सशीधर सुबेदी, वडा अध्यक्ष, थाहा–६, मकवानपुर
‘गाउँ – गाउँंमा सिंहदरबार’ नारा सार्थक पार्न नेपालमा संघियता सहितको स्थानीय सरकार बनेको पनि लगभग ४ वर्ष पुरा भयो ।
५ वर्षे कार्यकालका लागि निर्वाचित स्थानिय जनप्रतिनिधीहरुको कार्यवधी पनि एक वर्ष मात्र बाँकी छ । चुनाव पनि नजिकिंदै छ । स्थानीय सरकारले थाहा नगरपालिका स्थित साविक बज्रबाराही गाविस अर्थात हालको ६ नं वडामा के कति परिवर्तन ल्यायो ?
जनताका अपेक्षा र गुनासाहरु वडा अध्यक्ष सशीधर सुवेदीले कसरी सम्वोधन गरिरहनु भएको छ ? कस्तो रह्यो उहाँको कार्यकाल ? अनि के कस्ता छन् त समस्या थाहा नगर भित्र ? भनेर दामन पोष्टका प्रतिनिधि सुवास खुलालले वडा नं ६ का अध्यक्ष शशीधर सुबेदीसंग उहाँकै कार्यालयमा गएर केही संवाद गर्नु भएको छ । प्रस्तुत छ त्यसको सम्पादित अंशः
थाहा नगरको कृषि अनुदान त वास्तविक साना किसानले नपाई ठुला ठालु पुजिँपती र व्यापारीले संचालनमा ल्याएको कृषि फार्ममा मात्र गैरहेको भन्ने गुनासो छ नी ?
– त्यस्तो होइन । कृषिमा अनुदान सबैले पाएका छन् । तर त्यसका लागि नगरपालिकाले सुचना जारी गरेपछी कृषि अनुदानका लागि आफूले दर्ता गरेको कृषि फार्मको विवरण सहित निवेदन दिनुपर्छ । प्रक्रिया पूरा गर्ने हो भने ५० % नगरपालिकाको र ५०% कृषि फार्म संचालकको हुनेगरी हामीले अनुदान दिइराखेका छौँ । खेत जोत्ने हाते ट्याक्टर माग गर्ने लगभग सम्पूर्ण किसानले पाएका छन् ।
तर पोहोर परार पाउनेले भने यसपालि पाउँदैनन् । भन्नेनै हो भने कृषिको अनुदान त धेरै मात्रामा वडा नं ६ र १० लाई मात्र छ भने पनि हुन्छ । झन्डै ९० % प्रतिशत त यतै गएको छ । अनुदानमा पनि भेराइटी र शीर्षकहरु छन् । र ती मध्ये केहि न केही अनुदान प्रत्येकले पाएका छन् ।
विगत दस वर्षको तुलना गर्ने हो भने थाहा नगरपालिका कै लगभग सबै जसो सरकारी विद्यालयहरुको भवन राम्रो भयो तर शैक्षिक गुणस्तर खस्केको देखिन्छ नि, किन होला ?
– विगतमा भन्दा पनि अहिले केही बर्ष यता शिक्षाको क्षेत्रमा धेरै नै सुधार आएको छ । तर जुन सरकारी बिद्यालयहरुको गुणस्तर खस्किएको भन्ने कुरा छ यसका केही कारणहरु छन् । जस्तै अलि सम्पन्न र धनी बर्गले आफ्नो छोराछोरीलाई निजि बिद्यालयमा भर्ना गर्ने गर्छन ।
यसो हुनाले आर्थिक हैसियत कम भएका निम्न वर्गका छोराछोरीहरु मात्र सरकारी बिद्यालयमा पढ्ने अवस्था छ । जसको अभिभावकहरुमा समेत शिक्षाको चेतना कम छ । यसले गर्दा बिद्यालय व्यबस्थापन समिति राम्रो हुन सकेको छैन । यसका साथसाथै जाँच पड्ताल गर्ने निकायको ध्यान पुगेको छैन ।
यसो हुनाले सरकारी बिद्यालयहरु प्रभावकारी रहन सकेको छैन । फेरि बिद्यालय खस्किँदै गए पछि अलि कस्सिएर लाग्ने शिक्षकहरु पनि छैनन् । शिक्षकहरुको आफ्नै दादागिरी छ । प्रयाप्त शिक्षक दरबन्दी छैन । गठन भएका व्यवस्थापन समितिलाई प्रयाप्त अधिकार दिइएको छैन ।
त्यसैले हामीले अहिले बिद्यार्थी संख्या कम भएका बिद्यालय हरुलाई मर्ज गर्ने, स्तर घटाउने काम गर्दै आएका छौँ । यही अन्तर्गत हामीले यस नगरका केही बिद्यालय हटाउने, मर्ज गर्ने र स्तर घटाउने कामहरु गर्दै आइरहेका छौँ ।
थाहा नगरपालिका भित्रको मुख्य सडक लगायत भित्री सडकहरुको अवस्था दयनीय छ, जनताले सास्ती भोग्न परेको अवस्था छ । यसको लागि उचित ध्यानाकर्षण नभएकै हो कि ?
– यहाँको धेरै जसो सडक निर्माणको जिम्मा एउटै ठेकेदार कम्पनीले पाएको छ र त्यो ठेकेदार कम्पनीले काम नगरेको अवस्था छ । त्यसैले हामीले त्यो कम्पनीलाई कारबाहीको दायरामा ल्याउने प्रक्रिया अगाडि बढाएका पनि थियौँ तर कोरोना र लकडाउनको वाहनाले केन्द्रीय सरकारले म्याद थप गरिदिएको छ ।
तर बज्रबाराही – भटुवाल सडक खण्ड , बज्रबाराही – सिखरखेल सडक खण्ड , ढोक्चा – तिनाल सडक खण्ड , गणेशथान – ऐलाख सडक खण्ड यी सबैको लागि बजेट छुट्टाइएको छ । फेरि ठुला योजनामा स्थानिय सरकारको मात्र हात नरहने हुनाले पनि यस्तो भएको हो ।
यस वडा लगायत थाहा नगरभित्र थुप्रै असहाय र वेसाहारा बालबालिकाहरु छन् । उनीहरुको उचित व्यवस्थापन गर्न स्थानीय सरकारको के पहल भैरहेको छ ?
– यसका लागि के पो पहल गर्न सकिएला र ? तपाईं नै भन्नुस त । हामीले प्रयास नै नगरेको भने होइन । धेरै गर्यौँ तर उनीहरुको बाबू आमा नै बिहान बेलुकै रक्सी पिउने । उनीहरुमा छोराछोरी पढाउन पर्छ भन्ने चेतना नै छैन । हामीले स्कुल, किताब, कापी, ड्रेस सबैको व्यवस्था गरिदिएका थियौँ तर अँह उनीहरु बिद्यालय जानेवाला छैनन् ।
तपाईँसंग केही उपाय छन् भने भन्नुस् । यस्ता बालबालिकाहरुलाई यहिँ त सम्भव होला नहोला तर काठमाडौ–हेटौँडा जस्ता शहरका बाल उत्थान केन्द्र , पुनस्र्थापना केन्द्रहरुमा लैजान सकिन्छ । कि त स्थानीय सरकारले नै छुट्टै बजेट छुट्याएर यतै यस्ता केन्द्रहरु स्थापना गर्न पर्छ ।
यिनीहरुको अहिले उचित व्यबस्था गर्न सकिएन भने पछि पछि समाज र राष्ट्रकै लागि घातक हुन सक्छन् । लुटपाट हत्या हिंसा उनीहरुबाटै निम्तिन सक्छ । तसर्थ सचेत बन्नु आवश्यक छ ।
यसै क्षेत्रका संघीय सांसद बिरोध खतिवडाको चुनावी एजेन्डा नै यताको लागि कुन्छाल – कुलेखानी सडकको कालोपत्रे गर्ने भन्ने थियो । किन पूरा हुन सकेन । स्थानीय निकाय बाट केही दबाब दिन सकेनौँ कि ?
– हामीले यसका लागि धेरै भन्दा धेरै पहल गर्यौँ तर देशको सिस्टम पद्धति ठुला – ठालुहरुमा बजेट जाने परिपाटी , यो केन्द्रकै कमि कमजोरी हो । यदि सामन्य सिलिङ बजेट समेत स्थानीय निकायमा नआउने हो र जति मन लाग्यो त्यति मात्र बजेट दिने व्यवस्था भएको भए त कतिपय वडा नगरपालिकाहरुमा रुपियाँ बजेट समेत आउने थिएन ।
तर कुन्छाल कुलेखानीको सडकको लागि मेयरसाप नै दुई पटक तात्तिएर पोहोर साल देखि कलाँटु – टौखेल भेगका सडकका केही काम भैरहेको छ ।
यस वडा भित्र थुप्रै खाले सामाजिक विकृतिहरु फैंलदै, यो ठाउँमा प्रहरी चौकीको पनि आवश्यकता छ, यसको लागि केही योजना छ ?
– हो, वडामा विकृतीहरु दिनहुँ बढ्दैछ । बढी जसो कुलतमा फस्ने भाइबहिनीहरु छन् । जुवातास पनि यहाँको समस्या हो । प्रहरी चौकीको व्यवस्थाको लागि धेरै पहल भएका छन् । अब टुङ्गिन्छ । प्रहरीहरुलाई बस्ने व्यवस्था गर्नु भन्नुभएको छ ।
उहाँहरुलाई बस्न भाडाको घर खोज्ने कि अन्यत्र भवन निर्माण गर्ने भन्ने बहस चलिरहेको छ । अब चाँडै स्थायी रुपमा प्रहरी चौकी आए पछि मौलाउँदै गएका जुवा तास र गाँजा सेवनको केही हद सम्म समस्या समाधान होला
तपाँइको कार्यकाल पनि सकिन लाग्यो । के कस्ता परिवर्तनहरु आए त यहाँको कार्यकाल भित्र यस वडामा ?
– कति परिवर्तन भए भन्ने कुरा त यहाँको आम जनताले भन्ने कुरा हो । हामी जनप्रतिनिधि नहुँदा कस्तो अवस्था थियो र हामी जनप्रतिनिधि भैसके पछि कस्तो भएको छ भन्ने त वडाबासीहरुले भन्ने छन् ।
तर विगतको तुलना मा कायापलट परिवर्तन भएको छ । अब भोलि के हुन्छ समयले बताउला ।
के कस्ता कुरामा कायापलट ल्याउनुभयो ?
– लगभग सडक खन्ने काम सकिएको छ । कतै खासै सडक खन्न पर्ने छ जस्तो लाग्दैन । कतै छ भने नि हामी तुरुन्त खन्न तयार छौँ । तर बाँकी छैन । अर्को कुरा, सडकको स्तरोन्नती गरियो ।
बजेट परेका सबै सडककको एकखाले स्तरिकरण यही आर्थिक बर्ष भित्रै सम्पन्न हुन्छ । खानेपानीको काम पनि भएको छ ।
यहाँको कार्यकाल सकिनु अगावै गर्नु पर्ने त्यस्तो केही विशेष योजना तथा कामहरु छन् त ?
– यस्ता त थुप्रै छन । १८ करोड बजेट परेको बज्रबाराही मन्दिर माथि एउटा पार्क बनाउने काम थालनी मात्र भएको छ । बज्रबाराही मन्दिरकै परिसरका केही काम भएका छन् अरु हुनै बाँकी छ । जम्माजम्मी एक करोड जतिको काम भएको छ अरु बाँकी नै छ ।
१३ करोड बजेट परेको थाहा संग्रालयको निमार्ण गर्न बाँकी छ । १० किलोमिटर जति सडक पिच या ढलान गर्न पाए हाम्रो वडाको केही बाहेक धेरै काम सकिन्छ । करिव नौ सय घरधुरी रहेको यस वडामा लगभग ६ सय घर धुरीले मात्र व्यवस्थित घरमै जडित धारो पाएका छन अझै ३ – ४ सय घर धुरीको लागि खानेपानीको व्यवस्था गर्न बाँकी छ ।
यसका लागि दुई वटा संस्थाहरुसंग सहयोग मागेका छौँ । यस्ता त दर्जनौँ काम बाँकी छन् । धेरै ठूलो परिकल्पना गरेका थियौँ । त्यसमा केही सम्पन्न भएका छन् केही सुरुवात भएका छन् ।
वडाका विकाश निर्माणको कार्यमा वडाबासीको सहभागिता र साथ कतिको पाउनुभयो त ?
– आफ्नो ठाउँको लागि गर्न पर्छ भन्ने भावना छ । अलि ठुला कामको लागि त ठेक्का नै लगाउन पर्छ तर २० % लागत उपभोक्ता समितिले ब्यहोर्नु पर्छ भनेका छौँ ।
त्यो भनेको रकम संकलन र श्रमदान नै हो । जस्तै बोरिङको खानेपानीको आयोजना तीन करोडको हो । त्यसको लागी उपभोक्ता समितिबाट ८५ लाख बराबरको योगदान हुन्छ ।
अन्त्यमा वडाबासीलाई भन्नुपर्ने यहाँको केही सन्देश छन कि ?
– मेरो कार्यकालमा उहाँहरुले सहयोग गर्नु भएको छ । पठाएका योजनाहरुलाई सम्पन्न गर्न हर प्रयत्न गर्नुभएको छ । वडाका योजना आफ्नै योजना मान्नु भएको छ त्यसका लागि सम्पूर्णमा धेरै – धेरै धन्यवाद छ ।
अहिलेको अवस्थामा कोभिड र लकडाउनले यो क्षेत्रमा पनि धेरै असर पार्यो । हामीले केही आमा बुबालाई गुमाउन पनि पर्यो । यसबाट बिचलित नहुनुहोस् । जोगिने प्रयत्न गर्नुभएको छ र अझै जोगिनु पर्ने अवस्था छ । सतर्क रहनुहोला । अरु विकास निर्माणको काम हामी आफैंले गर्ने हो । नगरपालिका , सरकारले गर्ने भनेको केही हिस्सा मात्र हो ।
त्यसको लागि पनि खबरदारी गर्नुपर्ने हुन्छ । किन कि आफ्नो समाज निर्माणमा आफैँले पहल गर्नुपर्ने नै महत्वपूर्ण कुरा हो ।
0 comments
Write Down Your Responses