Powered by Blogger.
साधारण शिक्षामा अब्बल नभए प्राविधिक शिक्षामा गुणस्तरीयता आँउदैनः डा. लामिछाने


मकवानपुर(चित्लाङ) । कोलम्बो प्लान अफ स्टाफ कलेज, फिलिपिन्सका महानिर्देशक डा. रामहरि लामिछानेले साधारण शिक्षामा अब्बल नभए प्राविधिक शिक्षामा गुणस्तरीयता नआउने बताएका छन् ।

 व्यवसायिक शिक्षा तथा तालिम परिषद सिटिइभिटीका पूर्व सदस्य सचिब समेत रहेका उनले हरेक शिक्षालाई सीपसँग, सीपलाई रोजगारसँग र रोजगारलाई अर्थतन्त्रसँग समन्वय गर्नु पर्नेमा जोड दिए ।

मकवानपुरको चित्लाङमा रहेको थाहा पोलिटेक्निक इन्ष्टिच्युटले चित्लाङमा आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । कार्यक्रममा प्रमुख आतिथि रहेका थाहा नगरपालिकाका प्रमुख लवशेर विष्टले सानै कक्षादेखि गुणस्तरीय शिक्षामा ध्यान दिन सकेमा माथिल्लो तहमा परिणाम राम्रो आउने बताए । 

शिक्षा प्रमाणपत्रका लागि नभई समृद्धि र विकासका लागि हुनु पर्ने उनको भनाइ रहेको थियो । व्यवसायिक शिक्षा तथा तालिम परिषद सिटिइभिटीअन्तर्गत संचालित  थाहा पोलिटेक्निक इन्स्टिच्युटको हालको अवस्था र भावी कार्यक्रमबारे छलफल गर्न कार्यक्रमको आयोजना गरिएको थियो ।

इन्स्टिच्युटका प्रिन्सिपल प्रदिपराज बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि, सिटिइभिटीका पूर्व सदस्य सचिब रमेश बखती, निर्देशकहरु प्रमोदभक्त आचार्य, यामप्रसाद भुर्तेल, ईश्वरीदत्त भट्ट, सिटिइभिटी प्रदेश ३ निर्देशक कृष्णबहादुर केसी, अभिभावक संघ नेपालका सुप्रात भण्डारी लगायतको उपस्थिति रहेको थियो । 

 कार्यक्रममा वक्ताहरुले पोलिटेक्निकको शिक्षालाई व्यवहारिक र प्रयोगात्मक बनाउन सुझाव दिएका थिए । 

३ वर्षदेखि संचालनमा रहेको पोलिटेक्निकमा हाल वन विज्ञानतर्फ डिप्लोमा तहको पठनपाठन हुँदै आएको छ ।




0 comments

Write Down Your Responses