Powered by Blogger.
तामाङ भाषा, कला र संस्कृति जर्गेनाका लागि कथानक चलचित्र ङ्हो अर्थात भाग्यको निर्माण


काठमाडौं । तामाङ चलचित्र निर्माणको भीडमा एउटा इट्टा थपिएको छ । तामाङ भाषा, कला, संस्कृति जगेर्ना गर्नुका साथै पुस्तान्तरणको लागि निर्मित तामाङ कथानक चलचित्र (ङ्हो भाग्य) यसको पछिल्ला उदाहरण हो ।

शुक्रबार सैलुङअनलाइनको सभाहलमा पत्रकार सम्मेलन मार्फत निर्माणपक्षले उक्त चलचित्रको बारेमा जानकारी दिएको हो । ङ्होमा समुदायमा रहेका थरमध्ये स्वाँगेभाई सहअस्तित्व र कुटुम्ब साइनोबीच अज्ञानता र दुविधाले पारिएको समस्यालाई चलचित्रमा उजागर गर्न खोजिएको निर्देशक भुवन स्याङ्बो तामाङले बताए ।

उनले भने–‘ग्लोवलाइजेसन (विश्वव्यापीकरण)को प्रभावले सहअस्तित्वहरु मेटाउन खोजिएको छ । यसैले चलचित्रले पक्कै पनि त्यसको शिक्षा दिन खोजिएको छ ।’

सम्मेलनमा प्रमुख अतिथि बरिष्ठ अभिनेता जयनन्द लामाले चलचित्रमार्फत आफ्नो मौलिकता प्रस्तुत गर्न पछिल्लो पुस्ता लागि परेकोमा गौरवान्वित भएको महशुस गरे । उनले थपे, प्रविधि र समय विकाससँगै चलचित्र बनोट विकास भएपनि सामाजिक चित्रण समेट्न सकिनुपर्छ । तत्कालीन समयमा सेमरी छोरङान (मनको जागरण) निर्माण गरेर प्रारम्भविन्दु भएकोमा खुशी व्यक्त गरे ।

तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरले अब हलहरुमा जान सक्नुपर्छ, त्यसको आधार तय गर्नु जरुरी रहेको औंल्याए । 
फापरे फिल्मस् प्रालिको तेस्रो प्रस्तुतिमा बनेको चलचित्रको निर्माता सुनिमाया तामाङ रहेका छन् ।  त्रिकोणात्मक प्रेम कथामा आधारित चलचित्र उत्तरी धादिङको रुबीभ्याली क्षेत्र र आसपासमा बोलिने भाषालाई चलचित्रमा प्रयोग गरिएका नायक किसमान तामाङले बताए । उनले थपे– आंशिक रुपमा नेपाली भाषा पनि प्रयोग भएको छ भने सवटाइटल अंग्रेजीमा रहेको छ ।

सम्मेलनमा उक्त चलचित्रको कादे ज्याबा ह्याङ्ला माया.... बोलको गीत सार्वजनिक गरेका छन् । गीतमा भने पूर्वपश्चिमको मध्यम भाषा प्रयोग गरेर सम्पूर्ण तामाङ समुदायमा समेट्न खोजिएको छ । यसमा फुलकुमार बम्जनको शब्द, टिक बम्जनको संगीत र स्वरमा जितु लोप्चनको पनि साथ रहेको छ । एरेञ्ज पवनवाङ लामाले गरेका हुन् । 

चलचित्र धादिङको गंगाजमुना गाउँपालिका, लताव, धुसेनी, तावल, काठमाडौंका केही भाग र सिन्धुपाल्चोकको गुफाडाँडा लगायतका सुन्दर स्थानमा छायांकन गरिएको निर्माण पक्षले जनाएको छ । 

चलचित्रको कुल लागत करिब २० लाख रहेको पनि निर्माण पक्षले बताए । २०७६ को नयाँ वर्ष संघारमा राष्ट्रिय सभागृहमा बैशाख ७ गते च्यारिटी शो गरिने जानकारी दिए । शनिबार विशेष शो गरिनेछ ।

ङ्होमा आरम्भ तामाङ, किसमान तामाङ, निर्मला तामाङ, एलेक्स घले, छिमी माम्बा, मारनेन वाइबा, अनिता तामाङ, डोल्मा तामाङ, राजन तामाङ, निलमान तामाङ, रोज तामाङ, रिमान तामाङ, विजय तामाङ, झरना गुरुङ, सुमी तामाङ र बाल कलाकार तेञ्जिङ सोनामले अभिनय गरेका छन् ।  

नरमान (रविन) तामाङको पटकथा, राहुल राई र सुर्य लामा छायांकन र राजु तामाङ द्धन्द्ध निर्देशन गरेका छन् । द पिक स्टुडियोले पाश्र्व संगीत गरेका छन् भने गीतमा टिका बम्जन, सागर एस वाइबा, आरम्भ तामाङ, जितु लोप्चनको स्वर रहेका छन् ।

टिका बम्जन र सागरएस वाइबाको संगीतमा पवनवाङ लामाले एरेञ्ज गरेका छन् । विष्णु खड्का, सुर्य लामा सम्पादनमा निर्मित चलचित्रको कलरिङ भिएफएक्स विकास ज्ञवाली रहेका छन् । 

0 comments

Write Down Your Responses