Powered by Blogger.
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल दक्षिण सुडान प्रस्थान


काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल मेडल परेडमा भाग लिन सोमबार अफ्रिकी मुलुक दक्षिण सुडानतर्फ प्रस्थान गर्नुभएको छ । जहाँ सशस्त्र प्रहरी बल नेपालको फम्र्ड पुलिस युनिट (एफपीयु) तैनाथ छ ।

        मेडल परेडको साथसाथै सशस्त्र प्रहरी बल नेपालको थप मिसन तैनाथी तथा अहिलेको मिसनमा जनशक्ति थप गर्ने विषयमा समेत महानिरीक्षक अर्यालले संयुक्त राष्ट्र संघका प्रतिनिधिहरुसँग भेटवार्ता र छलफल गर्नुहुने छ ।

        सन् २००३ बाट सशस्त्र प्रहरी बल यूएन मिसन अन्तर्गत पहिलो पटक लाईवेरियामा खटिएको थियो । सो मिसन सन् २०१६ मा बन्द भएको हो । त्यसअघि दक्षिण सुडानको जुवामा सन् २०१४ मा सशस्त्र प्रहरी बल नेपाललाई थप मिसन प्राप्त भएको थियो । 

सो मिसनको पहिलो कमाण्डरको रुपमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दर्जामा रहँदा कमाण्ड सम्हाल्नु भएको थियो । सो मिसनमा हाल १ सय ८० जना सशस्त्र प्रहरी कर्मचारी कार्यरत छन् ।

        सन् २०१६ मा दक्षिण सुडानकै दोश्रो एफपीयु मिसनको रुपमा बोर र वाउमा १ सय ४० जनाको टोली तैनाथ रहेकोमा सन् २०२१ मा सो मिसन समेत बन्द भएको छ ।

        पछिल्लो पटक सशस्त्र प्रहरी बल नेपालको तर्फबाट अफ्रिकी मुलुक माली मिसनको लागि १ सय ४० जनाको टोली तयारी हालतमा राखिएको छ भने सो टोली निकट भविष्यमा त्यसतर्फ प्रस्थान गर्ने छ ।

        सोमबार दक्षिण सुडानतर्फ प्रस्थान गर्नुभएका महानिरीक्षक अर्याललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल लगायत बलका बरिष्ठ अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हार्दिक विदाई गर्नुभयो ।

        सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको अनुपस्थितीमा संगठनको नेतृत्व सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले सम्हाल्नु हुनेछ ।




0 comments

Write Down Your Responses