Powered by Blogger.
ऐतिहासिक ‘टिस्टुङ महोत्सव’ समापन, टिष्टुङ नाम पुःन कायम गराउन सबै सहमत


टिस्टुङ(मकवानपुर) । मकवानपुर स्थित थाहा नगरपालिकावडा नम्बर ६ को ऐतिहासिक नाम ‘टिष्टुङ’ कायम गर्नका लागि ३ नम्बर प्रदेश सरकार प्रतिवद्ध रहेको प्रतिपक्ष दलका नेता एवं काँग्रेस संसदीय दलका नेता इन्द्र बहादुर बानियाँले प्रतिबद्धता जनाएका छन् । 

टिष्टुङ (बज्रवाराही)मा संचालन भएको टिष्टुङ महोत्सवको २७ असोजमा भएको समापन कार्यक्रममा बानियाँले यस्तो बताएका हुन् । 

यसअघि उक्त महोत्सवको उद्घाटन कार्यक्रममा प्रदेश ३ का मुख्य मन्त्री डोरमणी पौडेलले पनि नगरसभाबाट निर्णय गरि सिफारिस गरे बज्रवाराहीलाई ऐतिहासिक नाम टिष्टुङ कामय गर्न आफू सकारात्मक रहेको बताएका थिए । 

बानियाँले टिष्टुङलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नका लागि आफ्नो तर्फबाट सक्दो सहयोग हुने प्रतिवद्धता व्यक्त गरे ।

टिष्टुङको प्रवद्र्धन गर्न महोत्सव महत्वपूर्णः बानियाँ

यसैबीच मकवानपुरको उत्तरी क्षेत्रलाई पर्यटन उद्योगका रुपमा स्थापित गर्नका लागि टिष्टुङ महोत्सवको योगदान अतुलनीय रहेको नेपाली काँग्रेस प्रदेश ३ का संसदीय दलका नेता इन्द्र बहादुर बानियाँले बताएका छन् । टिष्टुङको पर्यटन प्रवद्र्धनमा आफ्नो तर्फबाट सँधै सहयोग हुने सांसद बानियाँको भनाई थियो । बानियाँ पूर्व पर्यटन राज्यमन्त्री हुन् । 



मकवानपुरको टिष्टुङ (बज्रवाराहीमा) २४ असोजदेखि संचालन भएको टिष्टुङ महोत्सवको चारदिने कार्यक्रम समापन समारोहमा उनले यस्तो बताएका हुन् । मकवानपुरका प्रदेश सांसद समेत रहेका बानियाँले आफ्नो तर्फबाट बज्रवाराही स्वास्थ्य चौकीका लागि एम्बुलेन्स सहयोग हुने प्रतिबद्धता जनाएका छन् । 

संविधानसभा सदस्य सुभाष ठकुरीले टिष्टुङको पर्यटन प्रवद्र्धनका लागि अब बन्ने हेटौंडा काठमाडौं सुरुङमार्गले थप टेवा पुग्ने बताए । पर्यटनका लागि यातायातको पूर्वाधार विकास आवश्यक भएको बताउँदै कुन्छाल कुलेखानी सडकको यसैपालि स्तरोन्नती हुने बताए । उनले उक्त सडकका लागि बजेट विनियोजन समेत भइसकेको बताए । 

टिष्टुङ महोत्सव मूल समारोह समिति–२०७५ का सहसंयोजक प्रमोद जोशीको सभाध्यक्षतामा भएको कार्यक्रममा थाहा नगरपालिकाका उपमेयर खड्ग गोपाली, साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष महेश्वर सुवेदी, नयाँ शक्ती पार्टीका ज्योति रायमाझी, थाहा नगरपालिकाका वडा अध्यक्षहरुलगायतकाको आतिथ्यता रहेको थियो ।

टिष्टुङ ऐतिहाँसिकताको प्रवद्र्धन र स्थानीय उत्पादनलाई प्रवद्र्धन गरी सिंगो थाहानगरलाई सम्वृद्ध बनाउने उद्देश्य सहित टिष्टुङ महोत्सवको आयोजा गरिएको थियो । महोत्सवमा कृषि प्रदर्शनी सहित एक सय ६० प्रवद्र्धनात्मक स्टलहरु रहेका थिए । 



चारदिनसम्म संचालन भएको महोत्सवमा ५० हजारले अवलोकन गरेको टिष्टुङ महोत्सव मूल समारोह समितिका संयोजक इन्द्र बहादुर श्रेष्ठले जानकारी दिए । महोत्सवमा मकवानपुर सहित धादिङ, ललितपुर, भक्तपुर, काठमाण्डौ, चितवन, काभ्रेलगायतका क्षेत्रबाट अवलोकनकर्ता आएका थिए । 

समापन कार्यक्रममा स्थानीय कलाकारहरुले विषेश साँस्कृतिक कार्यक्रम गरेका थिए भने स्थानीय नेवारी साँस्कृतिक नाचहरु पनि प्रदर्शन गरिएको थियो । महोत्सवको औपचारिक समापन नेपाल सम्वत् ११३९ को दिन अर्थात कार्तिक २२ गते हुने आयेजकले जनाएको छ ।



0 comments

Write Down Your Responses