उत्तरी मकवानपुरका तिन ऐतिहासिक थुम्का ः एक चिनारी
ज्ञानचन्द्र शिकारी |
देउराली भञ्ज्याङको शिरमा अवस्थित बाईसलुङ थुम्काको उच्चसमस्थलिबाट उत्तरमा धादिङ,नुवाकोट, रसुवा र गोरखा, दक्षिणमा थाहाको दामन, पुर्वमा धादिङ, चन्द्रागिरी भञ्ज्याङ र ईन्द्रसरोवर , पश्चिममा आग्रा, चितवन , तनहुँ र लम्जुङ लगायतको पहाडी श्रृंखलाहरुको अविश्मरणिय मनोरम प्राकृतिक छटाहरुको वास्तविक रुपमा प्रत्यक्ष र स्पष्ट अध्ययन गर्न सकिन्छ ।
प्राकृतिक रुपमा २२ ओटा थुम्काहरु एक आपसमा जोडिएर बनेको हुनाले यस हरियाली पहाडी श्रृङखलाको नाम बाईसलुङ रहेको हो । लुङको नेपाली अर्थ थुम्का हुन्छ यस थुम्काको उच्चसमस्थली(प्लेटो) समथर जमिन झण्डै २०० रोपनि जति रहेको छ ।
हाल उक्त जमिन सुन्दर, शान्त, र घना जङगलले भरिभराउ छ । जिल्ला वन कार्यालय मकवानपुरको अभिलेख अनुसार यस वनको क्षेत्रफल १९ हजार हेक्टर क्षेत्रफल कायम छ ।
बाईसलुङ थुम्काका जंगलहरुमा बिभिन्न प्रजातिका जटिबुटिहरुमा शक्तिगुम्बा, चिराईतो सुनगाभा , बनमुला ,जटामसी, सतुवा लगायत विविध पाईन्छ ।
वनस्पतिहरुमा काफल ,लालीगुराँस, गोब्रे सल्ला, रानीसल्ला उतिस , चिलाउने, बाँझ, कटुस , निमकाठ, लाँकुरी, पैयुँ, तेजपात,खस्रु र अल्लो पाईन्छ ।
पन्छीहरुमा कालिच, विश्वमा नपाईने दुर्लभ काँडेभ्याकुर, तित्रा, बाज, चिल न्याउली, हलेसो, कोईली, लाटोकोसेरो,जुरेली, भद्राई, काफल पाक्यो चरी, बट्टाई र हुचिल पाईन्छ ।
जंगली पशुहरुमा बाघ चितुवा, मृग, बँदेल, दुम्सी, सालक, स्याल, मलछाप्रो, वन बिरालो, ढेडुबाँदर ,लोखर्के जस्ता जीवजन्तुहरु प्रशस्त पाईन्छ ।
राजा पृथ्वीनारायण शाहको नेपाल एकिकरण अभियानमा बाईसलुङको इतिहास
गोरखा दरबार नेपालको इतिहासमा महत्वपुर्ण छ किनकि त्यहाँ बि.स १७७९ मा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको जन्म भएको थियो । उनी १७९९मा गोरखाको राजा भए लगतै नेपाल एकिकरणको सुरुवात गरेका थिए ।
बि.स १८०३ मा काठमाडांै उपत्यकालाई आक्रमण गर्ने प्रमुख लक्ष्य लिएर दक्षिणी धादिङको बाटो तसर्पु हुदै सर्वप्रथम उत्तरी मकवानपुरको वर्तमान थाहानगर ११ को टिष्टुङमा अवस्थित बाईसलुङ थुम्काको काखमा रहेको सानो मुलाबारी चौरमा पृथीनारायण शाह सैनिक फौजका साथ आएका थिए, किनकी उनको युद्धकालमा पहाडको अग्लो थुम्काहरुबाट चौतर्फी रुपमा दुरदृष्टि पश्चात आक्रमण गर्ने चलन थियो ।
तत्कालीन समयमा पश्चिम नेपालको रुकुम मुसिकोट घर बताउने सिंह थरको एक ठकुरी पनि पृथ्वीनारायण शाहका साथमा सहयोगीको रुपमा आएका थिए । उनलाई बाईसलुङको सुन्दर स्थल अति उत्तम लागेर हालको सानो मुलाबारी चौरमा घर बनाएर बसोबास गरे ।
उनले तरकारीका निम्ती पहिलो पटक मुला खेति गरे,मुलाखेतिकै कारण सम्पुर्ण जनजिब्रोले उक्त चौरको नाम मुलाबारी– मुलाबारी भनेकै कारण मुलाबारी चौर रहेको थियो । वर्तमान कालमा उक्त चौरलाई सानोमुलाबारी चौर नामले दुनियाँले चिन्दछन् ।
बि.स १८०७ देखि १८१० सम्मको अवधीमा टिष्टुङका अग्रजहरुलाई पनि बाईसलुङको पुर्व तर्फ रहेको ठुलो उच्चसमस्थली चौेरमा मुलाखेती गर्ने प्रतिस्पर्धा चल्यो, सयांै टिष्टुङबासीले मुलाखेती गरे यसर्थ आज भन्दा २७० वर्ष पहिले देखि यस ऐतिहासिक बाईसलुङको काखमा रहेको सानो र ठुलो दुवै चौरमा मुलाखेती गरेकै कारण हाल सम्म दुवै चौरको नाम सानो मुलाबारी चौर र ठुलो मुलाबारी चौर रहन गएको हो ।
बि. स १८०३ मा २ सय ७२ वर्ष पहिले नेपाल एकिकरणका महान व्यक्ति राष्ट्रनिर्माता एवं तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहले पहिलो पटक पाईला टेकेको पवित्र भुमि बाईसलुङ थुम्काका सानो मुलाबारी चौर र ठुलोमुलाबारी चौर हाल सम्म पनि बत्तिमुनिको अँध्यारो भनेझैं ओझेलमा पर्नु थाहानगरबासीका लागी दुःखदको बिषय हो ।
ऐतिहासिक दरवार थुम्की
ऐतिहासिक दरवार थुम्कीमा तामाङ राजाले राज्य गर्दथे । हाल उक्त थुम्कामा रहेको वनको क्षेत्रफल ३० हजार ६ हेक्टर उल्लेख छ । उक्त पवित्र थुम्कीलाई पालुङबासीले कोटथुम्की, बज्रबराहीबासीले मुलचोक र टिष्टुङ बासीले दरवारथुम्की भनि विभिन्न नामले उच्चारण गर्ने गर्दछन् तर उक्त तिनै थरि नाम उस्तै पर्यावाची नाम हुन् ।
दरवारथुम्कीका तामाङ राजा अत्यन्त धर्मात्मा थिए । उनले ईष्टदेवी बज्रबाराही माईलाई बढी मान्थे । विशेष पर्वहरुमा बज्रबाराही माईको पुजा गर्न सैनिक फौजका साथ आफु सेतो घोडामा आफ्नी रानीलाई डोलीमा राखी हालको बाज्रबराही मन्दीरमा टिष्टुङदेउरालीको घोडेटो बाटो हुँदै उकाली ओरालीको सवार गर्थे ।
लोकप्रख्यात किम्वदन्ती अनुुसार शरीर शुद्धताका निम्ति पालुङको पवित्र तिर्थस्थल शंखमुलमा राजा आफु नुहाउथे भने आफ्नी रानीलाई सोहि स्थानको बोक्सी दहमा अनिवार्य स्नान गराउँथे ।
ऐतिहासिक सुनपात्ती थुम्का
दरवारथुम्की देखि केहि पूर्व तर्फ एंव खाप्लुङको पश्चिमि शिरमा अवस्थित ऐतिहासिक सुनपात्ती थुम्काबाट मध्यकालका तामाङ राजाले चौतर्फी हिम–श्रृङखला र पहाडी श्रृङखलाहरुको मनोरम सुन्दर दृष्यहरुको अध्ययन अवलोकन गर्दथे । मुख्य हिमाल चुचुराहरुमा सगरमाथा,कञ्चनजंगा, मकालु ल्होत्से,धवलागिरी,मनास्लु, चोयू, अन्नपुर्ण,गौरिशंकर र यालुङकाङ तथा पहाडी श्रृङखलाहरुको समेत दृष्य अवलोकन गर्दथे ।
सुनपात्ती थुम्काबाट तामाङ राजा स्वयमले बज्रबाराहीमा रहेको हालको थहचोक स्थित कोटथुम्कीलाई लक्ष्य गरी घुयँत्रोमा राखेर हानेको गोलो ठुलो भकुन्डो आकारको चिल्लो ढुंगा हाल सम्म पनि बज्रबाराहीको पुुजारी टोलमा देख्न सकिन्छ । यस कारण मध्ययुगका दैवि शक्ति प्राप्त तामाङ राजाले जीवनभरी नेपालका अनमोल प्राकृतिक सम्पदाहरुको दृष्य अवलोकन गरेका थिए ।
“सबै ढुंगालाई देवता मानिदैन, बिशेष धार्मिक स्थलको ढुंगालाई मात्र देवता मानिन्छ । त्यस्तै सबै पहाडका थुम्कालाई पर्यटन केन्द्र मान्न सकिदैन, बिशेष ऐतिहासिक थुम्कालाई मात्र पर्यटन केन्द्र मान्न सकिने भएकोले टिष्टुङ स्थित ऐतिहासिक बाईसलुङ थुम्का,ऐतिहासिक दरवार थुम्की र ऐतिहासिक सुनपात्ती थु्म्कालाई नेपाल पर्यटनबोर्डको सुचिमा सुचिकृत गर्न ढिला भैसकेको छ ।”
अन्तमा , प्राचिनकाल देखि मध्यकाल सम्म हरेक शासकका पालामा राजधानी प्रायःजसो पहाडी थुम्काहरुमा हुने,युद्धको प्रशिक्षण पहाडकै थुम्काहरुमा हुन्थ्यो ।
धार्मिक र पर्यटन केन्द्रहरु पनि पहाडका विशेष थुम्काहरुमै हुने भएकोले सोहि अनुसरण गर्दै नेपालका तत्कालिन नेकपा माओवादीले पनि १० वर्षे जनयुद्ध पहाडका थुम्काहरुबाटै सफल पारेकाले थाहा नगरले पनि अवका भावि दिनहरुमा नगरको पुर्वतर्फ चन्द्रागिरी भञ्ज््याङ, पश्चिममा कालीखोला भञ्ज््याङ, उत्तरमा टिष्टुङदेउराली भञ्ज्याङ र दक्षिणमा सिमभञ्ज्याङ लगायत यि चार भञ्ज्याङ भित्र रहेको उच्च पहाडी थुम्काहरुमा पर्यटनको यथाशिघ्र विकासका निम्ति गुरुयोजनाको थलानी गर्न र खेतीयोग्य जमिनमा कृषिको आधुनिकीकरणमा जोड दिँदै नेपालको केन्द्रिय राजधानी काठमाडौंको काखमा अवस्थित थाहानगरले आर्थिक क्रान्तीमा बिकासका निम्ति तिव्र गतिमा कदम चालोस भनि सम्वन्धित सरोकारवाला जिम्मेवार महानुभावहरु एवम् निकायहरुमा ध्यानाकर्षण गराउन चाहान्छु ।
0 comments
Write Down Your Responses