Powered by Blogger.
खानेपानीमा नयाँ विवाद, ७ बाहिनी र बज्रबाराहीबासीबीच फेरी दरारको संभावना


सुवास खुलाल, दामन पोष्ट

थाहा(बज्रबाराही,मकवानपुर) । उत्तरी मकवानपुरको थाहा नगरपालिका वडा न ६ मा खानेपानीको मुहानको विषयमा नयाँ विवाद सिर्जना भएको छ । 

विगतमा पनि सोही क्षेत्रमा रहेको पानीको मुहान नेपाली सेनालाई उपभोग गर्न दिने विषयमा विवाद हुने गरेझैं यो पटक पनि पानीको मुहानकै विषयमा नयाँ विवाद सिर्जना भएको हो ।

बज्रबाराही वृहत खानेपानी आयोजनाको ट्याङ्कीबाट  नेपाली सेनाको श्री न ७ बाहिनी अड्डा चनवन व्यारेकले पाइप  र बिद्युतिय तार बिछ्याई मुल ट्याङ्कीबाटै पानी लगेको भन्ने बिषयमा विवाद चुलिएको हो ।  यस घटनाले स्थानीयहरु पनि पक्ष र विपक्षमा विभाजित भएका छन् । 

स्थानीयले वडा अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठको सहमतीमा व्यारेकले पानी चोरेको भन्ने आरोप समेत लगाएका छन्  भने  एमालेका स्थानीय कार्यकर्ताहरुले सेनालाई उक्त ट्याङ्कीबाटै पानी खुवाउनै नहुने अडान राख्दै वडा कार्यालयले तत्काल प्रतिवन्ध लगाउनुपर्ने माग राखेका छन् । 

यस प्रकरणले बज्रबाराहीका राजनीतिक दलका नेता , बुद्दीजीवी र  स्थानीयहरु नेपाली सेनालाई पानी  दिने कि नदिने भन्ने विषयमा साझा धारणामा नपुग्दा स्थानीय र सेनाबीच दरार पैदा हुने संभावना बढेको छ । 

२०७२ सालको भूूकम्प यता बज्रबाराहीमा खानेपानीको अभाव बढिरहेको बेला तत्कालीन वडा अध्यक्ष शशीधर सुबेदीको पहलमा सिसिडिएन नामक एक गैर सरकारी संस्थाको सहयोगमा करिव तीन करोड लागतमा उक्त आयोजना संचालन गरि  बोरिङ र एक लाख लिटर क्षमताको ट्याङ्की  निर्माण भएको थियो । 

यहि भूमिगत ट्याङ्कीको पानीमा बज्रबाराहीका लिलाखेल , पापुङ्ग इकुन्टोल , सरस्वती बजार , पाल्चोक , थहचोक र कलम्बु लगायतका अधिकांश जनता निर्भर छन् । 

२०७६ भदौ देखि घरघरमा बितरण गरिएको उक्त खानेपानी आयोजनाका लागि ६ सय  घरधुरीबाट फारम शुल्क , धारा धरौटी , मिटर , एल्वो ,फिटिङ चार्ज र श्रमदान समेत गरी १२ हजार ५ सय का दरले  रकम संकलन गरिएको थियो । 

जनताको लगानी र संस्थाको सहयोगबाट सञ्चालित आयोजनाको पानी स्थानीयलाई अभाव हुनेगरी व्यारेकमा पठाउन नहुने बज्रबाराही वृहत खानेपानी आयोजना तथा सरसफाई उपभोक्ता  समितीका अध्यक्ष चित्र बहादुर बलामी बताउँछन । ६ सय घरधुरीबाट रकम संकलन गरिए पनि ५ सय घरले मात्र हाल  प्रयोग गर्दै  आएका छन् ।

 समितीका अध्यक्ष बलामीका अनुसार  नयाँ घर बनाएका र पानीको लागि दस्तुर लगायत सम्पूर्ण शुल्क बुझाइ सकेका झण्डै १ सय घरधुरीलाई  वितरण गर्नै बाकी रहेको अवस्था छ । यस हिसावले पानी अभाव भैरहेको बेला समितीलाई जानकारी नै नगराई पाइप र तार बिछ्याएर व्यारेकले पानी लगेकोमा उनको गुनासो छ । 

तत्कालिन  वडा अध्यक्ष शशिधर सुबेदीका अनुसार उक्त बोरिङको पानी मिनेरल वाटर भन्दा बढि शुद्द रहेको दावी छ ।  

बोरिङ खनिरहेकै बेलामा चनवन व्यारेकले  पानी मागेको तर त्यस अघि नै व्यारेकलाई सिस्नेरी , ऐलाख र ढोक्चा गरी तीन ठाउँको मुहानबाट पानी उपलब्ध गराइसकिएको उनी बताँउछन् । 

बज्रबाराही बासीलाई नै पानी अपुग रहेको भन्दै सुबेदी लगायत उपभोक्ता समितीले पानी दिन नसकिने जिकीर मात्र होइन मुहानमा ताल्चा लगाइदिएको स्थानीयवासी बताउँछन् । 

त्यतिबेलै नेपाली सेनाले खानेपानीको लागि  बजेट निकाशा गराई नयाँ बोरिङको लागि टेन्डर समेत आव्हान गरेको तर बोरिङ निर्माण नभएको बताइन्छ । 

बिगतमा सेनाहरु लुगा धुन र नुहाउन नजिकैको खोलामा जाने गरेता पनि अचेल जाने नगरेको र व्यारेकले मितव्ययी नभै खानीपानीको दुरुपयोग गरेको सुबेदीको ठम्याई छ  । 

उनका अनुसार स्थानीय जनताले बोरिङको पानी त्यसमाथी बिद्युतको प्रयोगबाट निकालिएको पानी जुनैबेला पनि सुक्न सक्ने भनेर जतनका साथ प्रयोग गरिरहेको अवस्थामा ब्यारेकले भने बिना जानकारी पानी लैजान खोज्नु न्याय संगत नरहेको बताउँछन । 

यस बिषयमा हालका वडा अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठसंग दामन पोष्टले जिज्ञासा राख्दा उनले ‘नेपाली सेना हाम्रै सुरक्षामा खटिने निकाय रहेको र ब्यारेकमा पानी अभाव भैरहेको अवस्थामा ब्यारेकलाई एक धारा बराबरको पानी दिने मौखीक सहमती भएको तर व्यारेकले पानी लगि नसकेको बताउँछन ।’ र,  हालको पानीको अभावको कारण बोरिङ सुकेर हो या मेसिन पुरानो भएर हुन सक्ने उनको अनुमान छ ।

श्रेष्ठका अनुसार ब्यारेकमा लगिएको सिस्नेरीको मुलको पानीमा चुनको मात्रा बढि देखिएर पिउन योग्य नभएकोले सो बोरिङको पानी हप्ताको एक हजार लिटर उपलब्ध गराउन खोजेको र यसमा केहि व्यक्तिगत स्वार्थमा लिप्त मानिसहरुले विवाद सिर्जना गरेको हो । यति मात्रै होइन वडा अध्यक्ष श्रेष्ठले खानेपानीमा राजनीति भएको समेत आरोप लगाए ।

यता उपभोक्ताले भने गत साता सम्पन्न जात्रा देखी नै धारामा पानी प्रयाप्त नआएको गुनासो गरेका छन् । सेनालाई पानी खुवाउने जिम्मा स्थानीय सरकारको नभै रक्षा मन्त्रालयको भएको हुनाले सेनाले स्थानीय बासीको खानेपानीमा आँखा गाडेर ट्याङ्कीमा तार र पाइप बिछ्याएको कुरालाई लिएर स्थानीय आक्रोशित समेत बनेका छन भने ट्याङ्कीको ढकनमा ताला समेत लगाएका छन् ।   

यता, अर्का थरी स्थानिय जनता भने आफ्नो वडामा पर्ने ब्यारेकको सेनालाई खानेपानी दिने दायित्व आफ्नै रहेको बताउँछन । ‘बज्रबाराहीको खानेपानी समस्या समाधान गर्न आफ्नो वडा भित्र खेर गई रहेको मुहानहरुको खोजी गरी त्यसलाई व्यवस्थित गरि सदुपयोग गर्नु पर्छ । यस्तै बिभिन्न ठाउँमा आवश्यकता अनुसार बोरिङ गर्नु पर्छ ।’ 

स्थानिय बासीले पनि पानीलाई आवश्यकता भन्दा बढि प्रयोग गर्न नहुने सरस्वती इङ्लिस बोर्डिङका शिक्षक राम लामिछाने बताउँछन ।




0 comments

Write Down Your Responses