Powered by Blogger.
प्राचिन टिष्टुङ–बज्रबाराहीको १२ वर्षे देवीगण नाच हनुमाढोका दरवार क्षेत्रमा देखाइयो


काठमाडौं । मकवानपुर जिल्ला थाहा नगरपालिका स्थित प्राचीन टिष्टुङ बज्रबाराही क्षेत्रमा १२वर्षको अन्तरालमा नचाइने देविगण नाच काठमाडौंमा प्रदर्शन गरिएको छ । 

बज्रबाराही माईको १२ वर्षे देवीगण नाच वसन्तपुर दरवार क्षेत्र स्थित कालभैरव मन्दीर पछाडिको चोकमा प्रदर्शन गरिएको हो । 

जीवन्त संस्कृति समाज काठमाडौंको आयोजना, टिस्टुङ बज्रवाराही १२ वर्षे नाच व्यवस्थापन समितिको सहआयोजना र थाहा नगरपालिकाको सहयोगमा यस नाचलाई वसन्तपुरमा प्रदर्शन गरिएको हो । 

नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी कला र संस्कृतिको प्रवद्र्धन र प्रचार प्रसार गर्ने उद्देश्यले नाच काठमाडौंमा ल्याएर प्रदर्शन गरिएको थाहा–६ का वडाअध्यक्ष शसिधर सुबेदीले बताउनुभयो । 

देवीगण नाचमा श्रीकुमारी, इन्द्रायणी, बाराही, गणेश, भैरव लगायतका नाचहरु प्रदर्शन गरएको थियो । टिष्टुङ बज्रबाराही माईको १२ वर्षे देवीगण नाच लिच्ववीकालदेखिकै नाच भएको संस्कृति अभियन्ता एकाराम सिंहले जानकारी दिनुभयो ।



 केही वर्ष पहिले लोप भइसकेको यो नाच स्थानीयको पहलमा पुर्नजिर्वित गरिएको हो । त्यसका लागि सबै स्थानीयले सहयोग अभियान चलाएको र आगामी दिनमा पनि सबैको सहयोगमा परम्परालाई निरन्तरता दिने सोच रहेको स्थानीय प्रमोद जोशीले जानकारी दिनुभयो । 

खिं बाजाको विभिन्न शुर तालमा गीतसहित नाच प्रदर्शन गर्ने गरिन्छ । सो नाचमा तत्कालिन राजा समर सेनका छोरा सत्तल सेनको कथा रहेको बताइन्छ । लिच्छवीकालीन यस नाचलाई टिष्टुङसहित पालुङलगायत मकवानपुर जिल्लाका नेवार बस्तीहरुमा प्रर्दशन गर्न बाँकी रहेको छ ।

कुनै बेला चन्द्रशमशेरले खर्च अभावमा काठमाडौं ल्याउन बन्द गरेको यो नाच स्थानीयको पहलमा परम्पराको जगेर्ना गर्न र प्रचारप्रसारका लागि काठमाडौं ल्याएर प्रदर्शन गरिएको हो । शनिवार काठमाडौैंको हनुमानढोका परिशरमै ल्याएर प्रस्तुत गरेपछि लोपोन्मुख टिस्टुङ नाचले चर्चा पाउन थालेको छ । १२ वर्षे बज्रवाराही नाचको रुपमा लिइने यो नाच एउटा खटमा दुइ रातसम्म नचाइन्छ ।



 गत बैशाख २६ गतेबाट नचाउन शुरु गरिएको यो नाच अहिले विभिन्न टोलहरुमा नचाउने क्रम जारी छ । विभिन्न सातवटा खटमा नचाइने यो नाच तान्त्रिक विधिबाट नचाइन्छ । नाचमा गणेश, कुमारी, इन्द्रायणी, भैरव, बज्रवाराही र बेतालाई प्रस्तुत गरिन्छ भने ९९ जना भन्दा बढी कलाकारले रातभर प्रस्तुती दिने गर्छन ।

एक वर्ष देखाइने नाचको लागि २५ लाख रुपैयाँ सम्म खर्च हुने अनुमान छ । नाचका सहभागी धामी, बाजागुरु, कलाकार र देवगणलाई प्रदेश सांसद राजेश शाक्यले पुजा तथा फेटा ओढाएर सम्मान गर्नुभयो । उहाँले यो परम्पराको जगेर्नाका साथै सांस्कृतिक भाइचार र कलाको आदान प्रदान कार्यक्रम भएकाले उक्त संस्कृति प्रवद्र्धनका लागि सक्दो लागिपर्ने प्रतिवद्धता जनाउनुभयो । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका अध्यक्ष तथा थाहा–६ टिस्टुङ निवासी शन्तराम बिडारीले यस्तो परम्पराको व्यापक प्रचार गरि राजधानी नजिकै रहेको टिस्टुङ पालुङलाई मुल प्रवाहमा ल्याउनुपर्ने र सो काममा सञ्चार क्षेत्रमार्फत सक्दो पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । 

काठमाडौं महानगरपालिका वडा नं २३ का वडा अध्यक्ष मचाराजा महर्जनले टिस्टुङको नाच काठमाडौंमा देखाउन पाएकोमा धन्यवाद दिँदै टोलीलाई स्वागतका साथ आगामी दिनमा पनि सहकार्य गरिरहने प्रतिवद्धता जनाउनुभयो । 



0 comments

Write Down Your Responses