Powered by Blogger.
बहुउपयोगी ‘काठमाडौं– हेटौंडा केवलकार योजना’ सार्थक पारौं


बद्रीप्रसाद खतिवडा

काठमाडौँ उपत्यकाबाट हेटौँडा केवलकारको दुरी ४२.५ किमी लामो पर्दछ । हेटौँडाको यो विन्दु उपत्यकाबाट पूर्व पश्चिम राजमार्गलाई छुने सबैभन्दा छोटो दुरी हो । यसकारण पनि यस केवलकारको बहुपक्षीय उपयोगिता छ । 

विगत २०४० को सुरु दशक देखि पूर्वी नेपालका साना ठूला हजारौं गाडीहरु दैनिक त्रिभुवन राजपथ उपयुक्त नभएकोले भरतपुर, मुग्लिङ हुँदै राजधानी आवत–जावत गर्दछन् । 

यो केवलकार बनेमा एकतर्फी आवत–जावत गर्दा करिब २२० कि.मी. यात्रा छोटिन्छ साथै यात्रुको ६ घण्टा यात्रा समय बचत हुन्छ । सोही अनुपातमा भाडा दर एवम् सवारीको क्षयीकरण साथै इन्धनमा समेत बचावट हुन आउँछ । हेटौंडामा विमानस्थल नहुँदा आकस्मिक सेवाको लागि निकै प्रभावकारी हुन्छ ।  

हालै पथलैया ट्राफिक प्रहरी कार्यालयले बताए अनुसार दैनिक अन्दाजी ४५०० साना ठूला सवारी आवत–जावत गर्दछन् । यो क्रम विगत ४ दशक देखि चल्दै आएको छ । 

उपरोक्त केवलकार निर्माण एवम् सञ्चालनमा आएमा अरबौं–अर्ब रकमको इन्धन आयतलाई आफ्नै स्वदेशी विद्युत्ले प्रतिस्थापित गर्दछ । जसले गर्दा अरबौँ अरब रकम विदेशीनबाट जोगिन्छ । 

साथै वायु प्रदुषणमा समेत सुधार ल्याउँछ । जहाँ सम्म निर्माण लागतको सवाल छ आर्थिक कमजोरी भएको सरकारको मुख ताक्नुभन्दा विशेषत पूर्वी नेपालका नागरिकको पहलमा निजी क्षेत्रबाट सहकारी मोडलमा लैजाँदा शिघ्र प्रतिफल प्राप्त गर्न सकिन्छ । 

अझ विशेष आर्थिक विपन्न व्यक्ति समेतको सेयर लगानी लगाउँदा उनीहरुको जीवन स्तर समेत माथि उठ्छ । त्यसमा हाम्रो विशेष ध्यान जानु आवश्यक छ । 

 विगत सय वर्ष अगाडि श्री ३ चन्द्र शमसेरले निर्माण गरेको मालबहाक रोपवे भएकै स्थानमा सोही मार्गलाई पछ्याएर केवलकार निर्माण गर्दा हेटौडा स्थित चौकीटोला र काठमाडौ“ स्थित टेकु भन्सारमा रोपवेको आफ्नै स्वामित्वमा जग्गा भएकोले जग्गा सम्बन्धि कुनै झनझट नहुने र इतिहास एवम् इतिहास पुरुषको समेत सम्मान भइ राम्रो परम्परालाई निरन्तरता दिएको देखिन्छ । 

यस विषयमा म अभियन्ता बद्री प्रसाद खतिवडा, बरिष्ठतम् अधिवक्ता एवम् शताब्दी पुरुष कृष्णप्रसाद भण्डारीसमेतको एक टोलीले २०७९÷१२÷१० गते बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेललाई ध्यानाकर्षण गराउँदा यस विषयमा उहाँबाट सकारात्मक प्रतिकृया पाएका थियौं । 

केवल कारको प्रस्तावित मोडालिटिः

उक्त केवलकार निर्माण गर्दा टावरहरु अग्ला र मजबुत हुन जरुरी छ, ती टावरमा दुई लेनको माथि र बीचको लेनमा यात्रुहरु आवत–जावत गर्ने र तेस्रो लेनमा प्रविधिले मिलेसम्म मो. सा. र हल्का सवारी साधनसमेत ल्याउन लैजान सकिने गरी निर्माण गर्दा बहुउपयोगी हुन्छ । यसमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहन्छु ।

( मकवानपुरका खतिवडा अभियन्ता तथा राजनीतिकर्मी हुनुहुन्छ । 


0 comments

Write Down Your Responses