Powered by Blogger.
पुष्पलालको जन्म शताब्दीको अवसरमा वृहत छलफल


काठमाडौं । पुष्पलाल अध्ययन समाजले पुष्पलाल जन्म शताब्दी समारोह समिति गठन गरी विविध कार्यक्रम गर्ने भएको छ । 

अध्ययन केन्द्रले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म शताब्दीको अवसरमा रिपोर्टर्स क्लब नेपालमा अन्तरक्रिया कार्यक्रम गरी आगामी एक वर्षभित्र गर्ने कार्यक्रमहरु सार्वजनिक गरेको हो ।

 पुष्पलालको जन्मजयन्तीको अवसरमा विभिन्न कम्युनिष्ट नेताहरुले उनको तस्विरमा पुष्प अर्पण गरेका थिए । 

पुष्पलाल वि.सं. १९८१ असार १५ गते रामेछापको भंगेरीमा जन्मिएका थिए । पुष्पलालको जन्म शताब्दीको अवसरमा स्मृति ग्रन्थ प्रकाशन, वैचारिक योगदानहरुमा विचार गोष्ठी, पुष्पलालको जीवनसँग प्रत्यक्ष रुपले गासिँएर काम गरेका नेता÷कार्यकर्तालाई पुष्पलाल जन्म शताब्दी समारोह र मूल समारोह आगामी ०८१ साल असार १५ गते भव्य रुपमा मनाउने योजना रहेको पुष्पलाल अध्ययन केन्द्रका अध्यक्ष लोककृष्ण भट्टराईले बताए । 

पुष्पलाल अध्ययन समाजका अध्यक्ष भट्टराई अहिले देशमा रहेको गणतन्त्र जनताको हुन नसकेको टिप्पणी गरेका छन् । पुष्पलालको योगदानका कारण अहिले लगभग ७० प्रतिशत मत कम्य्निष्टहरुको पक्षमा रहेको दाबी गर्दै उनले कम्युनिष्टहरुले उनको पथ पछ्याउन नसक्दा आम जनतामा चरम निराशा छाएको बताए ।  

नेपालमा अहिले रहेका साना तथा ठूला २१ वटा कम्युनिष्ट पार्टीका नेताहरुलाई सल्लाहकार राखेर पुष्पलाल जन्म शताब्दी मनाउने तयारी रहेको उनले बताए । उनले  रामेछापलाई कम्युनिष्टहरुको उद्गमस्थलको रूपमा चिनाउन चाहेको उनको बताए । 

उनले रामेछापको पुष्पलाल पार्कमा पाँच जना कम्युनिष्ट पार्टीका संस्थापक र कृष्णलाल अधिकारी र गंगालालको शालिक निर्माणको थालनी भएको भएपनि अपुरो अवस्थामा रहेको बताए । उक्त कार्य अहिले असरल्ल अवस्थामा रहेको र करिब पचास लाखभन्दा बढी भुक्तानी बाँकी नै रहेको उनको भनाई छ । 

‘रामेछापमा पुष्पलाललगायत पाँच जना कम्युनिष्ट पार्टीका संस्थापक र सुब्बा कृष्णलाल अधिकारी र गंगालालको सालिक एकैचोटी पुष्पलाल पार्कमा स्थापना गर्ने भनेको पनि पाँच वर्ष भयो । त्यो सालिक बनाउन दिइएको छ र अहिले असरल्ल अवस्थामा छ । करिब–करिब पचास लाख त्यसलाई भुक्तानी दिनुपर्ने अवस्थामा छ, उनले भने । 

पुष्पलाल पार्क बनाउन सहयोग गर्नका लागि उनले सबै दलका नेता र सरकारसमक्ष आग्रह गरे । सबै कम्युनिष्ट पार्टीका लिडरहरुलाई अध्ययन समाजको सल्लाहकार राखिएकोे बताउँदै उनले उक्त प्रस्ताव स्वीकार गरिदिन पनि आग्रह गरे । 

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ का प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले विचारको विकास नगरी कम्युनिष्ट आन्दोलन विकास गराउन खोज्नु असम्भव रहेको बताए । माओकै पालामा पनि कम्युनिष्ट विचार अवरुद्ध भएको भन्दै उनले वैचारिक योगदान पुर्यान नसक्नेले विकल्प दिनपर्नेमा जोड दिए ।

 माओवादी जनयुद्धले विश्वको कम्युनिष्ट आन्दोलनलाई संश्लेषण गरेको उनको दाबी छ । पार्टीभित्र अहिले वैचारिक विकास नै मुख्य समस्याको रुपमा रहेको उनको भनाई छ । 

पुष्पलालले आफ्नो जीवनकालमा जेजति सकेको वैचारिक विकास गरेको भन्दै उनले प्रसंशा गरे । पुष्पलालकै वैचारिक धारमा राजतन्त्रको अन्त्य भएर गणतन्त्र आएको उनको दाबी छ । 

‘माओकै समयमा गएर विचारको विकास अवरुद्ध भयो । ८० वर्षको उमेर हुँदा माओ बोल्न सक्नुहुँदैनथ्यो । उहाँले बोलेको कुरा सुनिँदैन थियो । तर, पनि उहाँ नेतृत्वमा रहनुभयो । 

पछिल्ला दिनहरुमा जब आफू क्रियाशील हुन सक्दैन, आफ्नो भूमिका प्रभावकारी हुँदैन, वैचारिक राजनीतिमा योगदान हुँदैन भने त्योबेला विकल्पतिर जानुपर्ने र सोच्नुपर्ने मलाई लाग्छ । माओको जीवनकालको उत्तराद्र्धमा वैचारिक राजनीतिक अवरुद्ध हुँदा कम्युनिष्ट आन्दोलन बरालियो,’– उनले भने । 

पुष्पलालले स्थापना गरेको कम्युनिष्ट पार्टीले अग्रणी भूमिका निर्वाह गरेको उनको भनाई छ । गणतन्त्रसम्मको परिवर्तन पुष्पलालकै लाईनले आएको उनको दाबी छ । गजुरेलले अब पुष्पलालको लाईनले समाजवादको लक्ष्य, साम्यवादको लक्ष्यमा पुर्याउँछ कि पुर्याउँदैन भन्ने प्रश्न चिन्ह खडा भएको बताए । 

अहिलेको यही तौरतरिका, विचार, नीति, आचरण र क्रियाकलापले अबको कम्युनिष्ट आन्दोलन समाजवाद र साम्यवादसम्म पुग्नेमा आशंका जन्मिएको उनको भनाई छ । विकल्प दिन नसकेकै कारण युवाहरु आन्दोलनबाट बाहिरिएको उनको भनाई छ ।  

नेकपा (एमाले) का उपाध्यक्ष युवराज ज्ञवालीले नेपालका कम्युनिष्टभित्र एकपक्षीय दृष्टिकोण रहेको बताए । उनले यसलाई गैरमाक्र्सवादी दृष्टिकोणको संज्ञा दिए । ‘गल्ती नगर्ने र गल्ती नसच्याउने मान्छे’ मान्छे नै नहुने उनको भनाई छ । 

उनले पुष्पलालको दृष्टिकोणले ६५ प्रतिशत जनमत कम्युनिष्टहरुको पक्षमा रहेको बताए । गणतन्त्र आउनु, राजा हट्नु, संविधान बन्नु पुष्पलालकै योगदानको उपलब्धी भएको बताए । 

अहिलेको व्यवस्था माओवादीले बन्दुक पड्काएरमात्रै नआएको उनको भनाई छ । कम्युनिष्ट आन्दोलनले नेपालको राजनीतिमा धेरै परिवर्तन ल्याएपनि गर्न धेरै बाँकी रहेको उनको भनाई छ । 

‘हिजो राजाको शासन थियो, आज जनताको शासन छ । जनताले ल्याएको व्यवस्था हो यो, के माओवादीले बन्दुक पड्काउँदैमा आएको हो र ? लाखौंलाख जनता संलग्न भए । माओवादीको युद्धमा पनि हजारौं संलग्न भए, संयुक्त जनआन्दोलनमा पनि लाखौंलाख संलग्न भए । जनताले लडेर ल्याएको, हजारौं हजार जनताको बलिदानले ल्याएको उपलब्धी हो । तर, गर्न अझैं धेरै बाँकी छ,’– उनले भने । 

पुष्पलालले जनवाद, समाजवाद, साम्यावादसम्मको परिकल्पना भएको उनले बताए । कम्युनिष्ट आन्दोलन अगाडि बढाउनका लागि सहयोग गर्ने जो कोहीलाई पनि आफूहरु सहयोग गर्न तयार रहेको उनको भनाई छ । उनले आरोप प्रत्यारोपको राजनीति छोड्न आवश्यक रहेको बताए । 



पुष्पलालले जहिल्यैपनि संयुक्त मोर्चाको नीति र संयुक्त जनआन्दोलनको नीति अगाडि सारको स्मरण गर्दै उनले कम्युनिष्टहरु एक ठाउँमा जोडिन आवश्यक रहेको बताए । 

‘कम्युनिष्टहरु एक ठाउँमा हुनुपर्छ । सके एउटै पार्टी बनाउनुपर्छ, नभए मोर्चा बनाउनुपर्छ । त्यो पनि नभए कुनै न कुनै मुद्दाका आधारमा हामी जहिल्यैपनि सकारात्मक हुने र नजिक हुने प्रयास गर्नुपर्छ,’– उनले भने । 

पुष्पलाल अध्ययन समाजका सचिव निलकण्ठ तिवारीले पुष्पलालको जन्म शताब्दीमा उनकोबारे जनतालाई जानकारी गराउनका लागि आफूहरु लागिपरेको बताए । अहिले वाम जनमत निराशामा रहेको र वाम आन्दोलनलाई एकीकृत गर्नसमेत उनले सबैसमक्ष आग्रह गरे । 



नेकपा मालेका महासचिव सीपी मैनालीले पुष्पलालको स्मृतिमा बन्न लागेको भौतिक संरचना पूरा गर्नका लागि उनले सबैसमक्ष आग्रह गरे । कम्युनिष्ट आन्दोलन ७५ वर्षमा प्रवेश गरेको उल्लेख गर्दै उनले यसबीचमा आन्दोलनले धेरै आरोहअवरोह व्यहोरेको बताए । देशको वस्तुस्थिति र परिवेशको सन्दर्भमा विगतका नीतिहरुको समिक्षा हुन आवश्यक रहेको उनले बताए । 

‘जे÷जति कार्यक्रम राख्नुभएको छ, ठिकै छन् । तर, यसको सबैभन्दा महत्वपूर्ण कुरा चाहीँ यो ७५ वर्षको समीक्षालाई प्राथमिकता दिनुपर्छ । किनभने यो ७५ वर्ष पुष्पलालसँग जोडिएका विषय हुन । अहिलेको यो भद्रगोल भएको कुरालाई विर्सिएर खाली हामीले राम्रा–राम्रा कुराहरुको मात्रै लेखाजोखा गर्ने कुरामात्रै गर्यौं भने हामी आन्दोलनप्रति गम्भीर नभएको ठहर्छ,’– उनले भने । 

कम्युनिष्टहरु पुष्पलालहरुको आन्दोलनप्रति गम्भीर हुन आवश्यक रहेको उनले बताए । कम्युनिष्ट र कांग्रेसकै शासनकालमा राष्ट्रियतामाथि प्रतिगमन भएको उनको आरोप छ । भारतसँगको विवादित भू–भागको समस्या समाधान हुन नसकेको भन्दै उनले आपत्ति जनाए । नेताहरुका राम्रा कुराको गुणगानलेमात्रै प्रतिगनमलाई सच्याउन बल नपुगेको उनको ठम्याईँ छ । 

नेपाल कम्युनिष्ट पार्टी मसालका नेता रामप्रकाश पुरीले अहिले कम्युनिष्टहरुको आदर्श र आस्था गम्भीर संकटमा रहेको बताए । आफूहरुलाई मूल समारोहमा राखिएकोप्रति प्रतिवद्धता जाहेर गरेको बताए । नेपालमा जसले घण्टी बजाएपनि नेपालमा कम्युनिष्ट आन्दोलन रहिरहने उनको दाबी छ । पुष्पलालले यो संसार रहेसम्म कम्युनिष्ट आन्दोलन रहने अनुमान गरेर आन्दोलन अगाडि बढाएको उनको दाबी छ । पुष्पलालका सपनाहरु कहिल्यैपनि नमर्ने उनको दाबी छ । 

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का नेता शरद रसाईली पुष्पलाल नेपाली कम्युनिष्ट आन्दोलनको अतुलनीय व्यक्तित्व भएको बताए । पुष्पलालको आदर्शलाई थप स्थापित गराउनका लागि सबै कम्युनिष्टहरु एक हुन आवश्यक रहेको उनको भनाई छ । 



पटक–पटक कम्य्निष्ट पार्टीहरु सत्तामा गएपनि पुष्पलालको सिद्धान्त र निष्ठालाई स्थापित गराउन नचाहेको भन्दै उनले दुखेसो पोखे । अहिलेका नेताहरु आफैं स्थापित हुने होडमा लागेको उनको आरोप छ । 

‘पुष्पलाललाई स्थापित गरियो, उहाँका आदर्शलाई स्थापित गरियो भने त उहाँको बाटोमा हिड्न पर्यो नि, उहाँलाई पछ्याउन पर्यो नि ! उहाँको इमानदारिताप्रति, उहाँको आदर्शप्रति हामी इमानदार भयौं भनेत आज जो कम्युनिष्ट बनेका छौं हामीजस्तो कम्युनिष्ट बन्न पाउँदैनौं ।’ उनले भने, ‘नीजि स्वार्थहरुमा धक्का लाग्छ । सत्ता भोक विलासमा धक्का लाग्छ । त्यसैलाई उहाँलाई स्थापित गर्ने होइन, आफैंलाई स्थापित गर्ने प्रक्रियामा आजको कम्युनिष्ट आन्दोलन तहसनहस भएको छ ।’ 

उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी पुष्पलालका नेता मानध्वज, नेकपा (एकीकृत समाजवादी) आलोक रायमाझी, पुष्पलाल अध्ययन समाजका सल्लाहकार समितिका अध्यक्ष दीननाथ शर्मा लगायतले कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान र आगामी बाटो लगायतका बारेमा विचार व्यक्त गरेका थिए । 




 





0 comments

Write Down Your Responses