bank

BANK





Powered by Blogger.
थाहानगरः समृद्धिको लागि एक सुन्दर परिकल्पना

विष्णुहरि ढकाल
थाहानगर तत्कालिन दामन, पालुङ, बज्रवाराही, चित्लाङ, टिस्टुङ र आग्रा गा.वि.स.एक आपसमा गाभेर निर्माण गरिएको  ऐतिहासिक, धार्मिक, साँस्कृतिक, जैविक विविधताले भरिपूर्ण रमणीय नगर हो । 

नेपालको पहिलो सडक त्रिभुवन राजपथ (भारतको सिमा क्षेत्र रक्सोल देखि काठमाडौ जोड्ने सडक) यस नगरको मध्य भाग भएर बनेको छ । 

अहिले थाहानगर थानकोट –चन्द्रागिरी सडक, बल्खु–फर्पिङ–कुलेखानी–कुन्छाल सडक र चन्द्रागिरी– थानकोट केवलकारले काठमाडौसंग जोडीएको छ । कुन्छाल–कुलेखानी–हेटौंडा सडकले हेटौंडासंग पनि जोडेको छ ।

थाहा नगरपालिका र आसपासको क्षेत्र काठमाडौं उपत्यका तलाउ रहेको आदी कालमा पनि मानव सव्यता विकास भइसकेको ऐतिहासिक क्षेत्र हो । काठमाडौको पानी निकास गरेर वस्ती बसाउने काम गरेका जाती भनेर उल्लेख भएका गोपाली जातीको आदी थलो पनि यही हो । 

मल्लकालको अन्तिम समयमा करिव १०० वर्ष जति  यो क्षेत्र एउटा स्वतन्त्र राज्यको रुपमा पनि विकास भएको थियो । मल्ल राजाले आफ्ना छोराहरुलाइ राज्य भाग लगाउने क्रममा यो छुट्टै राज्य भएको इतिहास छ ।

सास्कृतिक विविधताको निम्ति अहिलेसम्म पनि यो क्षेत्र जिवन्त संग्राहलयको रुपमा रहेको छ । गोपाली, नेवार, क्षेत्री, व्राम्हण, तामाङ, गुरुङका गाँउहरु अलग अलग रहेका छन् । 

बढ्दो अव्यवस्थित सहरीकरणले यो जीवन्त संग्राहलय अब संकटमा परेको पनि छ । तामाङ, नेवारी र खस भाषा यहाँको मुख्य भाषाहरु हुन् । पुराण प्रसिद्ध तिर्थ, मठ, मन्दिर, चैत्य र गुम्वा पनि यहाँका विशेषताहरु हुन् ।

मध्ये पहाडी क्षेत्रमा रहेको यस नगर जैविक विविधताले भरिपूर्ण छ । करिव ६० प्रतिसत जमिन जंगल क्षेत्र रहेको यहाँ धेरै प्रकारका वनस्पति, जडिवुटि, र जीवजन्तुहरु पाइन्छ । 

विश्वका अग्ला १४ हिमसृंङ्खलाहरु मध्ये नेपालमा पर्ने आठ  र चीनको तिव्वतमा पर्ने एउटा गरी नौ वटा हिमसृंखला यहाँवाट नाङ्गो आँखाले देख्न सकिन्छ । अति शुन्दर प्राकृतिक सम्पदाको रुपमा यो क्षेत्र प्रसिद्ध छ । 

थाहा आन्दोलनकै परिपुरक आधुनिक एफएम रेडियोहरुको उद्गम थलो पनि थाहा नगर नै हो । यहाँको अडियो टावर नेपालमा एफएम रेडियो भन्दा पहिले चर्चामा थियो । अहिलेको रेडियो पालुङ त्यहि अडियो टावरको विकसित रुप हो । संयुक्त राष्ट्र संघको सहयोगमा इक्वेल एक्सेस नामको संस्थाले यँहीवाट पहिलो  डिजिटल प्रसारण सुरुवात गरेको थियो ।

नेपालको एक मात्र जलाशययूक्त कुलेखानी जलबिद्युत आयोजनाको मुख्य जलाधार क्षेत्र थाहानगर हो ।  सिमेन्टको कच्चा पदार्थको रुपमा रहेको चुन ढुंगा याँहा प्रसस्त मात्रामा उपलव्ध छ, तर कुलेखानी जलाधार क्षेत्र भएकोले अहिले यहाँ खानी सञ्चालन गर्ने अनुमति छैन । 

यहाँ  गुणस्तरयुक्त ग्रेनाइड ढुङ्गा छ । पहिले फलाम निकालिएका ठाँउहरु पनि रहेकोले फलाम खानीको पनि सम्भावना रहेको छ । यहाँ ढुंगा खानीको पनि ठूलो सम्भावना छ ।
  
उत्तिस र सल्लोको जंगलले ढाकिएको क्षेत्र भएकोले वैज्ञानीक उपयोग योजना बनाएर यहाँ फर्निचर उद्योग पनि स्थापना गर्न सकिन्छ । 

नेपालको एक प्रसिद्ध तरकारी उत्पादन क्षेत्रको रुपमा परिचय बनाएको यस नगरले कृषिलाई आधुनिकिकरण गरेर आफ्नो पहिचान अझ उज्जवल र दिगो बनाउन सक्ने सम्भावना झन् प्रचुर छ ।

नास्पाती, आलुबखडा, हलुवावेद, किवी, दाँते ओखर, कागती लगायत अमिलो प्रजातिका फलफूल, धेरै प्रकारका जडिवुटि र दुध तथा दुग्ध पदार्थ, बाख्रा, कुखुराका मासु उत्पादनमा यस क्षेत्रको सम्भावना प्रचुर छ । 

उल्लेखित सम्भावना स्वतःप्रमाणीत तथ्यहरुमा आधारित हुन् । बैज्ञानीक तरिकाले यहाँको आर्थिक विकासको सम्भावना अध्ययन गरेर अरु थप सम्भावनाहरु पनि खोजि गर्न सकिन्छ । 

उल्लेखित पृष्ठभूमि भएका,े काठमाडौ र हेटौडाको काखैमा रहेको  थाहानगर किन पछाडी पर्यो त ? अहिले तिव्र विकासको संघारमा उभिएको यस नगरलाई कस्तो रुप दिने, के विशेषतायुक्त बनाउने, आर्थिक, सामाजिक, सास्कृतिक अवस्थाको भावि परिकल्पना के हो भन्ने विषयमा विभिन्न विचार अहिले वहसमा छ । मेरो विचारमा भएका केही विषय म यहाँ उल्लेख गर्न चाहन्छु ।

थाहानगरको नामाकरणवाटै यस लेखको सुरुवात गर्ने अनुमति चाहान्छु । थाहा दर्शनका प्रणेता स्व.रुपचन्द्र विष्टको जन्म र कर्म भूमि हो, यो नगर । 

त्यस समयमा उहाँजस्तो पढेलेखेको पहुँचवाला मानिस सबै अवसरहरु त्यागेर आफ्नै गाँउको जगवाट राष्ट्रको प्रगतिशिल रुपान्तरण गर्ने दृढ अठोट लिनु, तत्कालिन व्यवस्थाको विरुद्धमा उभिनु मात्र होइन प्रगतिशिल रुपान्तरणको अभ्यासमा आफैं लाग्नु अति महान कर्म हो । एउटा सच्चा देशभक्त, जनमुखि राजनीतिका प्रणेतालाई अमर बनाउन नगरको नामाकरण आफैंमा महत्वपूर्ण विषय हो । 

नाम अनुसार प्रगतिशिल रुपान्तरण अभियानको नमूना विकास क्षेत्रको रुपमा देश विदेशवाट अवलोकन गर्न आउनु पर्ने क्षेत्रको रुपमा यस नगरलाई विकास गर्ने पहल भए मात्र स्व. रुपचन्द्र विष्ट प्रति वास्तविक सम्मान हुनेछ ।

२०५२ सालमा दामन – पालुङ नगर विकास समिति गठन भएदेखिनै नगरको नाम के राख्ने भन्ने विषय वहसमा थियो । त्यस समयका स्थानीय राजनीतिक दलका प्रतिनिधिहरु र बुद्धिजिविहरुबीच छलफल हुँदा मैले थाहानगर नाम राखौ भनेर प्रस्ताव गरें । सवै साथीहरुले राम्रो नाम आयो भन्नु भयो । 

पछि राजनीतिक संयन्त्रले यही नाम सिफासिर गर्यो । हामीले स्व.रुपचन्द्र विष्ट प्रति सम्मान गर्न सक्यौं । स्व. रुपचन्द्र विष्टको सपना  त सबै नागरिक समान रुपले समृद्ध र सुखि भएपछि मात्र पुरा हुने छ । 

वर्तमान सरकारले पनि समृद्ध नेपाल, सुखि नेपाली भन्ने मुल नाराकासाथ काम गरिरहेको छ । हामी थाहानगरवासी भएको नाताले हाम्रो नगर र नागरिकको समृद्धिको निम्ति के गर्नु पर्ला भनेर चिन्तन गरिरहेका छौं, सकेको योगदान गरिरहेका छौ । हामी सबैले चिन्तन गरौ, जननिर्वाचित नेतृत्वलाई सहयोग गरौं, सचेतता पूर्वक निगरानी गरौ,ं अवश्यनै हाम्रो लक्ष्य पुरा हुने छ । 

१. उव्जाउ भूमिको रक्षा र मानव सुरक्षा

विकास भनेको सडक र बाक्लो वस्ति मात्र हो भन्ने परिभाषा दिनेगरी आफ्नै उव्जाउ भूमिमा साँगुरा सडक बनाएर घडेरी विक्रि गरी वस्ती बसाएर काठमाडौं लगायत नेपालका धेरै सहरहरुले नराम्रो शिक्षा दिएका छन् । थाहानगर पनि यहि बाटोमा तिव्रतर रुपले अघि वढेको छ । 

थाहानगर पहाड, खोच, नदी किनार र ठूला ठूला पहाडले घेरिएका साना उपत्याकाहरुले बनेको छ । यस्तो भूगोलमा वस्ती बसाउँदा बैज्ञानीक ढंगवाट कहाँ वस्ति बसाउन उपयुक्त छ भनेर यकिन गरिनु पर्दछ । 

यहाँको पुरानो वस्ति हेर्दा उव्जाउ भूमिको रक्षा गर्नुको साथ साथै संभावित बाढी पहिरोकोे जोखिमलाई विचार गरेर वस्ति बसाएको देखिन्छ । 

पुर्खाको कुरा सुन्दा पनि यहाँ पटक पटक बाढी पहिरोे गएको र धनजनको क्षति भएको इतिहास जान्न सकिन्छ । हाम्रै आँखा अगाडी २०५० सालको बाढी पहिरोे घुमिरहेकै छ । २०७२ सालको भूकम्प ताजै छ । भूकम्प, बाढी पहिरोे लगायत अन्य प्राकृतिक विपत्तवाट जोगिने बारेमा विचार नगरी वस्ती वसाउन दिनु हुँदैन ।

नेपाल उत्पादनको हिसावको निकै पछि परेको देश हो । कृषि प्रधान देश भएर पनि कृषिजन्य उत्पादन उल्लेख्य मात्रामा आयात गरिरहेको छ । औद्योगिक उत्पादनको सम्भावना पनि थोरै छ । 

यस्तो अवस्थामा देशलाई समृंद्ध बनाउने चुनौती सामना गर्न हरेक स्थानीय तहले आफ्नो क्षेत्रमा भएको सबैखाले आर्थिक सम्भावनाहरुलाइ बैज्ञानीक ढंगले उपयोगमा ल्याउने नै हो । 

भएका सम्भावनाहरु खेर फाल्ने होइन । अलिकति पनि उव्जाउ भूमि खेरफाल्नु भनेको राष्ट्रघात हो भन्ने चेतना फैलाउने र सोहीअनुरुप नीति बनाएर शासन गर्ने काम स्थानीय सरकारले गर्नु पर्दछ । न की आफै जग्गा ल्पटिङ व्यवसायमा लाग्ने । 

थाहानगर चारैतीर होचो भूभागले घेरिएको अग्लो भूभाग भएकोले यहाँ धेरै जनसंख्या हुने गरी विकास योजना बनाउन सकिंदैन । भविश्यमा याँहा पिउने पानीकै समस्या हुने र त्यसलाई पुरा गर्न निकै गाह«ो हुनसक्ने तर्फ विचार पुर्याउनु पर्दछ । 

अर्को तर्फ वातावरण परिवर्तनको उच्च जोखिम भएको क्षेत्रमा यो नगर पनि परिसकेको छ । यहाँवाट स्याउ विदा भैसक्यो, धेरै प्रकारका जडिबुटि र वनस्पति एवं जिवजन्तुहरु विदा भैसकेको तथ्यवाट वेखवर भएर योजना बनाउन हुँदैन । 

यहँको भूबनोट बाक्लो र जथाभावि वस्तिको निम्ति प्रतिकुल रहेको वैज्ञानीक अध्ययनले देखाइसकेको विषय योजना निर्माण गर्दा ध्यान दिन जरुरी छ । 

२. कृषि उत्पादनमा जोड

थाहानगर आलु र तरकारी खेतीको निम्ति नेपालमा प्रसिद्ध छ । यसलाई अझ बैज्ञानीक रुपले अघि वढाउन सहकारी मोडेलवाट जग्गा चक्लावन्दी गरेर यान्त्रिकरण मार्फत उत्पदन लागत घटाउने, कृषि वस्तुहरुको प्रशोधन उद्योगहरुको स्थापना गर्ने लगायत मूल्य सङृंखलासंग कृषिलाई जोडनु पर्दछ । 

पशु, पंक्षिपालन, फलफूल, जडीवुटी खेती र प्रशोधन उद्योग स्थापना र सञ्चालन गरिनु पर्दछ । यसको निम्ति स्थानीय, प्रदेश र संघीय सरकार, नीजि क्षेत्र र सहयोगि संघ सस्थाको एकिकृत साझा प्रयासको नीति तथा कार्यक्रमहरु लागू गरिनु पर्दछ ।

३. गाँजा मुख्य आयश्रोत हुन सक्छ ः

सर्पको विष दोहन गरेर आय आर्जन गरिरहेको वर्तमान समयमा गाँजा जस्तो प्राचिन जडिबुटिलाई विदेशीहरुको दवाव र प्रभावमा प्रतिवन्ध गरेर नेपालले ठूलो भूल गरेको छ । सकारात्मक र नकारात्मक विषय जहाँ जुन पदार्थ वा विषयमा पनि हुन्छ । किन हामी नकारात्मक विषयको मात्र चर्चा गछौं ? 

नकारात्मक विषयलाई नियन्त्रण गरेर सकारात्मक विषयवाट लाभ लिने प्रयत्न किन गर्न सक्दैनौ ? हाम्रो पछौटेपनको कारण यही प्रश्नहरुवाट पनि थाहा पाउन सकिने छ । थाहानगर उच्च स्तरको गाँजाको निम्ति उर्भर भूमि हो । गाँजा महत्वपूर्ण औषधिको श्रोत हो । 

बैज्ञानीक अनुसन्धानबाट गाँजा स्वाथ्यवर्धक औषधि भएको पुष्टि भएको छ । अमेरिकाको धेरै राज्यहरुमा पहिले प्रतिवन्ध लगाएको गाजा खेती र सेवन अहिले खुल्ला गरिएको छ । युरोप लगायत विकसित मुलुकले गाँजा प्रतिवन्ध फुकुवा गरेको अवस्था छ । 

थाहानगरले उच्च आयको निम्ति  गाँजा खेति र गाजा पर्यटन सम्वन्धमा तथ्यपूर्ण योजना बनाउनु पर्दछ । थाहानगरको पहलमा संघीय, प्रदेश र स्थानीय सरकारको कानून परिमार्जन गरी गाँजा खेती गरेर निर्यात गर्न सके यहाँ ठूलो संभावना रहेको छ । 

४. पर्यटन उद्योगहरुको विकास

थाहानगरलाई पर्यटन उद्योगको केन्द्रको रुपमा विकास गर्ने प्रसस्त सम्भावनाहरु छन् । यसको निम्ति सबैभन्दा पहिले पर्याप्त मात्रामा सुबिधासम्पन्न यातायातको प्रवन्ध गरिनु पर्दछ । 

अहिलेको यातायात पूर्वाधारको अतिरिक्त थानकोट–चित्लाङ सुरुङ मार्ग र कुलेखानी– भिमफेदी सुरुङ मार्ग जुन अहिले क्रमशः संघीय र प्रदेश सरकारको नीति तथा कार्यक्रममा परेको अवस्था छ । 

यी परियोजना सम्पन्न हुनु अघि थाहानगरको भावि भौतिक स्वरुप र यहाँका संभावित उद्यमहरुको वारेमा स्पष्ट योजना हुनु आवश्यक छ । अन्यथा यहाँका वासिन्दाको जग्गा वाहिरका व्यक्तिले किन्ने र यहाँका वासिन्दा विस्थापित हुने खतरा उत्पन्न हुन सक्ने तर्फ आजै विचार गरिनु पर्दछ । 

(क) चन्द्रागिरी देखि टिस्टुङको मनकामना, मूलावारी, पालुङको कोटथुक्की भाङखोरीया हुँदै आग्राको चिसापनी, डाँडेबास भएर दामन सिमभञ्ज्याङसम्मको पहाडको टाकुरीमा पर्यापर्यटन विकास गर्न केवलकार यातायात विकास गर्ने । 

चित्लाङ, बज्रवाराही, पालुङबाट सिधा टाकुरामा जाने उकाली रेल, लिफ्ट लगायत आकर्षक यातायातले जोड्ने । डाँडाको टाकुरी र संभावित स्थानहरुमा पाँचतारे होटल, रिसोर्टहरु, आधुनिक पार्क, खेलकुद केन्द्र, मनोरञ्जन केन्द्रहरु  निर्माण गर्न राष्ट्रिय, अन्तर्राष्ट्रिय उद्यमीहरुलाई जग्गा लिजमा दिने । 

यस क्षेत्रलाई संसारकै आधुनिक क्यासिनो हवको रुपमा पनि विकास गर्न सकिन्छ । पर्यटकहरुको बसाई लम्व्याउन आवश्यक विषयवस्तुहरुको विकासमा ध्यान दिने ।

(ख) भिमफेदी गाँउपालिकाको भैंसे क्षेत्रबाट सिमभञ्ज्याङ सम्म केवलकार निर्माण गरी करोडौं जनसंख्या भएको सिमाक्षेत्रका भारतिय नागरिकलाई आकर्षण पैदा गरी पर्यटकको रुपमा स्वागत गर्ने । यस क्षेत्रमा केवलकार निर्माण भएमा नेपाली पर्यटकहरुलाई समेत सहज रुपले थाहानगरमा भित्र्याउन सकिन्छ । 

२०६६ सालमा मैले थानकोट चन्द्रागीरी केवलकार र चन्द्रागिरिमा भव्य रिसोर्ट सहित पर्यटन केन्द्रको परिकल्पना गर्दा धेरैले पत्याएका थिएनन् । 

मेरै पहलमा चन्द्र ढकाल  सहितको टोलीलाई चन्द्रागिरी घुमाएर योजना सुनाएपछि उहाँले आज त्यो सपना साकार गर्नु थयो । भैंसे – सिमभन्ञ्ज्याङ केवलकारको परिकल्पना पनि मैले पहिले चन्द्र ढकाललाई र त्यसपछि अच्यूतमप्रसाद ढकाल र मेयर लवशेर विष्टलाई सुनाए । 

लवशेर विष्टले अहिले जोडतोडले यो परियोजना अघि वढाउनु भएको छ । यो निकै खुसिको विषय हो । अर्को केवलकार परियोजना चन्द्रगिरी–कुलेखानी–सिमभञ्ज्याङसम्म निर्माण गर्न सकिन्छ । जस्को निर्माण पछि काठमाडौं देखि हेटौंडासम्म केवलकारवाट पनि यात्रा गर्न सकिने छ । 

यी परियोजनाहरु सम्पन्न भएपछि यो नेपालको प्रमुख पर्यटन गन्तव्य हुने छ । यसले स्थानीय, प्रदेश र संघीय सरकारको आयमा निकै ठूलो अंश आगट्ने छ । 

(ग) चित्लाङको बाख्रा फर्म भएको जमिन संघीय सरकारबाट नगरपालिकाले  लिने । त्यससंग जोडिएका सार्वजनिक जग्गाहरु पनि नगरपालिकाको मातहत ल्याउने । नीजि जग्गाहरु सहकारी मार्फत एकिकरण गर्ने वा उचित मूल्यमा अधिग्रहण गरेर त्यस क्षेत्र आवश्यक  जग्गा चक्लावन्दी गर्ने । 

त्यस ठाँउमा अन्तर्राष्ट्रिय स्तरको मनोरञ्जन र खेलकुद पार्क, होटल लगायत एकिकृत पर्यटन क्षेत्र विकास गर्न राष्ट्रिय, अन्तर्राष्ट्रिय कंम्पनी भाडामा दिने ।

(घ) ऐतिहासिक धार्मिक क्षेत्रहरुको आकर्षक विकास गरी धार्मिक पर्यटन आकर्षण गर्न प्रयास गर्ने ।

(ङ) थाहानगरको ऐतिहासिक, धार्मिक, सास्कृतिक, प्राकृतिक सुन्दरता र कृषि विषयको प्रचार प्रसार गरी देशभरका विद्यालय विश्वबिद्यालयका विद्यार्थीहरुलाई शैक्षिक भ्रमणको प्रवन्ध मिलाई होम स्टे र स्थानीय होटलहरुलाई आयआर्जनको माध्यम वनाउने ।

(५) शैक्षिक केन्द्र वनाउने ।

(क) थाहानगरका शैक्षिक सस्थाहरुको आधुनिकिकरण गर्न बिशेष ध्यान दिने । स्थानीय शिक्षितहरुलाइ स्वयमसेवक भएर सेवागर्न आव्हान गर्ने । कानूनले अनिवार्य गरेको निशुल्क शिक्षा निशुल्क गरेर अतिरिक्त क्रियाकलाप र सेवा थप गरी इच्छुक विद्यार्थीसंग शुल्क लिएर भएपनि सेवा दिने परिपाटि विकास गरेर गुणस्तर अभिबृद्धि गर्ने ।

(ख)अहिले हरेक परिवारको कुल खर्चको ठूलो अंश शिक्षामा गइरहेको छ । सूचना प्रबिधिमा भएको विकासले वर्तमान शिक्षा प्रणालीमा ठूलो परिवर्तनको आवश्यकता पनि देखिएको छ । 

भूमण्डलिकरणको वर्तमान समयमा हाम्रा सन्ततिहरुलाई विश्वनागरिकको रुपमा विश्वभर प्रतिष्पर्धा गर्न सक्ने बनाउनु पर्ने चुनौति खडा भएको छ । हाम्रो देशको सार्वजनिक शिक्षाको वर्तमान अवस्था निकै नाजुक छ । 

काठमाडौ र ठूला सहरमा रहेका नीजि क्षेत्रका राम्रा भनिएका शैक्षिक संस्थाहरुले समेत उपरोक्त चुनौतिको संवोधन गर्न सक्ने अवस्था छैन । यस्तो अवस्थामा हामीले थाहानगरमा जग्गा चक्लावन्दी गरेर समयको माग अनुसारको शिक्षा दिनसक्ने पूर्वाधारयूक्त शैक्षिक संस्था निर्माण एवं सञ्चालन गर्न उपयुक्त सस्थाहरुलाई लिजमा दिन आवश्यक छ । 

काठमाडौमा जग्गाको अभाव भएको कारण यसको लाभ थाहानगरले लिन सक्छ । आवश्यक संख्यामा यस्ता ठूला शैक्षिक सस्था थाहा नगरमा भित्र्याउँदा थाहा नगरका वालवालिकालाई विशेष छुट र केही छात्रबृत्तिको शर्त राखेर स्थानीय स्तरमै स्तरिय शिक्षाको विकल्प निर्माण गर्न सकिन्छ । यसबाट शैक्षिक पर्यटन समेतको विकास हुन्छ । 

(६) एकिकृत वस्ति विकास

थाहा नगरको हरेक वडाको कुन कुन स्थान वस्तिको निम्ति उपयूक्त छ भन्ने प्राविधिक अध्ययन गरेर अहिलेको छरिएर रहेको वस्तिलाई एकिकृत वस्तिको रुपमा विकास गर्ने । 

यसो गर्दा जाति, भाषा, सकृतिको उच्चतम विकास हुने अवस्थालाई आधार बनाएर वस्ति बसाउने । घरहरुको डिजाइन गर्दा परम्परा र सांस्कृतिक झलक दिने गरी गर्ने जस्ले गर्दा पर्यटनवाट आय आर्जन समेत गर्न सकियोस ।

(७) आधुनिक बजार निर्माण गर्ने 

थाहानगरको मुख्य मुख्य ५ स्थान छनोट गरी आधुनिक वजार क्षेत्र निर्माण गर्न जग्गा चक्लावन्दी गर्ने । उक्त क्षेत्रमा आधुनिक सुबिधासम्पन्न सहर वसाउने ।

(८) उद्योगहरुको स्थापना

थाहानगर वन जंगलले भरिपूर्ण छ । तरकारी र फलफूल पनि प्रसस्त छ । यहाँ बैज्ञानिक वन व्यवस्थापन नीति अनुसार फर्निचर, ल्पाइउड, जडिवुटि प्रसोधन, जाम,जेली, अचार, जुस, वाइन, आलुका परिकार, दुधका परिकार, उच्च स्तरका पर्फ्युम, धुप लगायत उद्योगको स्थापना गर्न सकिन्छ । खानीजन्य उद्योगहरुको पनि यहाँ सम्भावना रहेको छ । यी सबै विषयहरु कार्यान्वयनमा ल्याउन थाहानगरले निकै राम्रो अध्ययन र योजना निर्माण गर्न ढिलो गर्न हुँदैन । 

९) नदी नियन्त्रण ः 
नदी किनारामा तटवन्ध गरी सिंचाई र बाटो वनाउने । सकेसम्म उव्जाउ भूमिमा बाटो नबनाउने ।

(१०) खानी तथा खनीजहरुको पहिचान गर्ने तथा उत्खनन् गर्न बैज्ञानीक योजना निर्माण गर्ने । 

(११) गरीव परिवार पहिचान गरी उनीहरुलाई राज्यले दिने सबै सुबिधा उपलव्ध गराउनुका साथै आय आर्जन कार्यक्रममा समावेश गर्ने ।

(१२) अपाङ्गता भएका व्यक्तिहरुलाई ससम्मान जीवन यापनको प्रवन्ध मिलाउने ।

(१३) लैंगिक हिंसा हुन नदिन व्यापक प्रशिक्षण गर्ने, संयन्त्रहरु विकास गर्ने । महिलालाई विशेष प्राथमिकात दिने ।

(१४) परिवारबाट जेष्ठ नागरिकहरुको राम्रो हेरचाह हुने कुराको सुनिस्चित गर्ने । आर्थिक अवस्थाको कारण स्याहार सुसार गर्न असमर्थ रहेको परिवारलाई आर्थिक सहायता गर्ने । जेष्ठ नागरिकको निम्ति हरेक वस्तिमा मनोरञ्जन स्थल निर्माण गर्ने ।

(१५) जाँड रक्सी र लागू पदार्थ दुव्र्यसनी निर्मूल गर्न बिशेष अभियान सञ्चालन गर्ने ।

(१६)  स्थानीय युवाहरुलाई स्थानीय अवसर लिन सक्षम बनाउन तालिम, प्राविधिक शिक्षा र अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्ने । स्थानीय श्रम वजार विकास गरी विदेशीएका यूवाहरुलाई फिर्ता वोलाई उनीहरुको योग्यता अनुसारको अवसर दिने ।

(१७) उपयुक्त स्वास्थ्य वीमाको प्रवन्ध गरी सबै नागरिकको स्वास्थ्य उपचार सेवा सुनिस्चित गर्ने । रोगलाग्न नदिन खाद्य सस्कृति, दिनचर्याबारे सुसूचित गर्ने । खेलकुद, व्यायाम स्थल, योग, ध्यान केन्द्र आदी निर्माण गर्ने ।

(१८) उपभोक्तालाई थाहानगरको उत्पादन हरेक दृष्टिवाट स्वास्थ्यवर्धक र गुणस्तरिय हुने विषयको प्रत्याभूति दिलाउने । थाहा नगरका सबै खाले उत्पादन र सेवाको बजारीकरणको निम्ति सबैखाले सहयोग गर्ने ।

(१९) हरेक विषयहरु वातावरण मैत्री वनाउन पहल गर्ने ।

एउटा छोटो लेखमा सबै विषयहरु उल्लेख गर्न सम्भवत छैन । यी केही अनुभूतिहरु हुन् । थप  योजनाहरु विस्तृत अध्ययनवाट पहिचान गर्नु उपयूक्त हुने छ । धन्यवाद ।

(लेखक ढकाल थाहा नगरपालिका, वडा नं २, मकवानपुरका स्थायी बासिन्दा तथा सामाजिक अभियन्ता हुनुहुन्छ ।)

0 comments

Write Down Your Responses