शन्तराम बिडारी
‘०५६ सालमा गाँउबाट पत्रकारिता पढ्न रत्नराज्यलक्ष्मी क्याम्पसको रात्रि कक्षामा भर्ना हुन आँउदा होचो कदको रसिलो–फरासिलो एक मित्रसंग परिचय भयो । ओखलढुङ्गाबाट आएका उनी पनि पढाई खर्चका लागि दिँउसो ‘माइशप’ नामको ड्राइक्लिनर कम्पनीमा काम गर्ने रहेछन् ।
पछि पत्रकारिता पढ्दै मिडीयामा अवसरको खोजी गर्दै जाँदा हामी ‘साप्ताहिक आवाज’ नामको पत्रिकामा संगै जोडियौं । साइडमा केही व्यवसायिक काममा पनि अप्रत्यक्ष संलग्न रहेकाले उनले उक्त पत्रिकाको व्यवस्थापकीय कार्यमा समेत सहयोग पु¥याउने अर्थात केही समय कागज समेत किनिदिने गर्नुभयो । अलि पछि, उक्त पत्रिका बन्द नहुँदै मैले दामन पोष्ट र उहाँले ‘खास खबर’ नामको साप्ताहिक पत्रिका दर्ता गरेर चलाउन थाल्यौं । अहिले ति दुबै पत्रिका निस्कन थालेको नै डेढ दशक अर्थात १५ वर्ष पुगेको छ ।
त्यतीबेला हामी धिम्ले प्रेसमा ति पत्रिका छापेर उनकै मोटरसाइकलमा सबेरै भुगोलपार्क ल्याउने गथ्र्यौ । समयको दौरानमा पत्रकार महासंघको चुनाव बेहोरियो । ‘धेरै पुराना मित्र भएकाले होला, उनले जित्दा म आफैंले र म आफैंले जित्दा उनैले जितेजस्तो अनुभुती’ साट्ने गथ्र्यौ ।
पछिल्लो पटक कोभिडको डरले त्यति भेटघाट हुन पाएको थिएन । तैपनि ३ महिना अघि हुनुपर्छ, त्रिवी पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागले गोदावारीमा पत्रकारिता पाठ्यक्रम परिमार्जन सम्वन्धी आवासीय गोष्ठी गर्दा ‘हामी त उतिबेला देखिको पुरानो साथी पो त, एकै ठाँउमा बसौं हैं राई सर’ भन्दै एउटै टेबुलमा बसेका थियौं ।
त्यसपछि २०६८ माघ १५ गते हुनुपर्छ, एकपटक उनको फोन आएको थियो । ‘एकपटक भेटेर सल्लाह गरौं न’ भन्नुभयो । मैले ‘हुन्छ नी, दिँउसो तिर फोन गरेर रामशाहपथ स्थित स्वास्थ्य मन्त्रालयमा आउनु, अनि त्यही चिया खाएर गफ गरौं’ भनेको थिँए । तर ‘कमल राइजी, अब त्यो दिन कहिल्यै नआउने भयो, एक पारिवारिक कामले आज म उपत्यका बाहिर थिँए ।
भर्खरै घर आइपुग्दा सामाजिक सञ्जालभरी तपाईं प्रति श्रद्धाञ्जलीका शव्द पोखिएको देख्छु । यतिबेला म निशव्द छु । भाव विभोर छु । केही लेख्न सकेको छैन । हात काँपिरहेको छ । केवल २० वर्ष अघिदेखिका यादगर क्षण झलझली ‘फ्लसव्याक’ भैरहेको छ । मेरो परम मित्रलाई आज दैवले चुँडेर लग्यो । अल विदा डियर राइजी । भावपुर्ण श्रद्धाञ्जली । परिवारमा गहिरो समवेदना ।’
प्रिय मित्र कमल राइको सम्झनामा माथि उल्लेखित फेसबुक स्टाटस हात काँपी काँपी लेखेर सार्वजनिक गरेको पनि ठ्याक्कै एक वर्ष पुरा भैसकेछ ।
त्यो २०६८ माघ २० गतेको जुन दिन राइजी निधन भएको खबर डायरी एक्सप्रेस साप्ताहिकका सम्पादक मित्र नारायण शर्माजीबाट सुनें, त्यो दिन म एक पारिवारिक कामको सन्दर्भमा नुवाकोटमा थिँए । फोन पनि त्यति टिप्ने अवस्था थिएन, साथीहरुले धेरै पटक फोन गर्नुभएको रहेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा प्रेस सल्लाहकारको रुपमा रहेकाले पनि हुनसक्छ, उहाँहरुले उपचारको सम्वन्धमा सहजीकरणका लागि आशा गर्नु स्वभाविक हो ।
तर जतिबेला अस्पताल पु¥याइयो त्यो बेला अत्यन्त अन्तिम अवस्था भैसकेकाले खासै केही उपलव्धी दिन वा राइजीलाई सकुशल घर फिर्ता गराउन साथीहरु असफल हुनुभयो । यो दुखद खबरले मन भतभती पोलिरहन्छ । ज्यान भारी भैरहन्छ । र स्मृतिमा २० वर्ष अगाडिका ति दिनहरु झल्झली सम्झना आइरहन्छ ।
कमलजीसंग पहिलो भेट उही रत्नराज्यलक्ष्मी क्याम्पसको रात्री कक्षामा पत्रकारिता विषय लिई आइए तहमा पढ्ने क्रममा २०५६ सालमा भएको हो ।
त्यतीबेलाका साथीहरु जेवी विश्वकर्मा, राजेश चाम्लीङ राई, म लगायत अन्य केही भने अलि नजिकबाट घुलमिल भएका थियौं । आ–आफ्नो गाँउबाट भर्खर एसएलसी पास गरेर भविश्यमा कुशल पत्रकार बन्ने भनेर मिठो अभिलाषा साँचेका हामीहरु सबैमा एउटा नयाँ उमंग थियो ।
सन्दर्भः राईको प्रथम स्मृति दिवश
तर सबैसंग केही न केही काम गर्नु र पढाइ खर्च जुटाउनु पनि आ–आफ्नै बाध्यता थियो । लगभग हामी सबै केही न केही काममा आवद्ध थियौं । दिँउसो काम गरेर पत्रकारिता कक्षाका लागि राती जम्मा हुन्यौं । कमलजी सुकीलो पहिरन र सफाचट भेषमा आउनुहुन्यो । होचो कदमा हँसीला ति व्यक्तिसंग लगभग २२ वर्ष सहकार्य भयो ।
मूलतः कमलजीसंग हाम्रो भेट आरआर क्याम्पसले गरायो । दुबैको उद्देश्य पत्रकारिता पढ्ने र पत्रकार बन्ने भन्ने नै रहेकाले शायद त्यो संगोग जुरेको हो । त्यसो त, एउटै पेशामा लागेको हुनाले ऐन मौकामा घनिष्ठतापुर्वक रहियो भने कहिले काँही भने आआफ्नै काममा अलग अलग व्यस्ततामा पनि रहियो ।
तर पनि पेशा एकै भएकाले हाम्रो निकटता चाहेर वा नचाहेरै पनि भैरहनुपर्ने बाध्यता आइरहन्थ्यो । क्याम्पस पढ्दा, साप्ताहिक आवाज नामको पत्रिकामा संगै काम गर्दा, पत्रकार महासंघमा रहेर पत्रकार र समग्र सञ्चार क्षेत्रको हक हितका लागि काम गर्दा हामी धेरै नजिक रहने मौका मिल्यो ।
कमलजी मैले बुझे र भोगेंसम्म अत्यन्तै सज्जन, इमानदार र सहयोगी मान्छे थिए । आफ्नो कारण कसैलाई हानी नहोस् भन्ने चाहनुका साथै गाह्रो–साँघुरो पर्दा सहयोग गर्न पछि पर्दैनथे ।
बागबजारबाट हरेक मंगलबार प्रकाशन हुने यज्ञ ढकालले सञ्चालन गर्दै आएको साप्ताहिक आवाज पत्रिकामा उनी सहसम्पादकका रुपमा भित्रिएका थिए । व्यवस्थापकीय कार्यमा समेत केही मद्दत गर्ने भनेर उनी भित्रिएका थिए ।
साप्ताहिक आवाज निस्किएको दिन हामी सबैरै भूगोलपार्कमा जान्थ्यौं । चिया खाइन्थ्यो । साथीभाई भेटिन्थ्यो । अखबार निकालिसकेपछि ज्यान नै हलुङ्गो हुने । एक दिनका लागि नै सही, निक्कै फुर्सदिलो बनिने ।
हरेक हप्ताको तालिका नै यस्तै थियो, एक दिनको बिहान म सदाको हप्ता झैं भूगोलपार्क पुगें । अर्जुनबहादुर तामाङ र उही आरआरका सहपाठी कमलजी टुप्लुक्क भेटिए । अजुर्नजी पत्रिकाको व्यवस्थाक थिए भने राइजी सोही हप्ताबाट सहसम्पादक नियुक्त भएका । भेटेपछि हात मिलाइयो, पुरानै चिनजान भएकाले अल्मलीनु परेन ।
अर्जुनजीले ‘अब हामी संगैं हुन्छौं, राइजी पनि टिमको सदस्य बन्नु भो’ भन्दा मलाई औधी खुसी लागेको थियो । उहाँहरु सबैरै प्रेस पुगेर राती छापिएको पत्रिका बाइकमा लिएर आउनुभएको रहेछ । हरेक मंगलबारको दैनिकी यस्तै बन्यो ।
सोमबार पत्रिकाको सेटिङ हुन्थ्यो । प्रमोद पाण्डे सधैं चापमा हुन्थे । ८ पेज पत्रिकाको टाइप र सेटिङ एकैदिन सक्न उनलाई कम्ति महाभारत हुँदैनथ्यो । दिँउसो म समाचार शाखामा व्यस्त हुन्थें, यज्ञ ढकाल पत्रिकाको काममा आर्थिक व्यवस्थापनका लागि खोजखाजमा दौडन्थे भने अजुर्नजी र राइजी त्यही बाइकमा कागजगोदामबाट कागज खरिद गरेर प्रेसमा पु¥याँउथे ।
पत्रिका छापिएपछि भोलिपल्ट बिहान ४ बजे नै प्रमुख वितरक पुष्कल ढकाल मामाकहाँ बाइकमा हालेर वितरणको लागि ल्याउने गरिन्यो । हरेक हप्ताको उही दैनिकी थियो ।
केही पछि राइजी त्यहाँबाट अलग्गिए । शायद उनी फोहोरमैला व्यवस्थापन सम्वन्धी काम गर्ने संस्था नेप्सेम्याकसंग आवद्ध र अलि व्यस्त पनि भए क्यार । म भने उक्त पत्रिकामा केही बढी अडिएँ ।
संवाददाताका रुपमा छिरेको म उक्त पत्रिकाको सहायक सम्पादक, कार्यकारी सम्पादक हुँदै सिङ्गो पत्रिकाको अन्तरवार्तादेखि सबै काम गर्ने र आफैं पत्रिका निकाल्न सक्ने अवस्थामा पुगीसकेको थिँए । साप्ताहिक आवाजलाई कतैबाट केही लगानी व्यवस्थापन हुने भए पछि यज्ञ ढकालले अखबार रंगिन बनाउने निर्णय गरे ।
तर उनले काम चाँही गर्नु तर रंगिन भएपछि मेरो मात्र प्रिन्टलाइन नाम हुन्छ, अरुको नराख्ने भने । मलाई चित्त बुझेन ।
मैले ‘त्यसो भए तिम्रो पत्रिकामा काम गर्दिन’ भनेर छोडिदिँए । त्यसकै केही दिनमा राइजी भेट भयो । उनी हाम्रो विषयवस्तुमा बेखबर थिएनन् । उनले भने, ‘त्यसो भए अलग अलग पत्रिका आ आफ्नै नाममा दर्ता गर्ने र नियमित चलाउने’ । सल्लाह यही भयो ।
मैले आफ्नै ठाँउको नाममा मै पत्रिकाको नाम दामन पोष्ट राखें भने राइजीको पत्रिकाको के नाम राख्ने भन्नेमा अन्यौल भयो ।
सुचना विभागमा गएर नाम हे¥यो, जुन पनि मिल्ने । त्यसपछि त्यहाँका कर्मचारी गिरीधर अमात्य दाईले ‘त्यसो भए खास खबर राख्नुस् ’भने । हामीले त्यो नाम सुन्नासाथ, ‘हो, अत्यन्तै सही नाम हो’ भनेर त्यही नाम कायम ग¥यौं । दर्ता गर्ने दिनमा पनि उही राइजी, अर्जुन तामाङ र म थियौं । सुख–दुख पत्रिका चलाउँदै थियौं ।
आफुले जन्माएको सन्तान बचाउन पनि पर्ने, त्यहाँबाट पुरै आश्रित हुन पनि नसकिने दोसाँधको अवस्था आयो । एक मनले त पत्रिका निकाल्ने के तनाव लिइरहनु, बन्द गरेर मिडीयामै कतै राम्रो पैसा दिने ठाँउ खोजेर काम गरौं भन्ने लाग्यो । तर अर्को मनले ‘यो इतिहास हो, आफुले जन्माएको सन्तान मार्न हुन्न’ भन्यो ।
त्यसैले म बुधबार साप्ताहिक, एबिसी टेलिभिजन लगायत केही अनलाइनहरुमा जागिर गर्थे तर पनि दामन पोष्ट निकाल्न छौड्दैनथें भने राइजी पनि प्रभाव दैनिक तथा अन्य मिडीयामा काम गर्थे तर पनि आफ्नो पत्रिका टिकाइराखे ।
सुरुमा हामीले कालिकास्थान स्थित धिम्ले अफसेट प्रेसबाट पोली प्लेटमा पत्रिका निकाल्थ्यौं । पत्रिका निस्किीएको दिन बिहानै प्रेसमा पुगेर पत्रिका भूगोलपार्क ल्याउन दामन पोष्टका लागि पनि राइजीले धेरै सहयोग गर्नुभएको छ । त्यो बेला जुन समय म अत्यन्तै अफ्ठ्यारोमा थिँए त्यस बखत राइजीले दिएको साथ मैले कहिल्यै भुल्न सक्दीन ।
हामी खाजा खाने पैसा नहुँदा बागबजारको थपलीयादाई अर्थात नुवाकोट खाजा घरमा एक प्लेट आलु लिएर बाँडेर पनि खान्थ्यौं ।
पत्रकार महासंघको काठमाडौं शाखामा म अध्यक्षको उमेद्वारका रुपमा खडा भएँ । विचार आस्था जे जता भएपनि पुरानो बेला देखिको साथी भनेपछि हिसाबकिताव नै अर्को हुँदो रहेछ ।
उहाँ नजिक आँउदा मलाई पहिल्यै चुनाव जितीसकेको महशुस हुन्थ्यो । पछि अध्यक्ष भैसकेपछि पनि बाहिर चोकमा बसेर कुरा काट्ने होइन की भेटेर नै अलग्गै ‘यस्तो यस्तो काम गर्नुपर्छ, यो यो विषयमा तपाँइको आलोचना छ’ भनेर सुझाव दिन्थे । खासमा असल साथीले यस्तै गर्छन् ।
दोस्रो कार्यकालमा म केन्द्रीय सदस्यको प्रत्यासी भएँ भने उनी काठमाडौं शाखाको कार्यसमिति सदस्य । उनले उक्त निर्वाचनमा पनि सदस्य मध्येमा अत्यन्तै धेरै मत ल्याए । अग्रज–कनिष्ठ देखि रत्नराज्य कलेजका प्राज्ञिक व्यक्तिहरुका बीचमा पनि उत्तिकै प्रिय थिए उनी ।
म केन्द्रीय सदस्य भएपछि लगत्तै सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसंग समय लिएर उपत्यका स्तरीय एक टोली उनलाई केही ज्ञापनपत्र सहित भेट्न जाने योजना तय गरेको थिँए ।
छोटो सुचनाबीच राई जी र रमेश बोहोरा सिंहदरबार आइपुग्नुभयो । मन्त्रीलाई साना लगानीका मिडीयाको हित, जेष्ठ पत्रकार सहुलीयत, स्वास्थ्य उपचार लगायतका अन्य मामलामा माग राखियो । पत्रकार र अझ साना लगानीका स्वरोजगारमुखी मिडीया टिकाउन राज्यलाई ध्यानाकर्षण गराउने मामलामा जतिबेला खबर गरे पनि आइपुग्ने बडो सहज व्यवहार थियो उनको ।
आइएमा संगै पढे पनि पछि उनी र हामी एकै कक्षमा पढेनौं । शायद पछि मेहनत गरेर उनले ‘ग्याप’ भएको पढाइ आरआर क्याम्पसबाटै पुरा गरे । अहिले म त्यही क्याम्पसका बिए दोस्रो र तेस्रो वर्षका विद्यार्थीहरुलाई पत्रकारिता विषय पढाउन गैरहँदा पनि ति कक्षा कोठाहरुमा उही ०५६ सालको रात्री कक्षाको झल्को भेट्छु । राइजीसंगका दिनहरु सम्झन्छु ।
बीचमा त्रिवी पत्रकारिता केन्द्रीय विभागले गोदावरीमा एक छलफल कार्यक्रम राखेको थियो पत्रकारिताको पाठ्यक्रम सम्वन्धी । दुइ दिने उक्त छलफलमा हामी एउटै टेबुलमा बसियो । साँझमा केही पुराना पत्रकारहरुलाई उनको परिचय गराँइदिए । फर्कदा विभागीय प्रमुख प्रा. चिरन्जीवी खनाल सर, देवराज अर्याल सर, म लगायत उनकै गाडीमा आयौं । दिनहरु यसैगरी बितीरहेका थिए ।
स्वास्थ्य मन्त्रालयमा सल्लाहकार र आरआरमा प्राध्यापन समेत एकैचोटी गर्न थालेपछि समय व्यवस्थापन गर्न अलि गाह्रो भैरहेको थियो । हिजोका दिनमा जस्तो बागबजारमा बसेर चियाखाने समय पुगिरहेको थिएन ।
मन्त्रालयले सवारी साधन समेत व्यवस्था गरिदिएकाले काममा सहजता थियो । त्यसैले राइजीसंग पनि भेटमा केही ग्याप भैरहेको हो ।
तर एक्कासी उनले एकदिन फोन गरेर मलाई, ‘एकपटक भेटेर गफ गर्नुछ सर, जरुरी नै छ ’ भने । मैले पनि ‘हुन्छ नी, दिँउसो तिर फोन गरेर रामशाहपथ स्थित स्वास्थ्य मन्त्रालयमा आउनु, अनि त्यही चिया–खाजा खाएर गफ गरौं’ भनेको थिँए । तर ‘कमल राइजी, अब त्यो दिन कहिल्यै नआउने भयो ।
उनले फोनमा त्यसो भनेको शायद चार दिन मात्र भएको थियो, एउटा निजी कामले नुवाकोट पुगेकै दिन अकाश्मात उनको असामयिक निधन भएछ । राती डेरामा आएर फेसबुक हेर्दा सञ्जालभरी उनको फोटोमा श्रद्धाञ्जलीका शव्दहरु पोखिएको पाँए । मन बुझाउन गाह्रो भो ।
अरुले एक सज्जन पत्रकार र भलाद्मी व्यक्तित्व गुमाए होलान् तर मैले मेरो सुख र दुख दुबै बेलामा साथ दिएको आत्मीय साथी गुमाएँ । उनले के जरुरी कुरा गर्न खोजेका थिए, त्यो भने रहस्यमै रह्यो ।
‘पछि भेटौंला’ भन्दा पनि कहिलेकाँही त्यो दिन नजुरी जिन्दगी सकिने रहेछ । मलाई यो घटनाले अत्यन्तै पिडावोध यस अर्थले भैरहेको छ की किन उनले भेट्न खोजेका थिए ? के भन्न चाहन्थे उनी मसंग ? प्रश्न अनुत्तरीत छ ।
जेहोस्, हामीले अल्पायुमै एक होनहार कलमयोद्धा गुमायौं, अब गर्न सक्ने त के नै हो र, यही स्मृतिमा छचल्किएका भाव पोख्न बाहेक । तैपनि यत्ति भन्छु, अलविदा कमलजी तिम्रो आत्माले शान्ती पाओस्, कसैको कुभलो नचिताउने तिम्रो त्यहाँ पनि पक्कै भलो नै भैरहेको हुनुपर्छ । यही कामना छ ।
0 comments
Write Down Your Responses