँटुका गमालहरुले उक्त लिङ्ग आफ्नो गाँउमा लगेर राखेछन् । तर त्यो रात गाँउमा कुखुराको भाले नबासेपछि केहि अनिष्ट भयो भन्ठानेर गाँउलेमा चिन्ता बढेछ । 

क्षमापुजा गरेपछि आकाशवाणी भएर ‘सोझा जाती गोपाली बस्ने टौखेलमा मलाई लगेर राख्नु’ भनेपछि अझैपनि जात्राको दिन टौखेलबाट शिवलिङ्ग ल्याउने र जात्रा सकिएपछि फिर्ता लैजाने प्रचलन रहेको स्थानिय हरि गोपालीले बताउनुभयो । सो चाँपको रुखको ठुटो हालसम्म मन्दिर क्षेत्रमै रहेको छ । 



0 comments

Write Down Your Responses