Powered by Blogger.
दामन पोष्टका कार्यकारी सम्पादक बलामीको ‘टिष्टुङ चिनारी’ बिमोचन


टिस्टुङ । पत्रकार, लेखक एवं दामन पोष्ट सहकर्मी रामजी बलामीको दोश्रो पुस्तक ‘टिष्टुङ चिनारी’ को बिमोचन गरिएको छ । 

प्रमुख अतिथि प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणी पौडेल, प्रत्यायोजन व्यवस्थापन तथा सरकारी आश्वासन समितीका सभापति रामनारायण बिडारी, प्रतिनिधी सभाका सांसद विरोध खतिवडा, थाहा नगरपालिकाका मेयर लवशेर बिष्ट, लगायतले पुस्तकको सामुहिक बिमोचन गर्नुभएको हो । 

यही असोज २४ गते सुरु भएको टिस्टुङ महोत्सवको उद्घाटन सत्रमा सो पुस्तक विमोचन गरिएको हो । विमोचन कार्यक्रममा दामन पोष्ट साप्ताहिक एवं दामनपोष्ट डटकमका सम्पादक तथा नेपाल पत्रकार महासंघ काठमाडौं शाखा अध्यक्ष शन्तराम बिडारी,   थाहा–६ का वडाध्यक्ष शशिधर सुवेदी, टिष्टुङ महोत्सव मूल समारोह समितीका संयोजक ईन्द्रबहादुर श्रेष्ठ लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिति थियो । 

बलामी ‘क’ वर्गको  साप्ताहिक पत्रिका दामन पोष्ट साप्ताहिकको सहसम्पादक तथा अनलाइन समाचार पोर्टल दामनपोष्ट डटकमको कार्यकारी सम्पादक समेत हुन् । 

पुस्तकमा उत्तरी मकवानपुरको थाहानगरस्थित ऐतिहासिक बस्ती टिष्टुङको गोपालवंशदेखि गणतन्त्रसम्मका विषयवस्तुहरु समावेश छन् । नाम हराएको ठाउँ टिष्टुङका बारेमा वास्तविक जानकारी प्राप्त गर्न पुस्तक उपयोगी हुने वक्ताहरुले बताउनु भयो ।

पुस्तकमा यो ठाउँको नाम कसरी टिष्टुङ हुन पुग्यो, कसरी बज्रबाराही हुन पुग्यो र अहिले कसरी थाहा नगरपालिका भयो भन्ने कुराहरु उल्लेख छ । त्यस्तै गरी पुस्तकमा टिष्टुङको भौगोलिक बनावट, हावापानी, वनजंगल, जीवजन्तु लगायतका विषयहरु पनि समावेश छन् । पुस्तकमा यहाँ भएको ३ वटा लिच्छविकालिन शिलालेखहरुका बारेमा विस्तृत व्यहोरा उल्लेख छ । 

यसका साथै  टिष्टुङका अन्य शिलापत्रहरु र कुन्छाल, टौखेल, कलाँटु, चित्लाङ लगायत ठाउँमा रहेका शिलालेख, लालमोहर र ताडपत्रहरुका बारेमा समेत पुस्तकमा पढ्न पाईन्छ । 

त्यस्तै यहाँको वस्ती विकास र अहिलेको सामाजिक संरचनालाई पनि पुस्तकमा समावेश गरिएको छ । यहाँ बसोबास गर्ने समुदाय, उनीहरुको भाषा, धर्म र संस्कृतिलाई पनि पुस्तकले प्रस्तुत गरेको छ ।

त्यस्तै यस क्षेत्रमा भएका साना ठूला धार्मिकस्थलहरुका बारेमा पनि पुस्तकमा उल्लेख छ । त्यस्तै पुस्तकमा यो क्षेत्रका प्रमख धार्मिकस्थल बज्रवाराही माई र तीन बर्षे बज्रवाराही जात्राका बारेमा पनि विस्तृत जानकारी समावेश छ । 

बाराही पिठमा गरिने प्रमुख पूजाहरु, बली फाल्ने पूजा, बाह्र बर्षे नाच लगायतका विषयवस्तु पनि पुस्तकमा समावेश छन् । टिष्टुङ कोत दरवार र तलेजु मन्दिरका बारेमा पनि पुस्तकमा लेखिएको छ । 

यसका साथै पुस्तकमा यहाँको विकासक्रमलाई पनि समावेश गरिएको छ । 

यहाँको सडकको विकासक्रम, शिक्षाको विकासक्रम, स्वास्थ्य सेवाको विकासक्रम, कृषि तथा सिचाईको अवस्था, पर्यटकीय सम्भावना लगायतका कुराहरुलाई पनि तथ्य र मितिसहित सिलसिलेवाररुपमा प्रस्तुत गरिएको छ । 

त्यस्तै पुस्तकमा स्व. रुपचन्द्र बिष्टको थाहा अभियानलाई पनि समावेश गरिएको छ । त्यसैगरी यहाँ भएका बित्तीय संघसंस्था र भूकम्पले पारेको प्रभावका बारेमा पनि पुस्तकमा समावेश छन् ।

टिष्टुङलाई भित्रैदेखि चिन्न चाहनेहरुका लागि यो पुस्तक उपयोगी छ । पुस्तकमा इतिहासदेखि वर्तमानसम्म आईपूग्दा टिष्टुङमा भएका परिवर्तनहरुलाई समावेश गरिएको लेखक बलामीले बताए । 

0 comments

Write Down Your Responses