Powered by Blogger.
तामाङ चलचित्र ‘रुङ्सी टिला’ मंसिर १९ र २० गते बिहान हेटौँडामा प्रदर्शन हुने

मकवानपुर,

मंसिर । ह्याङ्ला मकवानपुर फिल्म प्रा.लि.को निर्माणमा बनेको तामाङ कथानक चलचित्र ‘रुङ्सी टिला’ (पर्खी बस्छु) यही मंसिर १९ र २० गते हेटौँडामा रहेको एन.एस. सिनेमाजमा प्रदर्शन हुने भएको छ । आईतबार हेटौँडामा अवस्थित न्यूज क्लब नेपालमा पत्रकार सम्मेलन तथा ट्रेलर रिलिज गर्दै चलचित्र टोलीले चलचित्र प्रदर्शनका बारेमा जानकारी दिएका हुन् ।

तामाङ चलचित्रका क्षेत्रमा एक दशकभन्दा बढी समय चर्चामा रही कार्य गरेका मकवानपुरका चर्चित कलाकार एवम् निर्देशक बाबु थिङको निर्देशनमा चलचित्र निर्माण गरिएको हो । कार्यक्रममा बोल्दै निर्देशक थिङले चलचित्रमा पारिवारिक कथा रहेको बताए । चलचित्रमा सौतेनी आमाको सम्बन्ध र पर्खाईमा रहेको प्रेमीको कथा समेत रहेको उनले जानकारी दिए ।

कार्यक्रममा बोल्दै चलचित्रका नायक सानु लामाले आफुले मुख्य भूमिका निभाएको चलचित्र पहिलो भएको बताउँदै उनले आफु एक समाज सुधारको बाटोमा लाग्न प्रेरित गर्ने शिक्षकको भूमिकामा चलचित्रमा देखिएको बताए ।

चलचित्रमा मकवानपुरको चर्चित पर्यटकीय स्थलहरु मकवानपुरगढी, पुष्पलाल स्मृति पार्क लगायतका स्थानमा छायांकन गरिएको चलचित्रमा मकवानपुरकै कलाकारहरुको वर्चश्व रहेको छ । चलचित्रमा मकवानपुरका नायक सानु लामा, विक्रम लुङ्वा, सुष्मा थिङ, काभ्रेकी सुनिता लुङ्वा, राजु नेगी, राधिका स्याङ्तान लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रको कथा ऋतुराज पाख्रिनले लेखेका हुन् । बाबु थिङ र विक्रम लुङ्वाको कोरियोग्राफी रहेको चलचित्रमा राजु किराँतको द्वन्द रहेको छ । चलचित्रका गीतहरुमा देवलाल मोक्तान र सुशिल मोक्तानले संगीत दिएका छन् । चलचित्रलाई राधिका स्याङ्तानले निर्माण गरेका हुन् ।

कार्यक्रममा चलचित्र टोली सहित नेपाल पत्रकार महासंघ प्रदेश नम्बर ३ अध्यक्ष प्रताप विष्ट, महासचिव कृष्ण सारु मगर, प्रेस यूनियन मकवानपुरका निवर्तमान अध्यक्ष रुपेश दुलाल, चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, सचिव श्रीराम अर्जुन, तामाङ पत्रकार संघ मकवानपुर अध्यक्ष चन्द्र घलान, न्यूज क्लब नेपालका अध्यक्ष धर्मेन्द्र दाहाल लगायतको उपस्थिति रहेको थियो ।

0 comments

Write Down Your Responses