Powered by Blogger.
मौरी बचाउन मकवानपुरका दुर्गम चेपाङ बस्तीका बासिन्दाले गरे विषादी प्रयोगमा रोक

हेटौडा / मकवानपुरका दुर्गम चेपाङ बस्तीका बासिन्दाले खेतबारीमा रासायनिक मल र विषादी प्रयोग गर्न रोक लगाएका छन् । विषादीका कारण मौरी मर्ने भएकाले उनीहरूले विषादी प्रयोग गर्न रोक लगाएका हुन् ।


मकवानपुरका दुर्गम चेपाङ बस्तीका बासिन्दाले खेतबारीमा रासायनिक मल र विषादी प्रयोग गर्न रोक लगाएका छन् । विषादीका कारण मौरी मर्ने भएकाले उनीहरूले विषादी प्रयोग गर्न रोक लगाएका हुन् ।

राक्सिराङ गाउँपालिका—६ साबिकको काँकडा गाविस—१ सिलिङेका कृषकहरूले खेतबारीमा विषादी र रासायनिक मल प्रयोग गर्दैनन् । खेतबारीमा हालेको विषादीका कारण स्थानीय मौरी मर्ने भएकाले विषादी प्रयोग गर्न रोक लगाएको वडाध्यक्ष सिंहबहादुर चेपाङले बताए ।

‘मौरीको संरक्षण गर्न र अग्र्यानिक मह उत्पादन गर्ने उद्देश्यले फलफूल र तरकारीलगायत कुनै पनि बालीमा रासायनिक मल र विषादी प्रयोग गर्न रोक लागएका हौं,’ उनले भने । चिउरीको रसको मह गुणस्तरयुक्त हुँदाहुँदै पनि अग्र्यानिक मह उत्पादन गर्न स्थानीयवासीले विषादी प्रयोग गर्न छाडेका छन् ।

महको आम्दानीबाट हौसिएका उक्त क्षेत्रका बासिन्दाले गत वर्षदेखि बाहिरका मौरीपालकहरूलाई मौरी चराउन ल्याउन रोक लगाएका छन् । गत वर्ष स्थानीयवासीले नै ५ हजार मौरीका घार राखेका थिए । अहिलेको वर्ष पनि त्यसकै हाराहारीमा राखेका छन ।

‘अग्र्यानिक मह उत्पादन क्षेत्रका रूपमा परिचय बनाउनका लागि यस क्षेत्रका बासिन्दाले फलफूल, तरकारीलगायत कुनै पनि बालीमा विषादी प्रयोग गर्दैनन्,’ प्रदेश–३ का भूमि व्यवस्था, कृषि सहकारी मन्त्रालयका कृषि विज्ञ निर्मल गदालले भने, ‘विशेष गरी स्थानीयवासीले आफ्नै पहलमा विषादी छर्न रोक लगाएका हुन् ।’

विषादी प्रयोग गरेर हुकाइएको बालीनाली र तरकारीको फूलमा रस चुस्न आएका मौरीहरू मरेको देखेर सिलिङेवासीले विषादी प्रयोग गर्न छाडेका हुन् । स्थानीयवासी मौरीपालन व्यवसायतर्फ आकर्षित भएकाले सिलिङेका बासिन्दाहरूले विषादी छर्न रोक लगाएका हुन् ।

स्थानीयवासीले चिउरीका रूखको संरक्षण गर्न जंगलमा तिनका बिरुवा रोपेका छन् । गत वर्षदेखि चिउरीको नर्सरी पनि राखिएको छ ।

एउटैको आम्दानी १५ लाखराक्सिराङ गाउँपालिका–६ काँकडाका आइतराम चेपाङले मौरीपालन गरेर गत वर्ष १५ लाख रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् । उनले विगतदेखि नै मौरीपालन गर्दै आएका हुन् । सुरुमा उनले स्थानीय जातका मौरी मुढेघारमा पाल्दै आएका थिए । चार वर्षदेखि ४४ वर्षीय आइतरामले स्थानीय जातको मौरीसँगै मुढेघारलाई विस्थापित गरेर आधुनिक घार बनाएर मेलिफेरा जातको मौरी पाल्दै आएका छन् ।

गत वर्ष उनले १ सय ५० वटा आधुनिक घारमा मौरीपालन गरेर १५ लाख २५ हजार आम्दानी गरेका थिए । गत वर्षको आम्दानीबाट हौसिएर उनले एक सय ८० वटा घारमा मौरीपालन गरेका छन् । एउटा मौरीको घारबाटकात्तिकदेखि फागुनको पहिलो सातासम्म कम्तीमा ४० हजार रुपैयाँको मह उत्पादन हुन्छ ।

प्रतिकेजी महको मूल्य २ सय ५० रुपैयाँदेखि ३ सय रुपैयाँसम्ममा बिक्री हुने गरेको छ। महकै आम्दानीबाट आइतरामले ट्याक्टर, यात्रु ढुवानी गर्न बोलेरो जिप र चितवनको भण्डारामा एउटा घडेरी जोडेका छन् । ‘महको तीन/चार वर्षको कमाइले जिप, ट्याक्टर र घडेरी किनेको छु,’ आइतरामले भने, ‘महले मेरो सिंगो परिवारको जीवन गुलियो र रसिलो बनाएको छ ।’ उनका २ छोरा र एक छोरी पनि अध्ययन गरिरहेका छन् ।

घारमा मौरीपालन गर्न थालेपछि उनको सिंगो परिवारको जीवनमा परिवर्तनका संकेतहरू देखापरेका छन् । ‘व्यावसायिक मौरीपालनले आइतराम चेपाङको परिवारको आर्थिक रूपमा नै परिवर्तन सम्भव भएको हो,’ वडाध्यक्ष सिंंहराम चेपाङले भने, ‘यी चेपाङहरूले उनकै सिको गरेर व्यावसायिक रूपमा आधुनिक घारमा मौरीपालन गर्न थालेका हुन् ।’

खास गरी यस क्षेत्रका चेपाङहरू विगतमा स्थानीय सेरेना जातको मौरी मुढेघारमा पाल्ने गर्थे । मुढेघारलाई विस्थापित गरेर आधुनिक घारमा उनले मौरीपालन गर्न थालेपछि गाउँलेहरूले पनि उनको सिको गरेका हुन् । उनले मात्र होइन, काँकडा सिलिङेका अधिकांश बासिन्दाले आधुनिक घारमा मौरी पाल्न थालेका छन् ।

चेपाङ बाहुल्य रहेको उक्त क्षेत्रका ८० घर–परिवारले ५ हजार आधुनिक घारमा मौरीपालन गरेका छन् । सबैभन्दा बढी आइतरामकै आधुनिक घार छ । मह बढी उत्पादन गर्ने भएकाले मेलिफेरा जातको मौरी पालेका छन् । स्थानीय सेरेना जातको मौरी सानो र मह पनि थोरै काढ्ने भएकाले मेलिफेरा जातको मौरी पालेका हुन् ।

यस क्षेत्रका चेपाङलगायत बासिन्दालाई कृषि विकास कार्यालय मकवानपुरले आधुनिक ढंगले मौरीपालन गर्न सीप सिकाएको छ । उसले आधुनिक घारहरू मौरीसहित उपलब्ध गराएपछि यहाँका बासिन्दाहरूले मुढेघारलाई विस्थापित गरेका छन् ।

बाहिरबाट मौरी चराउन ल्याउने कृषकहरूलाई पूर्ण रूपमा रोक लगाएका छन् । ‘गत वर्षदेखि बाहिरबाट मौरी चराउन ल्याउन पूर्ण रूपमा रोकेका छौं,’ वडाध्यक्ष चेपाङले भने, ‘स्थानीयवासीले व्यावसायिक रूपमा मौरीपालन सुरु गरेका मात्र छैनन्, मनग्ये आम्दानी लिन थालिसकेका छन् ।’

चिउरीको रसबाट बनेको मह गुणस्तरीय र स्वास्थ्यवद्र्धक हुने भएकाले चिउरीको मह ग्राहकहरूले खोजीखोजी खरिद गर्ने गरेका छन् । लोथरका मह व्यापारी दिनेश चेपाङले कृषकहरूसँग प्रतिकेजी २ सय ५० रुपैयाँमा मह खरिद गरेर काठमाडौं लगेर ३ सय रुपैयाँमा बिक्री गर्छन् । यो समाचार कान्तिपुरमा छ ।

0 comments

Write Down Your Responses