Powered by Blogger.
थाहामा नयाँ पर्यटकीय गन्तब्य ‘पालुङ–आग्रा ट्रेकिङ’ रुट


-राज कुमार के.सी., गणेश बिष्ट 

मकपानपुर । संघीय राजधानी काठमाडौंबाट नौबिसे हुदै आउने सडक दुरीमा ६५ किलोमिटर र चित्लाङ–थानकोट हुदै करिब ३५ किलोमिटरको दुरीमा मकवानपुर जिल्लाको थाहानगरको मुख्य व्यापारिक केन्द्र शिखरकोट आइपुग्न सकिन्छ ।

पर्यटकीय दृष्टिकोणले थाहानगर अत्यन्तै सम्भावना भएको क्षेत्र हो । चित्लाङ, टिस्टुङको नर्वेढुङ्गा, खुकुरी पार्क, मुलाबारी चौर, दामन, सिमभन्ज्याङ, कोटथुम्कि पर्यटकीय क्षेत्रमा परिचित स्थान हुन् ।

धार्मिक हिसाबले पनि थाहानगरपालिका तेतिनै प्रख्यात छ । ऋषेश्वर मन्दिर, पाण्डुकेश्वर मन्दिर, इन्द्रायणीमाई, बज्रबाराही माई, स्वछन्दभैरब, पाथिभरा मन्दिर, गोरखनाथ धाम थाहानगरका प्रमुख धार्मिक क्षेत्र हुन् । 



थाहा नगरका अधिकांश नागरिकहरूको मुख्य पेशा कृषि हो । बेमौसमी कृषिको लागि थाहानगरले छुट्टै पहिचान बनाएको छ । थाहा नगरको अर्को महत्त्वपूर्ण विशेषता भनेको कृषि पर्यटन पनि हो ।

यहाँ थाहानगरको पर्यटन प्रबर्द्धनकालागि नया गन्तब्यको चर्चा गर्न खोजिएको छ, ‘पालुङ–आग्रा ट्रेकिङ रुट’ । 

‘पालुङ–आग्रा ट्रेकिङ’ रुट पर्यटकहरुका लागि आकर्षक र नयाँ रुट हो । यस ट्रेकिङ रुटको शुरुवात साविक दामन गाउ विकास समितिको शिखरकोटबाट हुने भएपनि अधिकांश भू–भाग पालुङ र आग्रा क्षेत्रमा पर्ने भएकोले यो रुटको नामै ‘पालुङ–आग्रा ट्रेकिङ रुट’ भनिएको हो । यो यात्रामा ऐतिहाँसिक, धार्मिक तथा प्राकृतिक मिश्रित यात्रा हुने भएकोले अन्य ट्रेकिङमा भन्दा यहाँ फरक स्वाद मिल्छ र यात्राको क्रममा हुने परिवर्तित मौसम यहाँको अर्को विशेषता हो ।

यस ट्रेकिङको शुरुवातमै थाहा आन्दोलनका प्रणेता रुपचन्द्र विष्टको शालिक र उनको जीवनीबाट शुरुवात हुन्छ । शिखरकोट नजिकै रहेको विकास घरको आगनमा उनको पूर्ण कदको शालिक छ । थाहा आन्दोलनको अनुसन्धानकै धरोहर रुपचन्द्र विष्टले श्रम जुटाइ बनाएको विकास घर शालिककै आडमा छ । यहा नागरिकको सेवाका लागि थाहा नगरपालिका वडा नम्बर ३ को कार्यालय र अन्य सार्वजनिक संस्थाको उपस्थिति छ ।



शिखरकोटबाट करिब २ किलोमिटरको पैदलयात्रा पश्चात् पालुङको पाण्डुकेश्वर मन्दिर पुग्न सकिन्छ । पाण्डुकेश्वर पुग्नु अघि थाहा ३ डाडागाउमा अवस्थित गोरखनाथ मन्दिर छुटाउनै नहुने क्षेत्र हो । यहि ट्रेकिङ रुटमा पर्ने गोरखनाथ धार्मिक आस्थाको केन्द्र पनि हो । 

बाटोमा ऐतिहाँसिक बस्ती गोपाली गाउ, रुपचन्द्र विष्ट प्रधानाध्यापक समेत भएर पढाएको जनकल्यण मावि, विश्वका ३ शंखमुल मध्येको एक पालुङ शंखमूल यस यात्राका थप आकर्षण हुन् । साथमा हरियाली तरकारी खेती र खेती प्रविधिमा रमाइरहेका किसानहरुसंगको भेटघाट तथा उनीहरुसंगको संवाद सहितको यात्रा यस क्रममा गर्न पाइन्छ ।

ऐतिहाँसिक पाण्डुकेश्वर परिसर, नजिकैको भद्रतीर्थ र पालुङको ऐतिहासिक नेवारी बस्ती ‘पालुङ शहर’ हुदै पाथिभरा मन्दिर नजिकै पर्यटकहरुलाई स्वागत गर्ने पालुङकै पहिलो ’डाडाघरे बा को होमस्टे’ छ । 

थाहानगर घुम्न आउने पर्यटकहरु होमस्टेको स्वाद नलिई हत्तपत्त फर्किदैनन् । होमस्टेमा हुनुपर्ने मौलिकता यहा पाइन्छ । होमस्टेको छेवैमा रहेको हुदा पाथिभरा नपुग्ने पर्यटकहरु विरलै हुन्छन् ।



 पालुङको पाथीभरा हुँदै ‘पालुङ–आग्रा’ पैदल मार्ग अघि बढ्छ ।

‘पालुङ–आग्रा ट्रेकिङ’मा तामाङ संस्कृति पनि भेट्टाइन्छ । मेला र विभिन्न अवसरमा त पालुङका महिला नौमती बाजा समूहले बाजा बजाएर पर्यटकहरुलाई स्वागत पनि गर्दछन् । यस रुटमा पालुङको ऐतिहासिक भग्नावशेष पालुङ गढी हुँदै भकारी ढुङ्गासम्मको यात्रा निकै उत्साहजनक छ । जंगलको यात्रा भएकोले विभिन्न वनस्पती र चराचुरुङ्गीको आवाजसंगै यात्रा गर्दा जो कोही पनि फरक महशुस गर्दछन् । 

डाँडैडाँडाको यात्रामा खुलेको पालुङ फाँट र झुरुप्प परेको वस्ती, मौलिक परम्परा आहा, घुमफिर गर्दा निकै रमाइलो हुन्छ । यहि यात्रामा करिब २ हजार तीन सय मिटरको उचाइमा रहेको केशरी भन्ज्याङ पर्दछ । यहाँबाट दृश्यावलोकन गर्दा पर्यटकहरु आनन्दित हुन्छन् । यहाँबाट चन्द्रागिरी भन्ज्याङदेखि वरको सबै फाँट र गाउँहरु अवलोकन गर्न सकिन्छ ।

यो यात्रा गर्दै गर्दा आग्राको उनीउ चौर ‘ट्रेकिङ रुट’को मुटु हो । हरियो फाँट झै देखिने यो चौर क्षेत्र आग्रामा पर्दछ । यहाँबाट डाँडाबास, कैलाश गाउँपालिका क्षेत्र र धादिङका केहि पालिकाहरु समेत अवलोकन गर्न सकिन्छ । खुलेको बेला दत्न लहर झै उभिएका हिमालयको दृश्यावलोकन सहजै गर्न सकिन्छ । 

छेउछाउमा तामाङ जनजातीहरुको बसोबास रहेको यो प्राकृतिक छटाले भरिपूर्ण उनीउ चौरमा पुगेपछि फर्कनै मन लाग्दैन । नजिकै डाँडाबास पार्क पनि रहेको छ । यसका अलवा अन्य घुमफिरका प्वाइन्टहरु पनि यहाँ प्रशस्तै छ ।


यति यात्रा गर्दा ‘पालुङ–आग्रा’ ट्रेकिङ करिब सकिन्छ । यसको दुरी लगभग १४ किलोमिटर रहेको छ । यस यात्रालाई थप जोड्न पनि सकिन्छ । तर एकदिने ट्रेकिङका लागि यो यात्रा काफी हुन्छ । फर्कदा डाँडाबास सडकबाट सवारी साधनमा वा पैदल नै पनि दामन घर्तीखोलाको दमार हुँदै पुनः शिखरकोट आइपुग्न सकिन्छ । 

यसैक्रममा यही असार २३ गते शनिबार काठमाण्डौका युवाहरु सहित करिब ६० जनाको सहभागितामा पैदल यात्रा हुने र सो यात्रामा सहभागिता जनाउन सकिनेछ । जाने हैन त ‘पालुङ–आग्रा’ ट्रेकिङ ?


फोटो फिचर (फोटो ः गणेश बिष्ट)


0 comments

Write Down Your Responses