Powered by Blogger.
मकवानपुरे समाजद्धारा वृहत वनभोज कार्यक्रम सम्पन्न


काठमाडौं । मकवानपुरे समाज, काठमाडौद्धारा आयोजना गरिएको वृहत वनभोज कार्यक्रम २०७९  भव्य ढंगले समापन भएको छ । 

असहायहरुको स्वास्थ्य र शिक्षाका लागि सहयोगार्थ तथा मकवानपुरेहरु वीच भाईचारा अभिवृद्धिका लागि मिति २०७९ माघ २८ शनिवारका दिन आयोजना गरिएको थियो । 

काठमाडौ उपत्यकामा विभिन्न पेशा व्यवसाय, अध्ययन तथा आ–आफ्ना उद्धेश्य प्राप्तिका लागि बसोबास गरिरहेका मकवानपुरेहरुलाई एकिकृत गर्दै भाईचारामा अभिवृद्धि गरि आफ्नो भूगोलमा सामाजिक उत्तरदायित्व पुरा गर्ने हेतुले  समाज संगठित भएको थियो । 

वृहत वनभोज कार्यक्रम २०७९ मा प्रमुख अतिथि उर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री दिपक बहादुुर सिंह, विशेष अतिथि सांसद महेश वर्तौला, वरिष्ठ अधिवक्ता तथा संविधानसभा सदस्य रामनारायण विडारी, निर्माण व्यवसायी महासंघका पुर्व अध्यक्ष जयराम लामिछाने, वरिष्ठ चार्टर एकाउन्टेट तथा पालुङ बहुउद्धेश्यीय सहकारी संस्था लि.का अध्यक्ष उमेशप्रसाद ढकाल, वरिष्ठ कलाकार शिवहरी पौडेल लगायतका मकवानपुरेहरुको उल्लेख्य उपस्थिती रहेको थियो भने कार्यक्रमको सभापतित्व समाजका अध्यक्ष अरुण कुमार गुरुङले गर्नु भएको थियो । 

कार्यक्रममा अध्यक्ष गुरुङले सम्पुर्ण मकवानपुरेलाई वृहत वनभोज कार्यक्रममा स्वागत गर्दै समाजको बारे जानकारी दिनुभयो । 

प्रमुख अतिथि माननिय उर्जा, जलस्रोत तथा सिंचाई राज्यमन्त्री दिपक बहादुुर सिंहले वनभोज कार्यक्रम तथा समाजको हरेक कार्यक्रमको सफलताको कामना गर्नुहुँदै, वृहत वनभोज आयोजना गरि मकवानपुरेलाई वृहत रुपमा एकिकृत तथा भेला गरेकामा धन्यवाद ज्ञापन गर्नुभयो र भावी दिनमा समाजको हरेक क्रियाकलाप तथा कार्यक्रमहरुमा साथ दिने वाचा दिनुभयो । 


वृहत भेलाले मकवानपुरेहरु बीच सहकार्य र भातृत्व विकास गर्दै सामाजिक कार्यमा समेत लागिपरेकोमा आयोजकलाई धन्यवाद दिंदै विशेष अतिथि बर्तौलाले सदैव मकवानपुरेको हितको लागि आफ्नो साथ सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

वनभोज कार्यक्रममा सल्लाहकारहरुको पदस्थापना, मानार्थ सदस्यता र आजीवन सदस्यता वितरण गरियो । साथै आर्थिक सहयोग गर्ने संघसंस्था तथा ब्यक्तित्वहरुलाई पनि सम्मान गरियो । सल्लाहकारहरुको लागि समाजसेवी विश्व क्रान्ति सिंह, मानु मल्ल, नरेन्द्र महर्जन, विद्युत बज्राचार्य, डा. रामहरि लामिछाने लगायतलाई समाजको सल्लाहकार पद मा पदस्थापना गरियो । 

यसैगरी समाजको निर्धारित उद्धेश्य सफल बनाउनका लागि आर्थिक सहयोग गर्नुहुने एस जी ग्रुप का अध्यक्ष शिव प्रसाद घिमिरे,  रुवी रेड रिसोर्ट प्रा.लि., एरो फर्मासेटिकल्स प्रा.लि., सुट ल्याण्ड प्रा.लि., सिद्धान्त गुरुङ, पुर्णबाबु श्रेष्ठ तथा पुजा श्रेष्ठ, हरिशंकर शाह, मनोज श्रेष्ठ भँडेल, नारायण खाती, राजेश कार्की लगायतलाई सम्मान गरिएको थियो । 

वृहत वनभोज कार्यक्रममा मनोरञ्जनका लागि सांगितिक प्रस्तुती तथा मनोरञ्जनात्मक खेलको व्यवस्था गरिएको थियो । मकवानपुरे वरिष्ठ कलाकार शिवहरी पौडेलद्धारा उपस्थित मकवानपुरेहरुलाई मनोरञ्जनात्मक प्रस्तुति दिनु भयो भने मकवानपुरे गायक गायिकाहरुद्धारा कार्यक्रममा उपस्थित संगित प्रेमीहरुलाई सांगितिक माहेल श्रृजना गरिदिनु भयो । 


यसै गरि मनोञ्जनात्मक खेलहरुमा बालवालिका, महिला तथा पुरुषको विभिन्न समुहहरुमा म्युजिकल चेयर, टग अफ वार, बिङ्गो र घैंटो फुटाउने खेलहरुको आयोजना पनि गरिएको थियो भने विजेताहरुलाई पुरस्कृत पनि गरिएको थियो । 

यसै कार्यक्रमको अवसरमा सुट ल्याण्ड प्रा.लि.द्धारा नेपालमै निर्मित सुटरकोटहरुको विक्रि स्टल पनि राखिएको थियो र समाजको उद्धेश्य पुरा गर्नका लागि विक्री भएको सुटरकोटहरुबाट यस संस्थाबाट आर्थिक सहयोग पनि प्रदान गर्नुभएको थियो ।

उल्लेख्य मकवानपुरेहरुको उपस्थिती रहेको वृहत वनभोज कार्यक्रम, समग्रमा सफलरुपमा समापन भएको र आफ्नो निर्धारित उद्धेश्य अनुरुप नै आगामी कार्यक्रमहरु पुरा गर्दै अगाडी बढ्ने जानकारी वृहत वनभोज  कार्यक्रमका संयोजक विजय विक्रम श्रेष्ठले दिनुभयो । 

श्रेष्ठले उपस्थित मकवानपुरेहरुलाई साथ र सहयोगको लागि हार्दिक आभार पनि व्यक्त गर्नुभयो ।




0 comments

Write Down Your Responses