Powered by Blogger.
प्रचण्डले राष्ट्रिय सहमति गर्नु कदापि गलत होइनः रामनारायण बिडारी



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता तथा संविधानसभा सदस्य रामनारायण बिडारीले आफ्नो पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाललाई अस्थिर भनेर लगाईएको आरोपको खण्डन गरेका छन् । 

उनले नेपालको संसद्को बनोटअनुसार सहमति र सहकार्यको राजनीति अघि बढाउनुपर्ने बाध्यतालाई प्रचण्डले आत्मसात् गरेको र सोहीअनुसार भूमिका निर्वाह गरेको दाबी गरे ।  रिपोर्टस क्लव नेपालले आइतबार आयोजना गरेको साक्षात्कारमा उनले यस्तो दावी गरेका हुन् । 

राष्ट्रपतिको निर्वाचनमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई सहयोग गर्ने पार्टीको निर्णय राष्ट्रिय हित र जनमतअनुसार रहेको भन्दै उनले उक्त निर्णयको स्वागत गरे । 

उनले सुरुवातमै सुनाए–‘वास्तवमा कोही हाम्रा होईनन, हामी कसैका होईनौं । हामी सत्य र ठीकका । सत्य र ठीक हाम्रो, यो अनुसार राजनीति चल्छ ? यो गाह«ो छ । यो त राजनीतिभन्दा परको विषय हो । राजनीति अहिलेको परिस्थितिअनुसार हुन्छ । प्रचण्ड कांग्रेससँग सहमति नभएपछि प्रधानमन्त्री नेपालमा खाली हुन्थ्यो ? हुँदैनथियो । अर्को प्रधानमन्त्री हुन्थ्यो । जसरी प्रचण्ड प्रधानमन्त्री हुनुभयो, त्यसैगरि अर्को व्यक्ति हुन्थ्यो ।’



उनले तत्कालिन नेकपा विघटन नगरेको भए अहिले नेपालको राजनीति अर्कै दिशामा पुगेको हुनेथियो भन्ने टिप्पणी गरे । उनले भने,‘प्रतिनिधिसभा विघटन गर्नु यो देशको निम्ति अभिषाप थियो । अझै केपी ओलीले मैले गरेको ठीक छ भनेर हिँड्ने काम भयो, प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय सहमति चाहियो भन्ने कुरा गर्नु गलत हो ? ओलीजी एक्लै बनाउनुहुन्छ त ? झगडा कहाँबाट सुरु भयो भन्दा–जनयुद्ध दिवस सर्वसम्मत् पारित भयो । उहाँले पर्सीपल्ट अपराध दिवस हुनुपर्दथ्यो त्यो कताबाट जनयुद्ध दिवस भयो भनेर भन्नुभयो । एमालेपनि क्याविनेटमा छ है । अनि अस्थिर त केपी ओली हो नि । संसद् विघटन ठीक छ भनेर बोल्ने ? कहिले राजावादीसँग मिल्ने । अस्थिर प्रचण्ड होईन, ओली हो ।’

उनले नेपालको इतिहासमा संसद्मा ९९ प्रतिशत विश्वासको मत पाउने प्रचण्ड पहिलो प्रधानमन्त्री भएको पनि स्मरण गराए । उनले अहिलेको संसद्मा नेपाली कांग्रेस ठूलो दल भएकोले उसलाई पनि साथमै लिएर जान खोज्नु गलत नभएको दाबी गरे । उनले भने,‘कांग्रेसलाई इग्नोर गरेर राष्ट्रिय सहमति हुँदैन् । राष्ट्रिय सहमति गर्नु भनेको के गलत हो ?’



बिडारीले अहिलेको संसद् पूरै कार्यकाल चल्ने सुनिश्चित्ता भएको उल्लेख गरे । उनले भने,‘संसद् र सरकार दुवै पाँच वर्ष गरेर बिताउँ भनेको हो । प्रधानमन्त्री फेरिएला । तर संसद्ले सरकार पाँच वर्ष नै चल्नुपर्छ । बीचमै चुनाव गर्न पाईन्नँ । नेपाली जनताको अवस्था नाजुक छ । सभामुख एमालेलाई, प्रधानमन्त्री माओवादी केन्द्र अनि राष्ट्रपति कांग्रेसलाई भन्दा के नराम्रो भयो ? सबै मिलेर जानुपर्छ । सहमति गरेर जानुपर्छ । बरु उच्चस्तरीय संविधान सुधार समिति वा आयोग गठन गर्नुपर्छ ।’

 नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मिनबहादुर विश्वकर्माले आफ्नो दलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई कुनैपनि हालतमा धोका नदिने स्पष्ट पारेका छन् । उनले प्रधानमन्त्री दाहालले विश्वासको मत लिँदा दुई तिहाई बहुमत पुर्याउने आफूहरुको तयारी रहेको पनि सुनाए । फागुन २५ गते कांग्रेसले राष्ट्रपति पाएपछि ठूलो दलको हिसाबले कांग्रेसले सरकारको नेतृत्व गर्नसक्ने पनि चर्चा भएको छ भन्ने प्रश्नमा विश्वकर्माले भने–‘विगतमा अप्रत्यासित कुरा भएका हुन् । प्रधानमन्त्री प्रचण्डज्यूको अभिव्यक्तिमा राष्ट्रिय सहमति हुन्छ भन्ने कुरा नै मैले बुझेको छु, उहाँको चाहना भनेको संविधान र व्यवस्था बचाउने हो, त्यो गठबन्धनको पनि चाहना हो । अहिले यही आधारमा अघि बढ्छौं । कांग्रेसले प्रचण्डलाई धोका दिने ठाउँ कहीपनि छैन् । विश्वास नै नहुँदा त विश्वासको मत दियौं भने विश्वासको यात्रा सुरु भएको छ, अब आठ दलको मत हुन्छ । दुई तिहाईको विश्वास अघि पुर्याउने पक्षमा छौं ।’



क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनपछि नै सरकारको स्वरुप निर्धारण हुने सुझाए । उनले भने,‘फागुन २५ गतेको राष्ट्रपतिको लागि हुने मतदानको प्रकृतिअनुसार सरकारको स्वरुप निर्धारण हुन्छ । प्रधानमन्त्रीले राष्ट्रिय सहमति गराउँछु भन्नुभएको छ । राष्ट्रिय सहमतिको समय अझै छ । सहमति भएन भने सरकार बनाउने कुरा र भत्काउने कुरा त चलिरहन्छ । यो कुरा अघि एमालेका साथी माधवजीले पनि भन्नुभएको छ, म भन्छु बरु यही सरकारलाई राष्ट्रिय सहमतिको सरकार बनाऔं ।’

उनले नेपालको राजनीति चुनावअघि र पछि फर्केर हेर्नुपर्ने पनि बताए । उनले भने–‘प्रधानमन्त्री प्रचण्डजीले भनेपछि कांग्रेसले विश्वासको मत दिएको थियो । हामीले त मत नै दिएको हो नि, विश्वासको मत किन नदिने ?, त्यही भएर मत दियौं । उहाँले त्यही विश्वासको मतको जगमा बसेर राष्ट्रिय सहमति बनाउने प्रयास गर्नुभयो । यो स्वभाविक थियो । राष्ट्रिय सहमति कायम गर्ने कुरा अब फागुन २५ गतेसम्म एमालेको खुट्टामा बल छ । निर्वाचनमा शैक्षिक योग्यता र आफ्नो पार्टीको विशेषता भन्दापनि टाउको गनिन्छ । लोकसेवाले परीक्षा लिने हो भने सुवास नेम्वाङ पास हुनुहोला । तर, राजनीतिक परीक्षामा रामचन्द्र पौडेल नै पास हुनुहुन्छ । सुवास नेम्वाङको उम्मेदवारी फिर्ता गराएर राष्ट्रिय सहमतिको कुरा गरौं । रामचन्द्र पौडेललाई निर्विरोध राष्ट्रपति बनाउनुपर्छ । प्रतिष्पर्धा गर्ने हो कुनै दल प्रतिपक्षमा बस्नुपर्छ ।’

नेकपा (एमाले) का नेता माधवप्रसाद ढुंगेलले अहिलेको संसद्मा भएको प्रतिनिधित्वले राजनीतिलाई स्थिरता नदिने बताएका छन् । उनले राष्ट्रपतिमा पार्टीले अघि सारेको उम्मेदवार सुवासचन्द्र नेम्वाङ योग्य र सक्षम भएकोले निर्वाचित हुने विश्वास दिलाए । उनले फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा चमत्कार हुने पनि दाबी गरे । 



ढुंगेलले आफूहरुले राष्ट्रपतिमा नेम्वाङको विजय नजिकैबाट हेरिरहेको पनि जिकिर गरे । उनले भने,‘राष्ट्रपतिको निर्वाचनमा हामीले अघि सारेको पात्र सुवास नेम्वाङ योग्य र सक्षम पात्र हो । उहाँ संविधानसभामा सबैभन्दा राम्रो भूमिका खेलेको, मध्यस्थतापनि गर्नसक्ने, संयोजन पनि गर्नसक्ने व्यक्ति हो । एमालेले सिंगो देशको साझा व्यक्तिको रुपमा आफूलाई खडा गर्नसक्ने, त्यो योग्यता प्राप्त गरेको र व्यवहारले प्रमाणित गरेको सुवास नेम्वाङलाई अघि सारेको हो । जनमत परिक्षण गर्नुभयो भने जनमतसंग्रह गर्ने हो भने सुवास नेम्वाङको ९० प्रतिशत मत आउँछ भन्ने कुरा मलाई विश्वास छ । त्यो व्यक्तित्व एमालेले अघि सारेको छ । यो कुनै ह्विप लाग्ने चुनाव होईन । सबैको मत रहनसक्छ। फागुन २५ गते एउटा नयाँ चमत्कारका साथ उहाँ विजयी हुनुहुन्छ । नेपाली जनताले आदिवासी जनजातिबाट एकपटक राष्ट्रपति भएको हेर्न चाहेका छन् । सबै हिसाबले उहाँ योग्य पात्र हो । हामीले त नेम्वाङको विजय नजिकैबाट हेरिरहेका छौं ।’

उनले समाजवादी मोर्चा बनाएपनि वा पाँच÷दश वटा दल एकै बनाएपनि देशमा कम्युनिष्ट आन्दोलनको केन्द्र एमाले हो भन्ने कुरामा कुनै कन्फ्युजन छ र ?भन्दै प्रश्न गरे । उनले बरु अहिले बिग्रिएको राजनीतिलाई सही ट्रयाकमा ल्याउनुपर्नेमा जोड दिए । 

उनले अहिले कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी, नेकपा (एकीकृत समाजवादी) लगायतको आठ दलको गठबन्धन बनेकोतर्फ ईंगित गर्दै राष्ट्रपतिको निर्वाचनअघि नै उक्त गठबन्धन भत्काउने आफूहरु लागिपर्ने उद्घोष गरे । उनले भने,‘अब नयाँ सहमति÷सम्झौता एक हप्ता वा दश दिनभित्र के–के हुन्छ ? त्यो हेरौं, एमाले गठबन्धन भत्काउँछ । आफ्नो अगुवाईमा नयाँ सरकार बनाउँछ । आफ्नो अगुवाईमा बन्न सकेन भने अरु कसैलाई अघि बढाउँछ । हामीले राजनीतिको शुद्धिकरण चाहेका छौं । कमरेड प्रचण्डको भूमिकाले राजनीतिलाई दुषित बनाएको छ । १० दिनभित्र यो आठ दलीय गठबन्धन कायम हुँदैन् । राष्ट्रपतिको निर्वाचनमा भोटरले ह्वीप मान्दैनन् । गोप्य मतदान योग्य उम्मेदवार नेम्वाङको पक्षमा हुन्छ ।’

जनता समाजवादी पार्टी, नेपालका वरिष्ठ नेता एवम् पूर्वमन्त्री राजेन्द्र श्रेष्ठले नेपालमा वैचारिक एवम् सैद्धान्तिक राजनीतिले एउटा गोरेटो लिनैपर्ने बताएका छन् । उनले भने,‘नेपालको राजनीतिमा सबैभन्दा दुःखद् कुरा अवसर र फाईदाको राजनीति धेरै हुँदै गयो । निर्वाचन अघि र पछि समिकरण फेरबदल हुने प्रक्रिया भए । वैचारिक र राजनीतिक रुपमा कसरी अघि बढ्नुपर्छ भन्ने बहस अझै जारी छ । लोकतन्त्रको आन्दोलन समय समयमा धरापमा पर्ने गरेको छ । ००७ सालमा आन्दोलन भयो, ०१७ मा धरापमा पर्यो । नेपालमा वैचारिक एवम् सैद्धान्तिक राजनीतिले एउटा गोरेटो लिनैपर्छ ।’



उनले निर्वाचनअघिको पाँच दलीय गठबन्धन भत्किनै लाग्दापनि आफू उक्त गठबन्धन जोगाउनुपर्ने पक्षमा उभिएको र त्यसको लागि निकै धेरै प्रयत्न गरेको स्मरण गराए । उनले भने,‘जुनबेला पाँच दलीय गठबन्धन भत्किँदै थियो, त्यो बेलामा पनि मैले गठबन्धनको सचिवालयको प्रतिनिधिको नाताले त्यो जोगाउनको लागि धेरै प्रयत्न गरेको थिएँ । उम्मेदवारी दर्ताको दिन पनि मैले पाँच दलीय गठबन्धनको अझै आवश्यकत्ता छ भनेर भनेको थिएँ । मैले नेपालमा राष्ट्रिय स्वाधिनता, संघीय लोकतान्त्रिक गणतन्त्र, सुशासन र सदाचार र गणतान्त्रमक व्यवस्था अझै सुदृढ गर्दै कार्यान्वयन गर्दै उपलब्धि हाासिल गर्ने अनि अपूर्णतालाई पूर्णता दिने, यो काम पूरा गर्नुपर्छ भनेको छु । पाँच दलीय गठबन्धन अघि बढाउने कुरामा म दृढतापूर्वक उभिएको थिएँ । भत्किएको बेलामा पनि म एक्लै उभिएको हुँ । अहिले पूरानो गठबन्धनकै जगमा उभिएर नयाँ समिकरण बनेको छ । पाँच दलको गठबन्धनको साझा न्यूनतम कार्यक्रम मैले पनि मस्यौदा गरेको थिएँ । त्यही मान्यतामा उभिएर अब अघि बढ्नुपर्छ ।’

संघीयता, धर्मनिरपेक्षता, संविधान र लोकतन्त्र जोगाएर जानको लागि सबैले गम्भीर भएर आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा उनको जोड थियो । उनले भने,‘राष्ट्रपतिको निर्वाचन सँगसँगै नयाँ समिकरणमा अघि बढ्ने कुरा भएको छ । नेपालको राजनीतिलाई परिवर्तनको दिशामा अघि बढाउने कुरा भएको छ । त्यसको लागि नेकपा (माओवादी केन्द्र), जनता समाजावदी र एकीकृत समाजवादीबीच समाजवादी मोर्चाको पनि घोषणा हुँदैछ । हामी गृहकार्यमा छौं । तीन दलको समाजवादी मोर्चासँगसँगै, आठ दलको मोर्चा बनेको छ । अहिले यो सहकार्य राष्ट्रपतिको निर्वाचनसम्म सिमित छ । 

नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री सोमप्रसाद पाण्डेले अहिले राष्ट्रपतिको निर्वाचनलाई लिएर बनेको आठ दलीय गठबन्धन लामो समयसम्म जाने दाबी गरेका छन् । राष्ट्रपतिको निर्वाचनमा पार्टीले कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई प्रस्ताव र समर्थन गरिसकेकोले त्यसबाट दायाँबायाँ नहुने पनि उनको स्पष्टोक्ति थियो । 



पाण्डेले अहिले राजनीतिमा छिनछिनमै परिस्थिति परिवर्तन भएको उल्लेख गरे । उनले भने,‘यो घट्नाक्रमले यस्तो अवस्था सिर्जना गरेको छ । अरुले होइन । जनतामा केही दोष छैन् । हामी दलका कारण यो भएको छ । गठबन्धनको कुरा छ, हामीले विगतमा स्थानीय तह र संघ रप्रदेशको निर्वाचनमा गठबन्धन गरेको हो । यो आवश्यकत्ताले गरेको हो । गठबन्धनभित्र इमानदारिता रहेन । त्यो नहुँदा हाम्रो २०÷२५ सिट कम भयो, त्यही भएर अहिले तानातानको अवस्था छ । कमजोरी त हामीबाट पनि भएकै हो । यो मुलुकमा संसदको जुनखालको बनावट छ, यसले के देखाउँछ भने राष्ट्रिय सहमतिमा जानैपर्छ भन्ने देखाएको छ ।’

राष्ट्रपतिको निर्वाचन राष्ट्रिय सहमति भएको भए राम्रो हुन्थ्यो भन्ने पाण्डेको भनाई छ । उनले भने,‘यो गठबन्धन लामो समयसम्म जान्छ । यसमा कुनैखालको द्धिविधा नराखे हुन्छ । एमालेबाट माधव नेपाललाई राष्ट्रपतिको प्रस्ताव आएकै हो । तर, समयमा आएन । अन्तिम अवस्थामा केही–केही नेताले चर्चा गरेको हो । एमालेको तर्फबाट लिखित प्रस्ताव आएको होइन । हामी त यता राष्ट्रपतिको निर्वाचन गर्ने अन्तिम टुँगोमा पुगेका थियौं । अब सबै गठबन्धनअनुसार अघि बढ्नुहुन्छ । पार्टीले ह्विप जारी गर्छ । त्यसमा तलमाथि हुँदैन् ।’


0 comments

Write Down Your Responses