Powered by Blogger.
आग्राको स्वास्थ्य सेवामा कायापलट ल्याउने सुरेन्द्र ठाकुर जसलाई युगले सम्झिरहनेछ



दामन पोष्ट विशेष संवाददाता

थाहा नगरपालिकामा नै समेटिएको भए पनि ‘आग्रा’ मकवानपुर जिल्लाको दुर्गम तथा विकट क्षेत्रमा पर्दछ । हाल थाहा नगरपालिका वडा नम्बर ८ अन्तर्गत पर्ने आग्रा तत्कालीन आग्रा गाविसमा पर्दथ्यो । रौतहटका सुरेन्द्र ठाकुर आग्रा उपस्वास्थ्य चौकीमा जागिरे भएर आँउदा त्याहाँको स्वास्थ्य संस्थाको अवस्था एकदम नाजुक थियो । भौतिक पूर्वाधार केहि  पनि राम्रो थिएन । 

भवनको नाममा एक कोठे भवन जहाँबाट महिनाको १ दिन खोप सेवा मात्र सञ्चालन हुन्थ्यो । नाम मात्रको उपस्वास्थ्य चौकी तर कर्मचारीको अभावमा सधै स्वास्थ्य संस्था बन्द हुन्थ्यो । एक जना करारको खोप कार्यकर्ताको भरमा स्वास्थ्य संस्था सञ्चालनमा रहेकोले अरु बेला स्वास्थ्य संस्था बन्द हुन्थ्यो, खोप चल्ने १ दिन मात्र स्वास्थ्य संस्था खुल्दथ्यो । 

महिनाको एक दिन मात्र खुल्ने स्वास्थ्य संस्थामा नेपाल सरकारको मुख्य प्राथमिकताको खोप कार्यक्रम चल्न नै धौ धौ परिरहेको अवस्थामा स्वास्थ्य चौकीबाट प्रवाह हुने अन्य सेवा त उपलव्ध हुने कुरै भएन । 

सुरेन्द्र ठाकुरले २०७१ साल मंसिर २१ गते मकवानपुर जिल्लाको आग्रा उप स्वास्थ्य चौकीमा अहेव पदमा उप स्वास्थ्य चौकी प्रमुखको जिम्मेवारी सहित काम काज सुरु गरे । उनले चाहेको भए त्यहाँ दशकौ पुरानो परम्परा दोहो¥याई केवल जागिर मात्र खाएर बस्न सक्थे । तर उनले त्यो अवधीमा जागि मात्र खाएनन् त्यस क्षेत्रको स्वास्थ्य सेवालाई नै आमुल परिवर्तन ल्याए । 

यस अघिका अन्य कर्मचारी जस्तै १–२ वर्ष जागिर गरि सरुवा भएर जान सकिन्थ्यो । तर उनले आफ्नो क्षमता र विकेकले भ्याएसम्म संस्था र समुदायका लागि काम गरे ।  आग्राको स्वास्थ्य अवस्था सुधार गर्न अटुट हिम्मत र विश्वासका साथ लागि परि आग्रा उप स्वास्थ्य चौकीको कायापलट नै गरि दिए सुरेन्द्रले ।

भौगोलिक जटिलता, नयाँ ठाउ र निकै कठिन चुनौतीको बावजुद हाजिर भएको १ महिनामा नै नियमित स्वास्थ्य सेवा प्रदान गर्न उनी लागिपरे । उनले सामुदायिक क्रियाकलापबाट जनताको मन जितेर संस्था सुधारको योजना बारे व्यवस्थापन समिति लगायत स्थानीय जनसमुदाय संग राय सुझाव लिए ।  

स्वास्थ्य संस्था व्यवस्थापन समिति र स्थानीय जन समुदायको पूर्ण सहयोग यस काममा उनलाई हुने नै भयो । फलस्वरुप आग्रा पुगेको २ वर्ष भित्र नै थप जग्गा किन्न उनी सफल भए । नयाँ भवन निर्माण गरेर स्वास्थ्य चौकीबाट नियामित सेवा दिने देखि बर्थिङ, सुरक्षित गर्भपतन, परिवार नियोजन लगायतका सेवा सञ्चालन गर्न पनि सफल भए । 

स्वास्थ्य चौकीको सेवाको पहुँच भन्दा टाढाको जनतालाई सेवा दिन प्रत्येक महिना गाँउमा ३ वटा खोप केन्द्र र ३ वटा गाउ घर क्लिनिक सञ्चालन गरेका थिए उनले । स्वास्थ्य चौकीबाट खोप केन्द्र सम्म पुग्न ३ घण्टाको पैदल यात्रा गर्नु पर्दथ्यो । भर्खर १९ बर्षको उमेरमा जागिर सुरु गरेका उनी तराईमा जन्मिएका कारण पहाडको उकालो ओरालो बाटो हिड्न असहज हुँदाहुँदै बर्षायामको झरी होस् या बाढी पहिरो, कुनै कुराको परवाह नगरी निरन्तर सेवामा जुटीरहन्थे । 



बर्षामा जंगलको बाटो हिँड्दा खुट्टामा जुका लाग्थ्यो तै पनि नियमित रुपमा गाँउ घर क्लिनिक संचालन गर्थे । सेवा प्रवाहकै कारण उनी आग्राबाशीको मन मस्तिष्कमा अहिले पनि बसीरहेका छन् ।

तत्कालीन अवस्थामा ३ आना जग्गामा बनेको १ कोठे भवनबाट सेवा सन्चालन भइरहेको थियो । भौतिक पुर्वाधारको अभाव त्यसमा पनि ६ महिना भन्दा बढी कुनै पनि कर्मचारी नटिक्ने र स्वास्थ्य चौकी प्राय जसो बन्द हुने भएकोले जिल्ला जनस्वास्थ्य कार्यालयमा स्थानीय डेलिगेसन र गुनासो पुगिरहने अवस्थामा उनले अब स्थानीयलाई त्यो बाटो नै दिएनन् । 

एक कोठाको मात्र भवन बाट स्वास्थ्य सेवा प्रवाहमा निकै कठिनाइ तथा सेवाको गोपनियता कायम गर्न निकै चुनौती देखेर ब्यवस्थापन समिति संगको सल्लाहमा थप १ रोपनी ३ आना जग्गा किनेर ४ कोठाको नयाँ भवन निर्माण गर्न उनी सफल भए ।  जग्गा किन्नलाई पैसा व्यवास्थापन गर्न निकै समस्या झेलेका उनले जग्गा किन्न स्थानीय जनसमुदायको प्रत्येक घर धुरीबाट चन्दा संकलन तथा तिहारमा देउसी भैलो खेली रकम संकलन गर्न तम्सीए ।

जग्गा प्राप्ति पछि भवन निर्माण गरिदीन जन स्वास्थ्य कार्यालय लगायत अन्य गैर सरकारी संघ संस्थामा प्रस्ताव पेस गरेका थिए । भवनको अभाव रहेकोले तुरुन्तै समस्याको सम्बोधन गरि दिने दाताको खोजिमा थिए । आग्रा गाबिसमा प्लान नेपाल भन्ने गैर सरकारी संस्थाको कार्य क्षेत्र पर्दथ्यो । सोही संस्थाले आग्रा स्वास्थ्य चौकीको बर्थिङ सेन्टरको भवन निर्माण गर्ने प्रस्ताव स्वीकार ग¥यो । त्यसपछि प्लान नेपाल र संसदीय क्षेत्र विकास कोषको आर्थिक सहयोग तथा स्थानीय जनसमुदायको श्रमदान बाट ४ वटा कोठा सहितको भूकम्प प्रतिरोधी भवन निर्माण भयो ।   

यस अवधिमा सुरेन्द्र ठाकुरको मागलाई सम्बोधन गरि जिल्ला जन स्वास्थ्य कार्यालय मकवानपुरले थप २ जना (१ जना अ.हे.व. र १ जना अ.न.मी.) स्थायी कर्मचारी पठाइसकेको थियो । तर ३ जना कर्मचारीबाट मात्र बर्थिङ सेन्टर सहितको सेवा प्रवाहमा समस्या हुने देखेर तत्कालीन गा.बि.स. को सहयोगमा १ जना अनमी र १ जना कार्यालय सहयोगी नियुक्त गरि ५ जना कर्मचारी सहित बर्थिङ सेन्टर लगायतको स्वास्थ्य सेवा सुरु गरेका थिए । 



गा.बि.स. बाट तलब खाने गरे कर्मचारी नियुक्ति गर्न निकै कठिनाइ व्यहोरेको उनको अनुभव छ । उनले सुरुवाती दिनमा कर्मचारी ब्यवस्थापनमा निकै चुनौतीको सामना गरेका थिए । भनिन्छ, ब्यवस्थापक राम्रो भयो भने हरेक समस्याको समाधान हुन्छ । ठाकुरले स्वास्थ्य चौकी इन्चार्ज साथै एक कुशल ब्यवस्थापकको जिम्मेवारी निर्वाह गरेकाले नै  स्वास्थ्य चौकीको अवस्था सुदृढ भएको स्थानीयहरु बताँउछन् । 

ठाकुर भन्दछन्,  ‘स्वास्थ्य चौकीमा बिद्युत मिटर जडान हुँदा होस वा भ्याक्सीन सुरक्षित राख्न फ्रिज, टेबल, कुर्सि, दराज लगायत कार्यालयको स–साना भौतिक सामाग्रीको प्राप्ति हुँदा पनि मलाइ निकै खुसी र आनन्दको अनुभूति हुन्थ्यो ।’

भौगोलिक रुपले बिकट ठाँउ, त्यो बेला सडक सञ्जाल भर्खर पुग्न लागेको तर नियमित रुटको गाडी नभएकोले पालुंङबाट ४ घण्टा पैदल हिडेर स्वास्थ्य संस्था पुग्नुपथ्र्यो । गाडी पाईहाले पनि मालवाहक ट्रक, तरकारी बोक्ने ट्रक वा इट्टा बोक्ने ट्रकमा यात्रा गर्नु पर्दथ्यो ।  उनी उमेरमा सानै थिए । त्यसैले गाउका स्वास्थ्यकर्र्मी भएर होला, यात्राका दौरानमा मालवाहक ट्रकका गुरुज हरुले निकै माया र सम्मान दिन्थे ।  अहिले गाउ भरि सडक पुगेको छ र स्वास्थ्य संस्था सम्मै रुटको गाडी जान्छ । यो सबै प्रगती देख्दा उनलाई साह्रै रमाइलो र खुसी लाग्छ रे ।

हाल सुरेन्द्र ठाकुर सखुअवा स्वास्थ्य चौकी रौतहटमा हे.अ. पदमा कार्यरत छन् । उनले २०७१ साल मंसिर २१ गते मकवानपुर जिल्लाको आग्रा उप–स्वास्थ्य चौकीमा अ.हे.व. पदमा उप–स्वास्थ्य चौकी प्रमुखको जिम्मेवारी सहित काम काज गर्न सुरु गरेका थिए । पछि सो उप–स्वास्थ्य चौकी २०७२ सालमा स्वास्थ्य चौकीमा स्तर उन्नति हुँदा पनि स्वास्थ्य चौकी प्रमुखकै जिम्मेवारीमा लगातार ४ वर्ष सेवा गरे ।  उनी २०७४ कार्तिक १० गते लोक सेवा आयोग बाट हे.अ.  पदमा रौतहट जिल्ललामा सिफारिस भए ।

अहिले आग्रा स्वास्थ्य चौकीमा झन् धेरै सुबिधायुक्त भवन थपिएको छ । नव निर्मित भवनको उद्घाटन कार्यक्रमको अवसरमा सरुवा भएको पाँच बर्ष पछि पनि प्रशंसा पत्र पाउँदा  उनी सार्है खुशी छन् । 

उनले आग्रा स्वास्थ्य चौकीमा गरेको सेवा कदर गर्दै स्थानीय द्वारा, सरुवा भएको ५ बर्ष पछि २०७८ मंसिर ४ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री बिरोध खतिवडाबाट नव निर्मित भवन उद्घाटन समारोहको अवसरमा उनलाई प्रशंसा पत्र दिइयो । 



च्वाइस नेपाल तथा थाहा नगरपालिका लगायतको आर्थिक सहयोगमा रु. १ करोड ५० लाखको लगानीमा नेपाल सरकारको भूकम्प प्रतिरोधी मापदण्ड बमोजिमको स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । अहिले त्यहाँ रगत, दिसा, पिसाब आदिको जाँच पडताल, बर्थिङ सेन्टर,  बिरामीले बिश्राम गर्ने प्रतीक्षालय सहितको गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह भइरहेको छ । 

स्वास्थ्य चौकी ब्यवस्थापन समिति र स्थानीय जनसमुदायको सहयोगबाट नै आज नमूना स्वास्थ्य चौकी बनेको छ । निकट भविष्यमा एक्सरे र युएसजी सहितको सेवा यस स्वास्थ्य चौकी बाट प्रदान गर्ने योजना रहेको भनाई अहिलेका स्वास्थ्य चौकी प्रमुख लबबहादुर थापाको रहेको छ ।

 अहिले स्वास्थ्य चौकिबाट प्रवाह हुने सेवा झन् राम्रो भएको छ । हालको अवस्था सम्म आइपुग्दा सम्पुर्ण जनसमुदायको सहयोग र सद्भाव रह्यो भने नमूना स्वास्थ्य चौकी बन्दो रहेछ भन्ने उदाहरण आग्रा स्वास्थ्य चौकी हो । यसका लागि जग बसाल्ने सुरेन्द्र ठाकुरलाई आम आग्रेलीहरुले युगौं युग सम्म सम्झि रहनेछन् । 


1 comments

Write Down Your Responses