Powered by Blogger.
तामाङ प्राज्ञ सभाको १२ औँ वार्षिक साधारण सभा हेटौँडामा सम्पन्न

हेटौँडा, १९ असोज । तामाङ प्राज्ञ सभाको १२ औं वार्षिक साधारण सभा शुक्रबार हेटौँडामा सम्पन्न भएको छ । हेटौँडा २ वनस्खण्डीमा अवस्थित नागरिक भवनमा भएको साधारणसभाले प्राज्ञ सभाको कार्य योजनाहरु समेत निर्माण गरेको छ ।

तामाङ प्राज्ञ सभाका अध्यक्ष श्याम प्रसाद लामाको सभाध्यक्षता तथा प्रदेश नम्बर ३ की उपसभामुख राधिका तामाङको प्रमुख आतिथ्यतामा सभा सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तामाङले प्राज्ञ सभाले नयाँ नेतृत्व पाएसँगै सक्रियता पूर्वक कार्यहरु गर्दै आएकोमा खुशी व्यक्त गरिन् । ‘विगतमा निस्कृय जस्तो देखिए पनि नयाँ नेतृत्व आएसँगै तामाङ प्राज्ञ सभाले सक्रियता देखाएको छ,’ उनले भने, ‘तामाङ प्राज्ञ सभा सक्रिय भएकोमा खुशी लागेको छ, आगामी दिनमा अझ सक्रियता बढोस् ।’

समानुपातिक सिद्धान्तका आधारमा राजनीतिमा तामाङ समुदायको उपस्थिति सक्रिय देखिएता पनि प्रशासन तथा अन्य क्षेत्रमा निकै कमजोर उपस्थिति रहेको औँल्याउँदै उपसभामुख तामाङले सबै तामाङहरु एकजुट भएर लाग्नुपर्ने बताईन् । तामाङ प्राज्ञ सभालाई समेत सहकार्य गरेर अगाडि बढ्न उनले आह्वान गरिन् ।

सभाका अवसरमा मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई फुलमाला लगाएर स्वागत समेत गरिएको थियो । कार्यक्रममा प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य सांसद ओमबहादुर घलान , भाषाविद अजितमान तामाङ, संस्थाका सल्लाहकार तथा विश्व किर्तिमानी हिमाल आरोही शम्भु तामाङ लगायतले मन्तव्य दिएका थिए । त्यस्तै संस्थाका कार्य समिति सदस्य फत्तेमान लामाले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रम संस्थाकी कोषाध्यक्ष कुमारी वाईबाले संचालन गरेकी थिईन् । कार्यक्रममा तामाङ बुद्धिजीविसहित अन्य विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

0 comments

Write Down Your Responses