Powered by Blogger.
थाहा नगरकी चेलीको सृजनाः लघु चलचित्र ‘बिचरी माईली’


मकवानपुर । ‘बिचरी माईली’ लघु चलचित्र नितान्त नेपाली समाजको यथार्थपरक ऐनाका रुपमा प्रस्तुत भएको छ । टिष्टुङ्ग, बज्रबाराहीकी चेली बिमला महर्जन मानन्धरको परिकल्पना र कथामा आधारित पारिवारीक मर्मस्पर्शी लघु चलचित्र हो यो । 

कथाकारले एउटै परिवारिक पृष्ठभूमिमा एउटै आमाले जन्माएका सन्तानहरुका सोच, बिचार र कर्म फरक हुन्छ साथै समयको कसीले उनीहरुको भाग्य पनि फरक हुन्छ भन्ने कुरा छर्लङ्ग देखाएका छन् । 

संयोग र परिस्थितिले मानिसको जीवनका मेहनत र सत्कर्महरु पनि बारबार बिफल हुन सक्छन् तर आफुले गर्नु पर्ने सत्कर्मलाई धैर्य, सहनशिलता र दृढतापूर्वक गर्दै जाने हो भने एक दिन अवश्य पनि सफलता मिल्छ भन्ने सामाजिक सन्देश उक्त लघु चलचित्रले दिएको छ । 


 

नेपाली समाजमा बलियो र बोलवाला भएको भाईले सोझो र कमजोर भाईलाई अंशबण्डाको क्रममा गर्ने अन्याय र अत्याचारलाई पनि बढो मार्मिक ढंगले प्रस्तुत गर्ने जमर्काे गरेको छ । 

साथै, नेपालकै जल्दो बल्दो समस्याका रुपमा रहेको बेरोजगार युवाहरुको बैदेशिक रोजगारको पीडा र फर्केपछि नेपालमा आफुले बैदेशिक रोजगारका क्रममा आर्जित ज्ञानलाई स्वदेशमा केहीगर्न खोज्दा नेपालको विद्यमान बजारतन्त्र र फितलो ब्यवस्थापनले उनीहरुको उत्साहलाई शिथिल बनाएको परिवेशलाई उजागर गरिएको छ ।  

आर्थिक सम्पन्नताको आधारमा सोचमा क्रमश परिवर्तन हुँदै जान्छ र घमण्ड, ईश्र्या जस्ता विषयले मानिसको मनलाई अमिलो बनाउछ । साथै, कथाकारले ‘एकबारको जुनीमा धन दौलत भनेको जीवन ब्यतितको गौण साधन हुन सक्छ तर साध्य नै होईन । जीवनको स्वर्गानन्द दया, माया, करुणा, ममता र आफ्नो पनमा हुन्छ’ भनी देखाउन खोजेको पाइन्छ । बिचरी माईली लघु लचचित्रले समाजका हर परिवारहरुलाई क्लेशमुक्त जीवन जीउनका निम्ति प्रेरणा प्रदान गर्दछ । 

कथा तथा परिकल्पना र निर्मात्री बिमला महर्जन मानन्धरको प्रस्तुतीका रुपमा यो चलचित्र हाल हाईलाईट नेपालको यूट्यूब च्यानलमा अपलोड गरिएको छ । सो चलचित्र ईडिजिनियोस टेलिभिजन र भाद्गाउँ टेलिभिजनबाट प्रशारण भैसकेको छ । 


 

सबिन रत्न शाक्यको निर्देशन, अभय श्लोकको छायांकन, पटकथा संवाद तथा टाईटल गित बुद्ध महर्जनले गर्नु भएको सो चललिचत्रमा मूल पात्रका रुपमा बिमला महर्जन मानन्धरले माईलीको भूमिका निभाउनु भएको छ । 

अन्य कलाकारहरुमा मञ्जु श्रेष्ठ, धर्मयूग श्रेष्ठ, दिब्या ए.एस., बुद्ध महर्जन, अनुप लामा, मीना प्रधान, मन्दिरा श्रेष्ठ, बिना महर्जन, प्रेममाया डंगोल, कमला महर्जन, भगवती श्रेष्ठ र बाल कलाकार मानब डंगोल हुनुहुन्छ ।

थाहा नगरपालिका वडा नं. ६ मा जन्म, हाल धार्के धादिङ्ग घर भई रबी भवन बस्दै आएकी चेली बिमला महर्जन मानन्धरको यो लघु चलचित्र बिचरी माईली सृजनाले सिंगो थाहा नगरलाई नै गौरवान्वित बनाएको स्थानीयवाशीहरु बताउँछन् । 

कुराकानीको क्रममा निमात्री तथा कलाकार मानन्धरले दर्शक महानुभावहरुलाई उक्त चलचित्र यूट्यूब च्यानलमा सर्च गरी हेरेर उक्त लघु चलचित्र सम्बन्धि प्रतिक्रिया दिनहुन र आगामी दिनमा अर्काे लघु चलचित्रका रुपमा टिष्टुङ्गमा नै सुटिङ्ग गर्ने लक्ष्यकासाथ कथा तयार भएको बताउनु भयो ।  


 


0 comments

Write Down Your Responses