Powered by Blogger.
गाउँपालिकाको हस्तक्षेपछि सुरु हुने भयो जैसिङ–डिल्लीपुर झोलुङ्गे पुल निर्माण

मनहरी / जैसिङ–डिल्लीपुर निर्माणाधीन झोलुङ्गे पुल निर्माण कार्यमा अबरोध आएपछि मनहरी गाउँपालिका अध्यक्ष बाधा फुकाउन वन विभाग पुगेका छन् । बुधवार दिउँसो मनहरी निकुञ्ज विभाग पुगेर गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले पुल निर्माणमा भइरहेको अबरोधबारे महानिर्देशक गुनासो गरेका हुन् ।
मनहरी गाउँपालिका वडा नं ९ जैसिङ र वडा नं ५ डिल्लीपुर जोड्ने झोलुङ्गे पुल तीनमहिनाअघि निर्माण सुरु भएको थियो । तर पर्सा राष्ट्रिय निकुन्जले वातावरणीय प्रभाव मूल्याङ्कन नगरीकनै पुल निर्माण गरेको भन्दै अबरोध गरेपछि निर्माण कार्यमा अबरोध भएको हो ।
मनहरी गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले पुल निर्माणमा भएको ढिलाई र अबरोधबारे निकुञ्ज बिभागका महानिर्देशक मनबहादुर खड्कासंग भेट गरी ध्यानाकर्षण गराएका हुन् । उनले वातावरणीय प्रभाव मूल्याङ्कनको नाउँमा विकास निर्माणको काममा सरकारी तबरबाट भइरहेको अबरोधबारे महानिर्देशक खड्कासँग असन्तुष्टि व्यक्त गरेका थिए । ‘गाउँलेहरुको बर्षाैदेखिको समस्या समाधान हुन हुन खोजेको थियो’, अध्यक्ष उप्रेतीले महानिर्देशक खड्कालाई भने–‘फेरि अर्काे सरकारी निकायबाट अबरोध हुनु राम्रो कुरा होइन ।’ टेन्डर प्रक्रिया अघि बढाउनुअघि वातावरणीय प्रभाव मूल्यांकन लगायतका कामहरु अर्काे निकायले किन ध्यान नदिएको भन्दै अध्यक्ष उप्रेतीले काम रोकिएकोप्रति जनता आक्रोशित भएको र आन्दोलनमा समेत जान बाध्य हुने भन्दै महानिर्देशक खड्कालाई ध्यानाकर्षण गराएका थिए ।
जबाफमा खड्काले केही कठिनाइ आएको भन्दै वातावरणीय प्रभाव मूल्यांकनको काम अघि बढेको सुनाए । वातावरणीय प्रभाव मूल्यांकन भइरहँदा पनि पर्सा राष्ट्रिय निकुन्जसँग समन्वय र समझदारी कायम गरी पुल निर्माणको काम अघि बढाउनका लागि अध्यक्ष उप्रेतीले माग गरे । सोही बमोजिम आपसी समझदारी कायम गरी केही दिनमै काम अघि बढाउनका लागि विभाग र गाउँपालिकाले समन्वय गरेर अघि बढ्ने निधो भएको गाउँपालिका अध्यक्ष उप्रेतीले जानकारी दिए । बर्षायाम आउन लागिसकेको र काम सक्न मुश्किल पर्ने भन्दै अध्यक्ष उप्रेतीले चिन्ता व्यक्त गरेपछि महानिर्देशक खड्काले तुरुन्तै काम सुचारु हुनेगरी व्यवस्था मिलाइने बताएका थिए । निर्माण कार्य पुनः सुचारु गर्नका लागि निकुन्ज तथा ठेकेदारसँग समन्वयकारी भूमिका गाउँपालिकाले खेल्ने गरी कुरा टुंग्याइएको अध्यक्ष उप्रेतीसँगै विभाग पुगेका युवा समाजसेवी नवीन सुवेदीले बताए । 
सस्पेन्सन ब्रीज डिभिजनको बजेटमा भ्याटसहित करिब ६ करोडको बजेटमा चितवनको एमआर रोजन जेभी ठेकेदार कम्पनीले दुई बर्षभित्र काम सम्पन्न गर्ने जिम्मा पाएको थियो । जैसिङ–डिल्लीपुर जोड्ने पुल निर्माणका लागि तत्कालीन संविधानसभा सदस्य राजाराम स्याङ्तानले पहल गरेका थिए । पुल निर्माण रोकिएपछि उनले पनि बाधा अड्काउ फुकाउनका लागि सहजीकरण गरिरहेका छन् । पुल निर्माणका लागि स्थानीय नवराज उप्रेतीको संयोजकत्वमा पुल निर्माण सरोकार समिति समेत गठन भई दबाब दिने काम भइरहेको छ ।

0 comments

Write Down Your Responses