Powered by Blogger.
टिस्टुङको अग्लोचुलीमा स्वर्गीय प्रेमराज बिडारीको शालिक अनावरण




काठमाडौं । थाहा नगरपालिका स्थित टिस्टुङ–बज्रबाराही र धादिङको सिमानामा पर्ने अग्लो चुलीमा वैशाख १ गते नयाँ वर्षको अवसरमा भव्य मेला लागेको छ । सो स्थानमा विगत वर्षहरु झैं नयाँ वर्ष २०७८ को उपलक्ष्यमा मेला लागेको हो । 

तर यसपटक भने अन्य वर्षको भन्दा बेग्लै रौनक देखियो । २० औं वर्ष अगाडि सो स्थानमा मनकामना मन्दिरको शिलान्यास गर्ने समाजसेवी तथा धार्मिक व्यक्तित्व स्वर्गीय प्रेमराज बिडारी अर्थात धर्मराजको शालिक अनावरण गरिएकाले यो पटक विगतभन्दा बढी नै रौनक देखिएको हो । 

स्वर्गीय प्रेमराजको शालिक स्थानीय जेष्ठ नागरिक तथा समाजसेवी कृष्णबहादुर रुम्बा र थाहा नगरपालिका वडा नं ६ का वडाअध्यक्ष शशिधर सुवेदीले सोही कार्यक्रममा अनावरण गरे । स्थानीयद्धारा नै तयार गरिएको उक्त शालिकले स्वर्गीय प्रेमराजले गरेका समाज सुधार तथा अन्य सामाजिक तथा विकास कार्यको चिरस्थायी स्मरण हुने बताइएको छ ।

शालिक अनावरण पछिको संक्षिप्त सभामा स्वर्गीय प्रेमराजका सुपुत्र तथा राष्ट्रिय सभा प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण बिडारीले जनताद्धारा निर्मित, स्थापित र विकसित अग्लोचुली आज आज यसरी चर्चा चलेको र महत्व बढेकोमा खुसी व्यक्त गरेका छन् । आफ्नो पिताले उतीबेलै सामाजिक जागरणका लागि चालेको अभियानले अहिले यस क्षेत्रमा मास्टर प्लान बनाएर पर्यटन विकास गर्न कोशेढुङ्गा सावित भएको धारणा राखे । उनले प्रदेश सरकार, नगरपालिका र वडा समितिले संयुक्त पहल गर्दा वन संरक्षण, लालिगुराश तथा सुनगाभाको  विकास गरी सानो मुलावारी, मुलावारी र अग्लोचुली क्षेत्र स्थित मनकामाना मन्दीरमा व्यापक पर्यटकहरु भित्र्याउन सकिने संभावना रहेको औंल्याए ।  

विद्युत, खानेपानी र केवलकार जस्ता पुर्वाधार विकास गर्न सकेमा यस क्षेत्रले काँचुली फेर्ने भन्दै त्यसको लागि सांसदको हैसियतले आफ्नो तर्फबाट पुरापुर सहयोग हुने उनको धारणा थियो । 

कार्यक्रममा गाविसमा पुर्व उपाध्यक्ष तथा एमाले नेता ईश्वरलाल रुम्वाले स्वर्गीय प्रेमराज बिडारीको योगदानको चर्चा गर्दै अग्लोचुली क्षेत्र धार्मिक मात्र नभएर पर्यटकीय महत्वको समेत स्थान भएको बताए । कार्यक्रममा वडा अध्यक्ष शशिधर सुबेदीले स्वर्गीय प्रेमराजले धार्मीक आवरणमा समाजमा असल चेतना प्रवाह गर्न उल्लेख कार्यहरु गरेको दावी गरे । पर्यटकीय हिसावले महत्वपुर्ण स्थानमा मन्दीर स्थापना गरिदिएर उहाँले महत्वपुर्ण भइकन पनि ओझेल परेको स्थानको पहिचान गराइदिएको बताए ।  

दामोदर सुबेदीले सञ्चालन गरेको सो कार्यक्रमको अध्यक्षता मन्दीर तथा शालिक  निर्माण उपभोक्ता समितिका अध्यक्ष प्रताप रुम्बाले गरेका थिए । कार्यक्रममा ब्राम्हण, नेवारी र तामाङ संस्कृति, झाँकी तथा बाजागाजाहरु प्रस्तुत गरिएको थियो । 





0 comments

Write Down Your Responses