Powered by Blogger.
हाम्रा बा–आमाका छ भाई छोराहरु ६ ढर्राका भए, त्यसमध्ये म नवसन्यासी परें

गुणचन्द्र बिष्ट (स्वामी कृष्णानन्द भारती),वरिष्ठ व्यवासायी तथा रुपचन्द्र बिष्टका कान्छा भाई

रुपचन्द्र विष्ट रुदानेसंग पारिवारिक हिसाबले पनि जोडिएको मान्छे, तपाँइको बुझाई र चिनाइमा रुदाने को हो ?

एउटै मान्छेका बहुतै रुपहरु हुन्छन् । जति विशिष्ट प्रकारका मान्छेहरु हुन्छन्, त्यती त्यती विशिष्ट रुपहरु हुन्छन् । धेरैले अनेक हिसाबले सोच्दछन् । 

हाम्रो समग्र परिवार नै अलि विद्रोही स्वभावको हो । त्यसमा पनि उहाँ बचपनदेखि नै विशेष प्रकारको विद्रोही स्वभावको हुनुहुन्थ्यो ।  

अलि स्पष्ट पारिदिनुस् न ?

उहाँ विशिष्ट प्रकारको विद्रोही स्वभावको भनेपछि त्यती सजिलै मान्ने मान्छे होइन । जानेपछि मान्नै पर्दैन, मान्ने भन्ने मान्छेको कामै होइन, मान्ने भनेको त पशुपन्छि हो भन्ने प्रक्रियामा केटाकेटी देखि नै उहाँ हुनुहुन्थ्यो ।

उहाँको जन्मबारे पनि रहश्यमय पाटाहरु सुनिएको छ, तपाँइ यसबारे केही बताइदिनु हुन्छ की ?

जब रुदाने २० वर्ष पहिला बित्नुभयो, त्यसपछि अलि अलि मनन हुन थाल्यो सबैलाई उहाँको बारेमा । हामी दुई चाँही दाजुभाई भन्दा पनि दर्शनका हिसावले समेत धेरै कुरा मिल्ने हुनाले खासगरीकन दामनको बसाईदेखि लिएर अन्य धेरै कुराहरुमा ‘फिलोसोफी’मा बढी नै ‘बसउठ’ गथ्र्यौं ।  



उहाँले उहाँको जन्ममिति के हो भनेर मलाई नै सोध्नुहुन्थ्यो, तर मलाई नै स्पष्ट थाहा हुने कुरा भएन ।

तर  वि.सं. १९९० पुस २६ गते भनिएको छ त जन्म मिति ?

यसबारे अलग्गै प्रसंग छ । घरमा बुबामुमासंग हुर्कने छोरो म मात्र हुँ । त्यसैले परिवारका सदस्यहरुबीच कुराकानी भएको प्रसंग अलि अलि मैले सुनेको छु । 

सुने अनुसार उहाँ जन्मिएको केही दिनमा १९९० सालको ठुलो भूकम्प आयो रे । त्यो भूकम्प माघ २ गते आएको हो । आमा चोखिनु भएको थिएन रे त्यतीबेला । घरमा भूकम्प आएपछि बालक रुपचन्द्रलाई थाँग्ना सहित बोकेर आमा बेपत्तासंग  घरबाट दौडिनुभएछ । 

घरबाट दौडेर ओरालो पार गर्दै त्यो बेलाको गड्गडाउँदो पालुङको खोला तरेर वारीतर्फ चौरमा आएर हेर्दा त आमाको हातमा छोरो छैन । थाङ्नो मात्र छ । 

खोलामा खसेको भए त्यो बेलाको घर्तिखोला विशाल हुन्थो, त्यसले कहाँ पु¥याउँथ्यो, कहाँ ? तैपनि आमा चिन्ता मानेर फर्केर आँउदा मुलाको ड्याँङमा खसेको बालक भेटिएछ । 



अनि त्यसपछि  सो बालकलाई  आमाले घर लिएर गएको भन्ने कहानी मैले सुनेको हो । त्यसैले यि सबै हिसाव गर्दा भूकम्पको  ६ दिन अघि भएकाले पुस २६ गते भनेर मैले भनिदिएको हुँ । त्यही आधारमा उहाँको जन्मदिन पुस २६ गतेलाई मान्न थालिएको छ । त्यो मिति सही पनि हुनसक्छ, एक–दुई दिन तलमाथी पनि हुनसक्छ । 

दामनमा बोटानीकल अध्ययन गरेर बसेको , सन्यासी रुप धारण गरेको, नारायणी नदीमा हाम फालेको जस्ता धेरै रुदानेका बारे मिथकीय प्रसंगहरु सुनिन्छ, यसबारे तपाँइ आफैं भने कत्तिको साक्षात्कार हुनुहुन्छ ?

अधिकांश क्षणहरुमा म संगै छु । कम्युनिजम् भन्दा पनि आधारभूत रुपमा उहाँले दर्शनशास्त्रको अध्ययन गर्नुभयो । अध्ययन मात्रै गर्नुभएन अभ्यास नै गर्नुभयो । त्यही ताका उहाँले पूर्वीय दर्शनको अध्ययन सुरु गर्नुभयो । 
पूर्वीय दर्शनमा उहाँको सबैभन्दा बढी आकर्षण ज्ञान मार्गमा थियोे । ज्ञान मार्ग भनेको श्रीमद्भागवत गीताको दोस्रो अध्याय हो । त्यसमा अध्ययन भइसकेपछि उहाँका प्रयोगका दिनहरु सुरु भए । उहाँ केही काल कम्युनिष्ट पार्टीको सदस्य पनि हुनुभयो । 

पालुङ पनि बस्नुभयो । चुनावमा पनि उठ्नुभयो । त्यसरी अगाडि बढ्दै जाँदा आखिरी स्नातकमा ४ वटा सिट राष्ट्रिय पञ्चायतमा थियो । त्यहाँ उठ्दा विभिन्न अफवाह फैलाएर थोरै भोटले उहाँले हार्नुभयो । त्यसपछि विशिष्ट प्रकारको मान्छे भएको हुनाले उहाँको पछाडि विभिन्न तहका राष्ट्रिय र अन्तराष्ट्रिय सिआइडीहरु पछि लाग्ने गर्न थाले  । 

पछि लागेपछि त्यही कालमा उहाँले पालुङमा पढाउनुभयो । प्रधानपञ्च हुनुभयो । विकास समितिको अध्यक्ष हुनुभयो । त्यो बेलामा उहाँले हरेक भित्तामा प्रश्नवाचक चिन्ह राखेर के, कहाँ, कसरी, किन, कसबाट ? भन्ने प्रश्न लेख्न थाल्नुभयो । हरेकका घरमा गएपछि उहाँले त्यो लेखिदिन थाल्नुभयो । 

त्यो  नै ‘थाहा’को गर्भ हो । यही क्रममा २०२८ साल माघ १ गते माघे संक्रान्तीको मेला देवघाटमा लागिरहेको थियो । त्यहाँ माइलाबाको छोरा र साँइलाबाको छोराहरुको व्रतवन्ध थियो । एकैछिन पहिला सम्म हामी कुराकानी गरि नै रहेका थियौं । शायद म त्यतीबेला सत्र वर्षको थिँए ।



 गलेश्वर बाबा भनेका विशिष्ट प्रकारको बाबा हुनुहुन्थ्यो, देवघाटपारी बस्नुहुन्थ्यो । उहाँसंग गएर छलफल गरेको कुरा, साङ्खे युग भनेको के हो ? हाम्रा पुरोहित प्रख्यात विद्धान ढकालबाजे लगायतसंग गरेका कुराहरुबारे केही बेर पहिलासम्म उहाँले हामीलाई बताइरहनु भएको थियो । तर अचानक उहाँ कता हराउनुभयो, हामी ब्रतवन्धतिरै लागिरहेका थियौं । 

एकछिनपछि उहाँ कसैसंग नबोल्ने, निर्वाङ भएर, इशारामात्रै गर्ने रुपमा देखापर्नुभयो । अनि त्यही कुरालाई धेरै मिथक बनाए । 

त्यसपछि के भयो त ?

त्यस्तो रुपमा देखा परेपछि हाम्रो साँइली आमाले भूत–प्रेत केही लाग्यो होला भन्ठानेर पहँेलो अक्षता दिनुभयो, धुप वत्ति बालेर बोहोतोमा राखिदिनुभयो । तर उहाँले त्यो वत्तिसहितको बोहोतो झ्याप्पै मुखमा हाल्नुभयो, के के मन्त्र जप्नुभयो र एकैचोटी नारायणी नदीमा गएर डुबुल्की मार्नुभयो । 

शायद बोहोतामा सिन्काहरु हुने हुनाले सबै खान सकिन्न, त्यहाँ गएर ओकल्नुभयो होला । आधा घण्टापछि त्यत्रो मेलाको बीचमा धेरैले यो मान्छे पागल भयो भन्न थाले । 

एक त नाङ्गै छ, अर्को बोल्दैन, त्यस्तै जतासुकै लात्ताले पनि हिर्काइदिन्छ, त्यो भएपछि पागल भएको प्रमाणित भयो भनेर उनका पछाडि लागेका मान्छेहरुले भन्न थाले । 

उहाँले कपडा कुनै टाढाको ढुङ्गामा खोलेर राख्नुभएको रहेछ । पछि  आएर लगाउनुभयो । इशारा गरेर भूँइमा अक्षरले लेखेर ‘मलाई बस चढ्ने ठाँउसम्म पु¥याइदे’ भन्नुभयो । केही पैसा दिनुभयो, घडि दिनुभयो । फेरी नारायण घाटसम्म पु¥याइदे भन्नुभयो, म टाढै बसेर निगरानी गर्दै संगसंगै हिँड्दै थिँए । 



लिलाचोकमा ओर्लिसकेपछि फेरी हेटौंडा सम्म पु¥याइदे भन्नुभयो, अर्थात हेटौंडासम्म म संगसंगै हिँड् भन्नुभयो । विक्षिप्त प्रकारका एक्सनहरु गरेर अघि बढ्दै गएपछि मलाई पनि सजिलो भएन । साँझ पर्न पनि लागिसकेको थियो, त्यसैले ‘म जान्न, मेरो जाँच छ’ भनिदिँए । धेरै इशाराले फकाउनुभयो, भूँइमा लेखेर फकाउनुभयो । 

मैले पैसा र घडि दिँए । मलाई एक थप्पड हिर्काइदिनुभयो । त्यसबेला घडि खस्यो । म हेरेर बसें । पछि टिप्नुभयो । बस चढेर हिँड्नुभयो, त्यसपछिको कुरा कसैलाई थाहा छैन । 

त्यहाँबाट कहाँ कहाँ जानुभएछ त त्यसपछि ?

त्यसपछि उहाँ ऋषीकेश जानुभएछ । त्यहाँ गएर शिवानन्द आश्रममा राम्रै टिमसंग साधना गर्नुभएछ । त्यसपछि उहाँ बम्मैमा जानुभयो, त्यहाँ गएर ओशोलाई सुन्नुभयो । जयकृष्ण मुर्तीलाई सुन्नुभयो । 

त्यसपछि उहाँ गुजरात जानुभयो । विभिन्न ठाँउमा साधना गरेर डेढ–दुइ वर्षपछि मात्र आउनुभयो । आएपछि सिधै नारायणघाट नै आउनुभयो । 

कस्तो रुपमा आउनुभएको थियो त्यो बेला ?

साधकको भेषमा एउटा कछाड, ओढ्ने इत्यादीको भेषमा  उहाँ हुनुहुन्थ्यो । त्यसपछि साधना के हो, सन्यासी के हो भन्ने कुरामा उहाँले हामीहरुलाई धेरै चिज व्याख्या गर्नुभयो । 

रुदानेले दामनमा होटेर खोलेर पनि बस्नुभएको थियो रे नी ?

हुनत उहाँको स्वभाव व्यापार गर्ने होइन । तर केहीकाल व्यापार गर्नुभयो । त्यसपछि बाख्रा पालन गर्नुभयो । बाख्रा पनि चोरेर लगिदिए । त्यसपछि दामनको भ्यु टावरमा ठेक्का खुलेको थियो । 

त्यो ठेक्का मेरो नाममा लिइएको थियो । उहाँले पछि भन्दा ‘म दामन टावरको चौकिदार’ भन्ने गर्नुहुन्थ्यो आफुलाई । उहाँको सबैभन्दा बढी रुची अर्कीडमा हो । त्यसैले बोटानिक भन्दा पनि अर्किडको विभिन्न जातको संकलन गर्नुभयो । बोटानिक अध्ययन गर्नुभयो । 

उहाँ आफैं विभिन्न सीप भएको मान्छे भन्छन्, हो ?

विभिन्न शारिरिक काम गर्ने, अचम्मका फर्निचरहरु आफैंले बनाउने गर्नुहुन्थ्यो रुदाने । 

अहिले कम्युनष्टि नेताहरु श्रमिकका कुरा गर्छन्, कुन चाँही नेता छन् श्रमिकको पृष्ठभूमीबाट आएका ? तर रुदानेले श्रमिकको जागिर पनि खानुभएको छ, खलासीको जागिर पनि खानुभएको छ, अमेरिकनले रोपवे बनाउँदा त्यसमा एक वर्ष काम गर्नुभएको छ ।  



त्योबेलाको प्रमाणपत्र नै थियो उहाँसंग । काम गर्ने पनि ढंग थियो उहाँको । फर्निचार बनाउने, गारो लगाउने लगायत एउटा घरमा काम चलाउ सबै काम उहाँ गर्नुहुन्थ्यो । 

रुखका हाँगा, जरा ल्याएर ताछतुछ पारेर विभिन्न आकर्षक फर्निचर समेत बनाउनुहुन्थ्यो उहाँ  । आँट, जुक्ति र लगाव भएपछि जुनसुकै काम गर्ने तागत राख्नुहुन्थ्यो रुदाने । 

उहाँले पर्चा बेचेर चुनाव लडेको प्रसंग चाँही के हो नी ?

२०३६ सालमा चुनाव लड्ने अभियानमा उहाँ हुनुभयो । कसैले चुनावका लागि खर्च दिन जाँदा तैले धेरै पैसा मलाई दिइस् भने तेरो लगानी मैले फिर्ता गर्न सक्दीन, त्यसैले आफ्नो कमाइको थोरै पैसा मात्र तैंले तेरो जनप्रतिनिधीको लागि खर्च गर्न मिल्छ, त्यो भन्दा बढी लिन्न भन्नुहुन्थ्यो र त्यसका लागि पर्चा बनाएर बेच्नुहुन्थ्यो । 

किन पर्चा बेचेको भनेर सोध्दा, ‘तेरो प्रनिनिधी हुनलाई को लायक छ, भन्ने कुरा जान्न तैंले केही त खर्च गर्नु प¥यो नी ?’ भन्नुहुन्थ्यो । त्यही भएर त्यो पर्चाको लागत मुल्य अर्थात पाँच पैसा, १० पैसा लिने गरिन्थ्यो । तर उहाँले पार्टी भने बनाउनुभएन ।

के कारणले होला पार्टी नबनाएको ?

त्यो बारेमा चाँही उहाँसंग मेरो व्यक्तिगत रुपमै कुरा भएको थियो । केही उपद्रो गर्न पाए पार्टीमा लाग्ने, उपद्रो गर्न नपाए खाली जनसेवामा मात्र को लाग्छ र ? त्यसकारण पढे लेखेकाहरु पैसा र नाफा घाटाको हिसाव गर्नेहरु उहाँकहाँ आँउदै नआउने । 

जति पनि लागे ‘इमोस्नल’ व्यक्तिहरु शोषित, पिडित, किसान, मजदुर,कुल्ली, ढाक्रे उनको पछि लागे । उहाँ जनप्रतिनधी भइसकेपछि गाँउघरमा गइरहिन्थ्यो । 

खाएको पैसा लिन मान्दैनथे । कति बराबरको खाइयो, त्यो हिसाव गरेर टर्च लाइटर, लाइट इत्यादी चिजहरु मुल्य अन्दाज गरेर दिएर हिँड्नुहुन्थ्यो । हाउस चलेको बेला पुरै हाउसमा र हाउस नचलेको बेला पुरै जिल्ला दौडका काममा उहाँ हिँड्नुहुन्थ्यो । 

उहाँको कान्छो भाइ हुनाको नाताले बाल्यकालका उहाँसंगका अविश्मरणीय घटना र सम्झनाहरु पनि त होलान् नी ?

म सानै हुँदा हाम्रा पाँचैभाई घरमा थिएनन् । त्यसैले कसैको पनि बाल्यकलको सम्झना मसंग छैन । जति पनि सम्झना छन्, मसंग अलि पछिका छन् । हामीहरुका छ वटै भाइले एउटै चुलेमा खाना खाएको मलाई याद छैन । 

एकचोटी खाइयो शोला शायद आमा बित्दा, जुन बेला म दुइ वर्षको थिँए । कालिमाटी स्थित घरको आँगनमा त्यो बेला खिचेको फोटो मसंग छ ।  दोस्रो फोटो समुहमा छ, हाम्रो अंशवण्डा हुँदा २०२५ सालको । 

उहाँ भारतबाट फर्किएर दामनको टावर हामीले लिएपछि भने हाम्रो बाक्लै भेटघाट भयो । त्यसपछि माननीय भइसकेपछि काठमाडौं हुँदा म भेटिरहन्थें ।



म ओसोको सन्यासी, माला लगाउने भएको हुनाले उहाँको चुनावमा जान मिल्दैनथ्यो । म आफ्नै लाइनमा हिँडीसकेको थिँए । पछि माला हटेपछि हार्ने चुनावमा म खुबै हिँडे । 

रुदानेले लिएको सुविधाको गाडीबारेको प्रसंग के को ?

गाडी उहाँको र मेरो ज्वाइनमा थियो । त्यसैले हार्ने चुनावमा म उहाँको ड्राइभरको रुपमा हिँडे । सुविधाको गाडी पाइने । सबै मण्डलेहरुले चढिरहेकै छन् । 

‘आखिर चाहिन्छ नै, त्यसैले पैसा तँ चढ्, सुविधा म चढुँला’ भनेर आधा आधा प्रयोग गर्ने सहमति अनुसार हामीले मोटर चढेका थियौं । 

रुदाने विद्रोही स्वभावको व्यवहारवादी नेता त हो नै, उहाँको मुख्य दर्शनको व्याख्या चाँही  सबैले आफु अनुकुल गरेको पाइन्छ, तपाँइ  चाँही कसरी गर्नुहुन्छ ?

एकदमै सही हो । कम्युनिष्टले रुदाने कम्युनिष्ट हो भनेर व्याख्या गर्छन् । काँग्रेसले काँग्रेस भनेर र पञ्चेले पञ्चे भनेर चाँही गरेका छैनन् । जसलाई चाहिन्थ्यो, उनले बुझ्दै बुझेनन् । 

जसलाई चाँहिदैन त्यसले चाँही बुझ्छन्, अनि दुश्मनी गर्छन्, भनेपछि मण्डले, काँग्रेस, एमाले भन्ने सबै मिलेर उहाँलाई खोइरो खने । अहिले गुणगान गर्ने कुराले केही भएन । अहिले पछि लागेर के काम ?

उहाँको अन्तिम अवस्थामा तपाँइ संगैं हुनुहुन्थ्यो रे, के भन्नुभएको थियो तपाँइलाई ?

हो, उहाँलाई सातदिन अस्पतालमा राखियो । अस्पतालमा स्याहार सुसार गर्ने भनेको अजेय, रणसंग्राम र केही अन्य व्यक्तिहरु छन् । म चितवनमा थिँए । 

आइसीयुमा भएपछि एक दिन अघि  थाहा पाउनासाथ दौडेर आइपुगें । उहाँले मलाई केटाकेटीमा हिरो नाम राख्नुभएको थियो । जहिले पनि ‘हाई हिरो...’ भन्नुहुन्थ्यो । म पुगेपछि साह्रै खुसी हुनुभयो । कुन्नी के भन्नुभयो, हामीले बुझेनौं । ‘वाह........’ गरेर साह्रै खुसीको आवाज निकाल्नुभयो । 

उहाँले सास जानुअघिको अन्तिम शव्द नै मसंग बोल्नुभएको हो । त्यसपछि बेहोस हुनुभएको उहाँ कहिल्यै फर्कनुभएन । भोलीपल्ट बिहान एकताकेन्द्रका सोनाम, निर्मल लामा लगायका केही व्यक्तिहरु आइपुगे । 

के गर्ने भनेर सल्लाह गर्दा ‘उ कम्युनिष्ट पार्टीको पनि होइन, त्यसकारण केही गर्नु छैन र उहाँको सिद्धान्त भनेको मरेपछि लाशमाथी राजनीति गर्ने पनि होइन भनेर दाहसंस्कार गर्न लैजाऔं भन्ने कुरा भयो । 

अहिले पनि थाहा जगाउन पहल पुगेन कि नयाँ पुस्तालाई ?

ठिकै छ, अहिले पनि केही त भइरहेकै छ । जनमुखी सहकर्मीहरु मध्ये केहीले गरीरहेका छन् । थाहालाई बढी हाइलाइट गर्ने र पदमा पनि भएका व्यक्ति रामनारायण बिडारी हुन् । 



सक्दा अरुले पनि केही गरे भयो नी । आफुलाई थाहाको अनुयायी भन्ने अर्को व्यक्ति अजेय सुमार्गी पनि हो । अजेयको पुरै परिवारले रुपचन्द्रजस्तो एकदमै अफ्ठ्यारो मान्छेलाई खान, प्याउन एक दिन होइन, दुई दिन होइन, बर्षौ वर्ष प्रवन्ध गरेको छ ।  उसले मात्र होइन, उसको पुरै परिवारले । 

रुदानेको भाई भएको नाताले तपाँइलाई चाँही केही फाइदा भएको छ की छैन ?

मेरै सन्दर्भमा पनि मेरो कानुनी नाम भन्नासाथ तपाँइ रुपचन्द्रको को ? भनेर सोध्छन् । मैले म कान्छे, उ माइलो हो भन्थें । त्यती भन्नासाथ निश्चीत दृष्टिकोण परिवर्तन भइसक्थ्यो मान्छेहरुको । संगत पनि त्यस हिसावले धेरै भयो । 

मलाई पत्यार पनि धेरै गर्नुभयो । उहाँ हत्तपत्त कसैलाई पत्यार गर्ने मान्छे होइन । थाहा लेखिएको त्यो गाडी मैले कसैलाई शेयरीङ गर्न पाँउदैनथें । कि रुपचन्द्र दाई चलाउनुहुन्थ्यो, कि मैले चलाँउथे । 

मेरो एकदमै मिल्ने साथी र रुपचन्द्र दाइलाई पनि माया गर्ने भएको हुनाले नेत्र वान्तवालाई भने कहिले काँही चलाउन दिनु भन्नुहुन्थ्यो । त्यो गाडी मसंग राखेपनि कसैलाई चलाउन दिन अनुमति थिएन । 

उहाँको राजनीतिक रगतमा तपाँइ त्यही परिवारको कान्छो भाई, उहाँले जस्तो विचारको राजनीति गरौं भन्ने भावना गएन कहिल्यै ?

हाम्रा बाउआमाका छ जना छोराहरुमध्ये चारवटा गइसके । छ भाई छ थरीका भए । एउटै खालका छ थरी हुनुको अर्थ पनि भएन । नत्र किन जन्माइरहनु । 

कपिपेष्ट कोही पनि भएनन् । छ वटा ६ ढर्राका छन् । ‘फिलोशोफीकल्ली’ म सन्यासी भएपनि नवसन्यासी परें । म त्यो परम्परागत सन्यासी पनि होइन । 

उहाँ पनि धेरैचोटी ओसो नेपाल आँउदा सुन्न जानुभयो । ओशोको दर्शन रुदानेलाई पनि एकदमै मनपर्ने । ओशोको क्यासेट पनि मगाएर सुन्नुभयो । सबैभन्दा बढी शोषण गरिवीमा छ । धनाड्यमा कहाँ शोषण छ ? 

काठमाडौंमा अलिकति राम्रो परिवारमा स्वास्नीलाई हेँला गरेर हेर्नुस् त, कुन हालत हुन्छ । तर आज पनि झुपडीमा जानुस्, आइमाइको जुन दुर्दशा छ, त्यहीँ छ । रक्सी खाने लोग्ने, अबेरसम्म मस्ती गर्ने लोग्ने, भद्रगोल गर्ने लोग्ने, काममा जोतिने आइमाइ अनि त्यही आइमाइले नै हाम्रो भाग्य नै यस्तो भनेर पचाएर बसेका छन् । 

कि पुरुषले नारी दमन गरेको छ, कि अचेल कतै कतै नारीले पनि पुरुषलाई दमन गरेको छ । यो दमन नगर्नका लागि त चेतना चाहियो  । यो चेतना फैलाउने काम रुदानेले काफी गर्नुभयो । 

कमसेकम शिक्षा भयो भने केह्ी गर्न सक्छ भनेर बिहानी स्कुल, रात्री स्कुल धेरै ठाँउमा खोल्नुभयो । पालुङको नगदे आम्दानी आलु हो । त्यसबाट कर लिएर त्यहीका जनता पढाउने, त्यहाँको विकास गर्ने काममा लाग्नुभयो ।  

तर पार्टी बनाउदा के समस्या पर्ने भयो भने ‘तपाँइ मेरो पार्टी सदस्य’ हुनासाथ तपाँइले बदमासी गर्दा पनि मैले छुटाउन जानुपर्ने भयो । त्यो नभए तपाँइ पार्टीमा नलाग्ने । 

उहाँ राजनीतिज्ञ हो की जनप्रतिनिधी ?

उहाँको भाषामा भन्दा उहाँ राजनीतिज्ञ हो । जनताले जनताका लागि गर्ने राज्यको नीति नै राजनीति हो भन्नुहुन्थ्यो उहाँ । अहिले भन्नेहरु हामी जनताका सेवक हौं भन्छन्, तर यहाँ  सेवक होइन मालिक भन्दा पनि सुपरमालिक छन् । 

त्यो हिसाबले भन्दा रुपचन्द्र आफ्नो भावना भन्दा पनि जनताको भावना अनुसार काम गर्ने महामानव हुन् भन्न सकिन्छ । 

उहाँलाई कयौं चोटी सुर्यबहादुरले पैसाले किन्न खोज्यो । किन्न सकेन । लोकेन्द्रबहादुर चन्द आएपछि मन्त्रीको पद दिएर किन्न खोज्यो । बिक्नु भएन । मरिचमानले त विनाविभागीय मन्त्री बनेर थाहाकै प्रचार गर्न पनि छुट दिइन्छ भन्यो, तर उहाँ अडिग हुनुभयो ।

तर रुदाने पनि निर्दलको पक्षमा हुनुहुन्थ्यो होइन ?

राजनीति बहुदलीय, सरकार निर्दलीय हुनुपर्छ भन्ने उहाँको मान्यता थियो । अहिले भएको सरकार सबैको हुनुपर्ने होे नी नकी कम्युनिष्ट पार्टीको मात्र । 

मन्त्री निर्दलीय हुनुपथ्र्यो । उसले त दलको काम गर्ने भयो । त्यसैले उसले राष्ट्रको काम गर्न सक्दैन भन्ने रुदानेको भनाई थियो । 

मैले उहाँले १४ वर्षको बीचमा उहाँलाई सोधेको थिँए कि कम्युनिष्ट र गोरुमा के फरक छ भनेर ? जनसाधारणले काम र माम दुबै पाइन्छ भनिन्थ्यो । तर यहाँ न काम पाएको छ, न माम पाएको छ ।

 मैले उहाँलाई सोधे कि गोरुले पनि काम पनि पाएको छ,माम पनि पाएको छ, त्यसो भए के फरक छ ?

उहाँले के जवाफ दिनुभयो त ?

उहाँले दिएको जस्तो सुप्रीम जवाफ कसैले पनि दिन सकेन । उहाँले भन्नुभएको थियो, हेर्दाखेरी त्यस्तै हो ।  समाजवादमा गएपछि चाँही त्यस्तै देखिन्छ । 

तर यो समाजवाट साम्यवादको जो परिकल्पना छ, त्यो परिकल्पनाको लागि यो तयारीका सन्दर्भमा केही त्याग गर्नुपर्छ । समाजवादमा गोरु र मान्छेमा केही फरक छैन । किनभने स्वतन्त्रतामा सिमितताको प्रयोग गरेर त्याग सहित साम्यवादमा पुग्ने हो । 

त्यहाँ पुगेपछि अदालत, सेना, पुलीस केही हुँदैन । त्यसपछि कसैले कसैलाई काम लगाउन पर्ने अवस्था बन्दैन । जस्तो अहिले मलाई पैसा चाहिएको छैन भने म म्युजीक बजाएर बसीरहन्छु, मलाई एक छाक खान पाए पुग्छ । कसैलाई मरी मरी काम गर्नुछ, उसको शौख त्यही छ । 

कसैलाई सबैभन्दा महंगो गाडी चढेर हिँड्न मन छ भने उसको शौख त्यही छ ।  सबैजना समाजका सदस्य र समाज स्वचालित हुन्छ, त्यसको परिकल्पना भनेको साम्यवाद हो ।  अहिलेको स्वार्थी जमानामा एकपक्ष काम गरिरहने, अर्को पक्ष मस्ती गरिरहने भन्ने मानसिकतामा को सहमत हुन्छ । 

आफ्ना दाजुभाइबीच त कुरा मिल्दैन । म आफैं कम्युनमा केही समय जिएर आएको पात्र भएपनि अबको सन्दर्भमा साम्यवाद संभव छ भन्ने मलाई लाग्दैन । 

रुदानेको योगदानको आधारमा समाजले उहाँलाई चिन्न–बुझ्नमा के के कन्जुस्याँइ गरेको जस्तो लाग्छ तपाँइलाई, अनि परिवारको सदस्यको नाताले तपाँइहरुले के के गरिरहनु भएको छ नयाँ पुस्तालाई रुदानेबारे चिनाउन  ?

उहाँको योगदानलाई चिरस्थायी बनाउन रामनारायणजी र हामी मिलेर थाहा पुस्तीका निकाल्यौं । उहाँको पम्प्लेट समेटेर फेरी केही प्रकाशन गर्ने सोच छ । त्यसलाई अब विभिन्न भागमा पुनः प्रकाशन गर्ने योजना छ । 

अहिलेको नयाँ पुस्तालाई पढ्न, सिक्न सघाउ पुग्नेछ भन्ने हाम्रो आशा छ । उहाँका संग्रहहरु सामान्य हिसावमा बुझिँदैन । हरेकमा कठिन र आफ्नै खाले व्याख्या छन् । रुपचन्द्रका चेला भन्नेहरुको उहाँको जिन्दगीको छेउ मात्र गएर हेरुन् र आफुले थोरै मात्र अनुशरण गरुन् । 

राज्यले कुनै पनि विशिष्ट व्यक्तिहरुलाई कदर गरेको छैन । यहाँ मात्र होइन विश्वका कुनै पनि ठाँउमा यस्तै हो । हंगारुले खान नपाएर म¥यो । त्यसको दाजुले भाईलाई एकहप्तालाई ब्रेड खान पुग्ने पैसा दियो । त्यसमध्ये ४ दिनका लागि ब्रेड किनेर एक हप्तासम्म खाएर बाँकी पैसाले रंग किनेर पेन्टीङ ग¥यो । आज उसको पेन्टीङ सबैभन्दा महंगो छ । 

त्यस्तै अरु कयौं व्यक्ति छन् ।



 नेपालकै कुरा गर्ने हो भने बझाङी राजा जयपृथ्वीबहादुर सिंह तत्कालिन परिवेशमा राजाको भुमिकाका रहेर पनि सिङ्गो पृथ्वीमै गणनामा राख्नुपर्ने व्यक्ति हुन् । उनलाई पनि राज्यले केही गरेको छैन । जति कदर भएको छ, त्यो भनेको समाजले चिन्दै गएको मात्र हो । 

यो राज्यमा जन्मिएको एक विशष्ठ प्रकारको व्यक्ति भएपछि राज्यले के गर्नुपर्ने हो, जानेर गर्नुपर्छ । थाहा पुस्तकका नीतिहरु उपयोग गरेर त्यसको फाइदा मुलुकले लिनुपर्ने हो ।

 म भाइको नाताले भन्दा पनि दर्शनको हिसावले धेरै नजिक छु । तसर्थ त्यस्ता ज्ञान र कृतिहरु नयाँ पुस्तालाई काम लाग्छ । तसर्थ चिनेन भनेर दोष छैन । 

यो संसारमा चलेको रीति हो । उहाँका विचारहरु आजका पुस्तामा कसरी पु¥याउने भन्ने दायित्व राज्यको पनि हो, तपाँइ हाम्रो पनि हो । 

उहाँ जनचेतनाको ज्योती फैलाउने एक महान साधक हुनुहुन्थ्यो । उहाँले समाजमा चेतना फैलाउन कत्तिको प्रयत्न गर्नुभयो भनेर हाम्रो समाजले समिक्षा भने गर्न जरुरी छ । 



1 comments

गुमर्गी लिडारी र यो गुणचन्द्र एकातिर( स्वार्थ) अनि म सिङै एक सत्य तिर बैचारिक रुपमा भिड्ने हो त ?

Write Down Your Responses