Powered by Blogger.
प्राचीन टिष्टुङमा १२ वर्षे नाच सुरु



टिस्टुङ ।  उत्तरी मकवानपुरस्थित  थाहा नगरपालिको प्रचीन टिष्टुङमा लाग्ने १२ वर्ष नाच  सुरु भएको छ । वडा नम्बर ६ को ऐतिहासिक टिस्टुङ उपत्यकाका स्थित बज्रबाराहीमा दुई रातसम्म नचाइने परम्परागत नाचको बिहिबार रातभरी देखाइएको छ । 

वडा नम्बर ६ को आँगछेः अर्थात धामी घरमा यसअघि पत्रकार सम्मेलन गरी नाचको सबै तयारी पुरा भएको जनाइएको थियो । विभिन्न सातवटा खटमा नचाइने नाच तान्त्रिक विधिबाट नचाइने बताइन्छ । नाचमा गणेश, कुमारी, इन्द्रायणी, भैरव, बज्रवाराही र वेतारको नाच देखाइन्छ । 

नाच व्यवस्थापनको लागि १८ जना कजीसहितको समिति गठन गरिएको छ । राजा समर सेनका छोरा सतल सेनको कथामा आधारित नाचको पूर्व सन्ध्यामा २६ वैशाख विहान ११ बजे देशय् चाहिकेगु अर्थात नगर परिक्रमा कार्यक्रम गरिएको थियो । नाच वैशाख २७ गते रातभर पनि  टिष्टुङमा  देखाइन्छ । 

९९ जना कलाकार रहने नाचका लागि १८ लाख २२ हजार रुपियाँ लागत लाग्ने अनुमान गरिएको छ । पत्रकार सम्मेलनमा थाहा–६ का वडा अध्यक्ष शशीधर सुवेदीले स्थानीयहरुले भरपूर सहयोग गरेको बताए । नाचका लागि वडा कार्यालयको तर्फबाट १ लाख ५० हजार रुपियाँ सहयोग गर्ने र आवश्यक परेमा अन्य सहयोग समेत गर्ने जानकारी दिए । हरेक व्यक्तिले चन्दा सहयोग गर्नुका साथै टिस्टुङ बज्रबाराही नेवा पुचले ५० हजार रुपैंया सहयोग गरेको छ । 

बाह्र वर्षमा एक पटक देखाईने यो नाच र बज्रवाराही मन्दिर सम्बन्धीत भएको स्थानीयहरु  बताउँछन् । टिष्टुङमा १२ वर्षै नाच देखाइसकेपछि कुन्छाल र कुलगाउँमा पनि देखाउने परम्परा रहेको छ । यो नाचमा गणेश, कुमारी, बाराही, इन्द्रायणी र भैरवका साथै महादेव, पार्वती, व्रम्हा, वेताहा, बवं, ख्याक लगायत हुन्छन् । 

यो नाचमा सत्तलसिंह महाराजको कथालाई समेत विषयवस्तु बनाईएको छ । यो नाचमा स्थानीय नेवार समुदायको भूमिका महत्वपूर्ण हुन्छ । नाचमा राजारजौटाका बारेमा बनाइएका विभिन्न कथाहरुलाई प्रस्तुत गरिन्छ । साथै अनौठा तान्त्रिक प्रस्तुतीहरु समेत प्रर्दशन गरिन्छ । यो नाच रातको समयमा विभिन्न खटहरुमा देखाईन्छ ।

यो नाच यहाँका चित्लाङ, पालुङ लगायतका विभिन्न ठाउँमा देखाएर काठमाडौंमा समेत देखाउनुपर्ने चलन छ । पछिल्लो पटक यो नाच बि.सं. २०६२ सालमा देखाईएको थियो ।





0 comments

Write Down Your Responses