Powered by Blogger.
स्वर्गको टुक्रा दामनः एक चिनारी


दावा शेर्पा
ई.सं. १९५३ देखि १९५६ (बि.सं. २०१०–२०१३) साल सम्ममा नेपाल र भारत सरकारको सहकार्यमा निर्माण सम्पन्न भएको नेपालकै पहिलो सडक त्रिभुवन राजपथ जसको कुल लम्बाई थानकोट देखि भैँसे दोभान सम्म ७२ माईल (११५.८७३ कि.मि.) छ । 

जुन बाइरोडको बाटोको उप नामले पनि प्रख्यात छ । सोहि बाटो निर्माण हुने क्रममा ती भारतिय मजदुरहरु जसले आजको दामनको नामकरण गरेका थिए । दामन सम्म आइपुगेछन् र यहाँको प्राकृतिक सौन्दर्यता देखेर मन्त्रमुग्ध भएछन् अनि उर्दु भाषाको नाम दियो ‘दामन’ । उर्दु भाषामा यसको अर्थ ब्यापक छ । जस्तै आमाको काख, इज्जत, आत्मा, पवित्र स्थान ईत्यादि ।

यदि गुगलमा खोज्ने हो भने दामन नामको शहर वा गाउँ भारत, पाकिस्तान, दुबई, अफगानिस्तान, इरान, ईराक, साउदी अरेबिया जस्ता देशहरुमा भेटिन्छन् र प्रायः ती सबै सुन्दर अनि प्रख्यात स्थानहरु नै छन् । प्राय हिन्दी चलचित्रहरुको यो शब्द दामनको बढि प्रयोग देखिन्छ ।

समुन्द्री सतह देखि २३२२ मिटर (७६२० फिट) उचाईमा रहेको दामन समशितोष्ण हावापानी भएको क्षेत्रमा पर्दछ । अर्थात दामन बाह्रै महिना चिसो हरियो अनि वर्षा भईरहने ठाउँ हो । दामन जैविक विविधताले धेरै सम्पन्न छ । यहाँ सयौं–हजारौं प्रजातीका दुर्लभ, लोपन्मुख र बहुमूल्य जडिबुटि, च्याउ, किरा, फट्याङ्ग्रा, अर्किड, चराचुरुङ्गी फलफूल ईत्यादी पाईन्छ । जस्तै नेपालमा मात्र पाईने चरा काँडे भ्याकुर यसको एउटा उदाहरण हो ।



यहाँ मंसिर, पुस, माग र फागुनमा धेरै जाडो हुनुको साथै हिमपात पनि हुने गर्दछ । यो पर्यटक आवगमनको समय हो र प्राय देशभरका विभिन्न ठाउँहरु जस्तैः हेटौंडा, काठमाण्डांै, चितवन, विरगंज, पर्सा, बुटवल, नारायणगढ, सर्लाही, जनकपुर, धादिङ र अन्य स्थानहरुबाट हजारौंको संख्यामा हिँउ खेल्न, बनभोज गर्न, दृश्यावलोकन,अध्ययन तथा भ्रमण गर्न आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्दछन् ।

चैत्र, बैशाख, जेष्ठ यहाँको गर्मी मौसम हो । तर २५ डिग्री भन्दा माथि तापक्रम अहिले सम्म गएको कुनै रेकर्ड नै छैन । यो रुम टेम्परेचर तापक्रममा बसोबास गर्नलाई धेरै नै अनुकुुल वातावरण हुन्छ । 



असार साउन र भदौमा अधिक वर्षात हुनुका साथै अर्गानिक तरकारी तथा फलफूलको उत्पादन पनि अत्यधिक मात्रामा हुने गर्दछ । चिसो हावापानीमा उत्पादित कृषि उपजहरु भएकाले धेरै नै स्वादिष्ट र स्वास्थ्यबर्धक हुन्छन र बजारमा यसको माग पनि सय प्रतिशत नै रहेको छ । यहाँ उत्पादित कृषिजन्य बस्तुहरु भारतीय शहरहरु लगायत देशैभरी निर्यात हुने गरेको छ ।

असोज कात्तिक देखि जाडो याम शुरु हुन्छ र मौसम पनि सफा हुन थाल्दछ । त्यस पश्चात फागुनको मध्य महिनासम्म पर्यटकीय चहलपहल चल्दछ । यहाँ बाट १८० डिग्रीको कोणमा ८,००० मि. भन्दा माथिका नेपालमा भएका सबै हिमालहरु देख्न सकिन्छ । 

पश्चिमी दिशामा रहेको अन्तिम हिमाल माछापुच्छ्रे देखि पूर्वको कञ्चनजंगा सम्मका पूरै हिमश्रृङ्खलाहरुको अदभूत अवलोकन दामनको कुनै पनि स्थानबाट गर्न सकिन्छ ।



नेपालको पहिलो भ्यू टावर जसको स्थापनाको नाम शितल भ्यू टावर थियो त्यो पनि दामनमा नै अवस्थित छ । यसको निर्माण कहिले र कसले गर्यो भन्ने कुनै अभिलेख छैन । 

सम्भवतः वि.सं. २०२१ साल फागुन २७ गते बुधबारका दिन राजा महेन्द्रको शासन कालमा दामनमा स्थापना भएको नेपालकै दोस्रो ठूलो शितोष्ण बागबनी फार्म जुन लगभग ७६ हेक्टरमा फैलिएको छ, त्यसै समय यसको पनि निर्माण भएको हुन सक्ने आँकलन गर्न सकिन्छ । 

वि.सं. २०२२ सालमा स्थापना भएको पर्वतीय वनस्पति उद्यान जुन नेपालको राष्ट्रिय सम्पदा पनि हो र वनस्पति विभाग अन्तर्गत पर्दछ ,जसको कुल क्षेत्रफल लगभग १०५ हेक्टर बराबर छ । यस्तो राष्ट्रिय सम्पदा पनि दामनमा नै रहेको हो । तर विडम्बना पूरै भू–भाग सल्लाको जंगलले मात्र ढाकिएको छ । र विकासको गतिविधिहरु शून्य बराबर नै छन् ।

हिन्दु तथा बौद्ध धर्मावलम्वीहरुको पवित्र अनि प्रख्यात तिर्थस्थल ऋषेश्वर महादेव र गुरु रेम्पोचेको पनि पावन भूमि हो (“दामन“ । भौगोर्भिक अनुसन्धान केन्द्र पनि यहि नै तोकिएको छ तर आजको दिनसम्म कुनै पनि पूर्वाधार नै बन्न सकेको छैन ।



अर्काे विशेषता भनेको नेपालको पहिलो मानव निर्मित कुलेखानी जलविधुत आयोजना पनि दामन क्षेत्र आसपास नै पर्दछ । जसलाई हामी इन्द्रसरोवरको नामले पनि चिन्दछौ ।

नेपालको नक्सामा हेर्ने हो भने दामन, प्रदेश नं. ३ मकवानपुर जिल्लाको थाहा नगरपालिका ४ मा पर्दछ । तराई र पहाडका जिल्लाहरुले घेरिएको मकवानपुरको अग्रणी पर्यटकीय स्थान दामन मध्य भागमा पर्दछ । 



र काठमाण्डौं, धादिङ, नारायणगढ, चितवन, हेटौंडा, विरगंज, पर्सा, रौतहट, सर्लाही नजिकका अन्य जिल्लाहरुबाट एकै दिनमा घुमफिर गरी आउन जान पनि सहज हुन्छ ।  वाश्तवमै यहाँको मनोरम वातावरणमा रहेपछि जसले पनि दामनलाई स्वर्गको टुक्रा नै भन्ने गर्छ । 

बुटवल, स्याङ्जा जस्ता टाढाका जिल्लाहरुबाट समेत पर्यटकहरु दामन सम्म वनभोज खान,हिँउ खेल्न, अध्यययन, अवलोकन र भ्रमण गर्न आउने गरेका छन् । 



मकवानपुरको शिखर, सिमभञ्ज्याङ जसको उचाई २४८८ मि. छ । जहाबाट दक्षिणी दिशामा रहेको भारतीय भू–भागहरु, उत्तरमा रहेको हिमश्रृङ्खालाहरु र पूर्वी महाभारत पर्वतको ३८० डिग्रीको कोणमा अलौकिक अवलोकन गर्न सकिन्छ । 

यस्ता अनगिन्ती विशेषताहरु भएको दामनमा थाहा नगरपालिकाले आवश्यक सबै प्रकृयाहरु पूरा गरी पूर्वाधारहरु निर्माण गरीदिए वास्तवमै स्वर्ग हुने थियो ‘दामन’ ।



(एभरेष्ट युवा विकास क्लव,दामनका महासचिव तथा स्थानीय पर्यटन व्यवसायी हुन् । )

0 comments

Write Down Your Responses