Powered by Blogger.
श्री लालीगुराँसलाई मन्त्री अर्यालद्धारा उत्कृष्ठ सहकारी पुरस्कार प्रदान

ललितपुर ।  पुल्चोक स्थित श्री लालीगुराँस बहुउदेश्यीय सहकारी संस्था लिमिटेडले यो वर्षको  उत्कृष्ट सहकारी व्यावसाय पुरस्कार–२०७५ प्राप्त गरेको छ ।  

९७ औ अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रममा प्रदेश नम्बर ३ बाट श्री लालीगुराँस बहुउदेश्यीय सहकारी संस्था लिमिटेडलाई उत्कृष्ठ सहकारी पुरस्कार प्राप्त गरेको हो । 

भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले संस्थाका अध्यक्ष अमरदास श्रेष्ठलाई २० हजार रुपिया नगद सहित सम्मान पत्र प्रदान गर्नुभएको थियो ।  गएको चैत २० गते राष्ट्रिय सहकारी दिवसको दिन घोषणा  गरिएको पुरस्कार अन्तराष्ट्रिय सहकारी दिवसको दिन जुलाई पहिलो शनिबार   प्रदान गर्ने निर्णय अनुसार शनिबार पुरस्कार प्रदान गरिएको हो  । 

कार्यक्रममा बोल्दै मन्त्री अर्यालले सहकारीले अब कृषी क्षेत्रमा सहभागिता बढाउनुपर्ने बताइन् । उनले देशको आर्थिक मेरुदण्डको रुपमा रहेको सहकारीलाई व्यस्थित रुपमा संचालन गर्न मर्जको नीति अपनाउनुपर्ने बताइन् ।  प्रत्येक बर्षको जुलाई महिनाको पहिलो शनिवार विश्वभरि नै अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइन्छ ।

राष्ट्रिय सहकारी महांसघद्धवारा  आयोजित कार्यक्रममा सात प्रदेशबाट सात र संस्थागत तर्फ ललितपुर बहुउद्देश्यीस संघलाई सम्मान गरिएको थियो । 

महासंघले  श्री लालीगुराँस सहकारी संस्था लि लाई प्रदेश ३ को उत्कृष्ठ सहकारी घोषणा गरेको हो । सो २०५६ साल भाद्र १८ गते डिभिजन सहकारी कार्यालय ललितपुरमा दर्ता भई २०५६ असोज १५ गतेबाट कारोबार सुरु गरेको यस संस्थालाई ६२ औ सहकारी राष्ट्रिय दिवसको अवसरमा उत्कृष्ट सहकारी घोषणा गरीएको हो । 

संस्थाले चालु आवमा सरकारलाई ४ करोड ७१ लाख ९७ हजार १ सय ९९ राजश्व बुझाएको थियो । नेपाल सरकारलाई राजश्वमा गरेको योगदानमा समग्र सहकारी संस्थाहरु मध्ये अग्रणी स्थानमा रहेको छ । 

संस्थाले ललितपुरको चापागाँउ, काठमाण्डौंको चाबहिल,भक्तपुरको कौशलटार र चितवनको  खैरहनी गरी ४ जिल्लामा सदस्य सुबिधा काउण्टर संचालन गरेको छ ।

१७ हजार ८ सय ७० जना शेयरसदस्य रहेको संस्थाले चितवन जिल्लाको खैरहनी नगरपालिकामा नेपालकै सर्वाधिक ठुलो डेरी फार्म संचालनमा ल्याएको छ । 

संस्थाले ललितपुरको गोदावरीमा डेरी उद्योग संचालनमा ल्याउने तयारी गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाले बहुउद्देश्यीय लगानी तर्फ लालीगुराँस हस्पिटल प्रालि, श्री लालीगुराँस एजुकेशन फाउण्डेशन प्रालि, जय लालीगुराँस ईन्भेष्टमेन्ट एण्ड ट्रेडिङ्ग कम्पनी प्रालि, भैरबकुण्ड हाईड्रोपावर लि लगायत अन्य विभिन्न कम्पनी तथा संघ संस्थाहरुमा शेयर लगानी गरेको छ । 

कार्यक्रममा  प्रदेश १ बाट झापाको शुभलक्ष्मी सकारी संस्था, प्रदेश २ बाट सर्लाहीको मनोकामना बहुउद्देश्यीय सहकारी संस्था,  गण्डकी प्रदेशबाट बागलुङको आदर्श संचार सहकारी संस्था, प्रदेश नं. ५ बाट रुपन्देही सामुहिक विकास साकोस, कर्णाली प्रदेशबाट सुर्खेतको साना किसान कृषि सहकारी संस्था र सुदुरपश्चिम प्रदेशबाट कैलालीका किसान बहुउद्देश्यीय सहकारी संस्थालाई नगद २० हजार पुरस्कार सहित सम्मान गरिएको छ । 

त्यसैगरी सो अवसरमा विभिन्न १० जिल्लास्तरीय संघहरुलाई कार्यालय उपकरण समेत वितरण गरिएको थियो ।  
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले मर्यादित काम सिर्जना गर्न सहकारीले युद्धस्तरमा काम गरेको र आगामी दिनमा अझ सक्रिय भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

योजना आयोगका सदस्य दिलबहादुर गुरुङले सहकारी नेपालको स्थानीय अर्थतन्त्रको मुल आधार र मेरुदण्ड रहेको बताए । 



0 comments

Write Down Your Responses