Powered by Blogger.
अध्यक्षले अवरोध गर्दा खानेपानी योजनाको १० लाख बजेट ‘फ्रिज’ हुँदै



मकवानपुर । बागमती प्रदेश सरकारले खानेपानी योजनाका लागि छुट्याइदिएको १० लाख बजेट वडा अध्यक्षले कुदृष्टि राख्दा फ्रिज हुने संभावना बढेको छ ।

उत्तरी मकवानपुरको इन्द्रसरोवर गाँउपालिका वडा नं ३ का अध्यक्ष प्रताप भोम्जनले गाँउले सबै भेला भएर बनाइएको उपभोक्ता समितिलाई काम गर्न रोकेर उक्त बजेट नै फ्रिज गर्न खोजेको स्थानीयले आरोप लगाएका छन् । 

भोम्जन नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्ष हुन् भने उपभोक्ता समितिका अध्यक्ष  प्रेम पाख्रिन(राजेश)  नेकपा एकिकृत समाजवादीका इन्द्रसरोवर गाँउपालिकका उपाध्यक्ष हुन् । 

पाख्रिन काँग्रेस समाजवादी गठवन्धनबाट वडा सदस्यका उमेद्वार समेत बनेका थिए । नेकपा एसका मन्त्री विरोध खतिवडा, सचेतक मुनु सिग्देल, निवर्तमान गाँउपालिका अध्यक्ष जीवन लामा लगायतको पहलमा खानेपानीको व्यापक अभाव रहेको बल्छी भन्ज्याङ–छुरी गाँउ तथा वनटोल सोलर लिफ्ट खानेपानी योजना प्रदेशको योजनामा पारी यो वर्षका लागि १० लाख बजेट छुट्टिएको थियो । 

यो योजनाको काम यसै हप्ता सुरु नगरे सम्पन्न गर्न गाह्रो हुन्छ र बजेट फ्रिज हुने संभावना रहन्छ । त्यसैले ३ नं वडाका निवर्तमान अध्यक्ष चिरन्जीवी पौडेल, हालका वडा सदस्य बुद्धिराम डिम्डुङ लगायतको पहलमा भेला गरी उपभोक्ता समिति, अनुगमन समिति बनाई जेठ २५ गतेबाट नै पहल थालिएको थियो । 

निर्वाचित वडा सदस्य बुद्धिराम डिम्डुङ सहितको उपस्थितिमा भएको भेलाले गरेको आधिकारिक निर्णय नै कार्यान्वयनमा अध्यक्ष भोम्जनले अवरोध गरेपछि नेकपा एमाले फाखेलभित्र पनि निक्कै विवाद भएको बताइन्छ । 

जव वडा  कार्यालयमा उपभोक्ता समितिका अध्यक्ष  प्रेम पाख्रिन(राजेश)  जिल्लामा आयोजना सम्झौता गर्नका लागि सिफारिश पत्र लिन पुगे, तव वडा अध्यक्ष भोम्जनले राजनीतिक पुर्वाग्रहका आधारमा सिफारिश पत्र रोकेर अल्यल्याउने काम गरेको स्थानीयको आरोप छ । 

उनले उपभोक्ता समितिका अध्यक्ष पाख्रिनलाई ‘बसाँइ सरेर गएको मान्छेलाई अध्यक्ष बनाउन नमिल्ने भएकाले शिफारिश रोकेको’ भन्ने तर्क दिएपनि उक्त तर्क नभई कुतर्क भएको बताइन्छ । 

अध्यक्ष भोम्जनले बसाँइ सरेको भए आफ्नो वडामा वैशाख ३० गते सम्पन्न भएको निर्वाचनमा सदस्यको उमेद्वार कसरी पाख्रिन बन्न सफल भए भन्ने सामान्य कुराको समेत हेक्का नराखेको भन्दै स्थानीय जनता उनीप्रति आक्रोशित छन् । 

यसपटक देखि घरमै खानेपानी लिन सहज हुन्छ भनेर गाँउलेहरु उत्साही भैरहेको बेला अध्यक्ष भोम्जनले विकासको योजनामा राजनीतिक पुर्वाग्रहको व्यवहार प्रदर्शन गरेपछि उनलाई यसको मुल्य महंगो पर्ने एक स्थानीय युवाले बताए । 

‘जनताको नाममा आएको बजेट अध्यक्षको लाचारीले फिर्ता भयो भने त्यसको जिम्मा उनैले लिनुपर्ने र स्थानीयले त्यस्ता वडा अध्यक्षलाई सामाजिक वहिष्कार गर्ने योजना रहेको ति युवाले जानकारी दिए । 

स्मरणीय छ, वडा अध्यक्ष भोम्जन भने विगतमा करिव १५ वर्षदेखि आफु लगातार अध्यक्ष रहेको  रामचन्द्र भन्ज्याङ खानेपानी योजनाकोे हिसाव किताव अझै पारदर्शी ढंगले सार्वजनिक गर्न सकेका छैनन् । 










0 comments

Write Down Your Responses