Powered by Blogger.
थाहा नगरपालिकासँग प्रतिपक्षी अन्तरपार्टी सञ्जालले माग्यो विषयगत खर्चको विवरण


मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा प्रतिपक्षी अन्तरपार्टी सञ्जाल सक्रिय देखिएको छ । स्थानीय निर्वाचनमा बहुमत प्राप्त दल इतरका दलहरुले प्रतिपक्ष अन्तरपार्टी सञ्जाल नै गठन गरेर सक्रियता देखाएका हुन् ।

 

यसअघि जन निर्वाचित प्रनितिधिहरुबाट स्थानीय सरकार संचालन शुरु गरे यताका सबै आर्थिक वर्षको प्रगति र खर्चबारे लिखित जानकारी मागेको सञ्जालले पछिल्लो पटक ३ वटा बुँदाहरुमा केन्द्रित गरेर आफ्ना मागहरु राखेको छ ।

 

मंगलबार नगरपालिका कार्यालयमा पेश गरिएको ३ बुँदे मागअन्तरगत पहिलो सूचनाको हकसँग सम्बन्धित रहेको छ भने दुईवटा मागहरु पर्यटन विकास र कर्मचारी पदपूर्तिसँग सम्बन्धित रहेका छन् । संजालले नगरप्रमुखलाई सम्बोधन गरी लिखितरुपमा पेश गरेको पत्रमा आर्थिक वर्ष २०७६–०७७ मा थाहा नगरपालिकाका विषयगत शाखाहरुले वडा र नगरस्तरमा सम्पन्न गरेका कार्यक्रमहरु र तिनका खर्च विवरण समेतको प्रमाणित प्रतिलिपि उपलब्ध गराइदिन माग गरेको छ ।

 

यसअघि सूचना माग्दा नगरपालिकाको समग्र कार्यक्रमको बारेमा मात्र जानकारी प्राप्त भएकोले विषयगत शाखाहरुको वडा तथा नगरस्तरको गतिविधि र खर्च थाहा पाउन सूचना माग गरिएको जनता समाजवादी पार्टी नेपालका मकवानपुर क्षेत्र नम्बर २ इन्चार्ज इन्द्रबहादुर श्रेष्ठले बताउनु भयो ।

 

त्यसैगरी थाहा नगरपालिकाको मुख्य नारा ‘थाहा नगरपालिकाको विकासको आधार, कृषि पर्यटन र पूर्वाधार’ भनिए पनि पर्यटन प्राथमिकतामा नपरेको भन्दै पर्यटन क्षेत्रको विकासका लागि छुट्टै पर्यटन शाखा स्थापना गर्न माग गरिएको छ । नगरको पर्यटन क्षेत्रको विकासका लागि नगर कार्यपालिकाले थाहानगरपालिका–४ का वडा अध्यक्ष दीपक सिं लामाको संयोजकत्वमा पर्यटन समिति गठन गरे पनि क्रियाशील नभएको र पर्यटन विकासमा योगदान गर्न नसकेको संजालका एक सदस्यले बताउनु भयो ।

 


नेपाली काँग्रेसका थाहा नगर सभापति योगेन्द्रमान श्रेष्ठले पर्यटन क्षेत्रमा विज्ञता हासिल गरेका कर्मचारी सहितको छुट्टै शाखा स्थापना गर्न माग गरिएको बताउनु भयो । थाहानगर प्रतिपक्ष अन्तरपार्टी सञ्जालले थाहा नगरपालिकाका विषयगत शाखाहरुमा नेपाल सरकारले तोकेको दरवन्दी अनुसार कर्मचारी पदपूर्ति हुन नसकेको जिकिर गरेको छ ।

 

उसले नगरपालिकालाई बुझाएको पत्रमा विषयगत शाखाहरुमा तोकिए अनुसारको दरवन्दी कायम गर्न पनि माग गरेको छ । सरकारले विषयगत शाखा प्रमुखहरुका लागि तोकेको न्यूनतम तहभन्दा पनि तल्लो तहलाई कायम गर्ने गरी नगरकार्यपालिकाले निर्णय गरेको प्रति सञ्जालका प्रतिनिधिहरुले विरोध जनाएका छन् । ‘स्वाथ्य शाखामा सातौं तहको अधिकृत हुने व्यवस्थालाई नगर कार्यपालिकाले छैठौं तह कायम गरेकोमा हाम्रो आपत्ति छ,’ उहाँले भन्नुभयो ।

 

यसबारे अन्तरपार्टी सञ्जालले मंगलबार थाहा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीसँग पनि छलफल गरेको थियो ।

 

 

नगरपालिकालाई बुझाएको मागपत्रमा नेपाली काँग्रेस थाहानगर सभापति योगेन्द्रमान श्रेष्ठ, जनता समाजवादी पार्टीको क्षेत्रीय इन्चार्ज इन्द्रबहादुर श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका नगर अध्यक्ष हरेराम कार्की र राष्ट्रिय जनमोर्चाका नगर अध्यक्ष दिनेश विष्टले हस्ताक्षर गर्नुभएको छ ।

0 comments

Write Down Your Responses