Powered by Blogger.
नेपाल प्रहरी केनाईन कार्यालय महाराजगंजमा कुकुर पूजा सम्पन्न


काठमाडौं । यमपञ्चकको दोस्रो दिन अर्थात कुकुर तिहारका अवसरमा नेपाल प्रहरी केनाईन कार्यालय महाराजगंजमा आइतबार आयोजित कार्यक्रमबीच कुकुर पूजा सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले कार्यालयमा रहेका विभिन्न जातका कुकुरहरूलाई पूजा गर्नुभयो । साथै उहाँले अपराध अनुसन्धान तथा खोज कार्यमा यस वर्ष उत्कृष्ट कार्य गर्ने कुकुर ‘रियो’, बाधापार र हाईजम्पतर्फ प्रदर्शनमा उत्कृष्ट हुने कुकुर ‘रोज’ र रनिङतर्फ ‘टाईगर’लाई पुरस्कार प्रदान गर्नुभयो । साथै यस वर्ष उत्कृष्ट कार्य गर्ने सोही कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरूलाई समेत उहाँले पुरस्कार प्रदान गर्नुभयो ।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक तामाङले तिहार र कुकुर पूजाको शुभकामना व्यक्त गर्दै केनाईनले विभिन्न अपराधको सफल अनुसन्धान तथा प्रहरी कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै नेपाल प्रहरी संगठनको छवि उच्च पारेको बताउनुभयो । केनाईनले केन्द्रमा मात्र नभई प्रदेशस्तरमा समेत उत्कृष्ट कार्य सम्पादन गर्दै आएको उहाँले उल्लेख गर्नुभयो ।

कार्यक्रममा उक्त कार्यालयका प्रहरी कर्मचारीहरू र प्रहरी कुकुरहरुले हातहतियार तथा विष्फोटक पदार्थको खोजी तथा पहिचान, लागूऔषधको खोजी तथा पहिचान, अपराधीको खोजी एवं पहिचान, हाइजम्प प्रतियोगिता, दौड प्रतियोगिता, आज्ञापालन तथा व्यक्तिगत सुरक्षा कला, बाधापार र खोजी तथा उद्दार कार्य लगायतको प्रदर्शनी गरेका थिए ।



नेपाल प्रहरी केनाईन कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा. देउती गुरूङले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा प्रहरी उपरीक्षक डा. राम चन्द्र सत्यालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

नेपाल प्रहरीको अनुसन्धान प्रक्रियालाई तथ्यपरक र प्रमाणमुखी बनाउने उद्देश्यकासाथ विगत लामो समयदेखि अपराध अनुसन्धान तथा खोज कार्यमा तालिम प्राप्त कुकुरहरुको प्रयोग हुँदै आएको छ । कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरु, संचारकर्मी लगायत अतिथिहरू समेतको उपस्थिति रहेको थियो ।




0 comments

Write Down Your Responses