Powered by Blogger.
मदन भण्डारी विज्ञान तथा प्रविधी विश्वविद्यालयको मुठ्ठीदानबाटै एक अर्ब संकलनको लक्ष्य


मकवानपुर । उत्तरी मकवानपुर स्थित थाहा नगरपालिका ९ चित्लाङमा स्थापना भएको मदन भण्डारी विज्ञान तथा प्रविधी विश्वविद्यालयले मुठ्ठीदान दान अभियान चलाइर एक अर्ब रुपैंया संकलन गर्ने लक्ष्य राखेको छ ।

  विश्वविद्यालयका अध्यक्ष प्रा. डा. राजेन्द्रध्वज जोशीले एक लाख व्यक्तिसंग सहयोगको लागि पुगिने र कम्तिमा एक सय रुपैंयाका दरमा संकलन भए पनि एक अर्ब रुपैंया उठ्ने बताए । सो अन्तर्गत विदेश र स्वदेशमा अभियान सुरु भैसकेको र आगामी दिनमा त्यसलाई अभियानकै रुपमा लैजाने उनले जानकारी दिए । 

बिहिबार चित्लाङ स्थित विश्वविद्यालय भवनमा सञ्चारकर्मीहरुलाई स्थलगत अवलोकन गराँउदै अध्यक्ष जोशीले यस्तो योजना सुनाएका हुन् ।

 नेपाल सरकारबाट यस विश्वविद्यालयका लागि रु एक अर्ब ४० करोड बजेट प्रतिबद्धता व्यक्त गरिएकामा हालसम्म रु ९५ करोड निकासा भएको छ भने व्यक्तिगत र संस्थागत गरी रु ३० लाख ७७ हजार चन्दा प्राप्त भइसकेको छ । कुनै दाताले स्नातकोत्तर तहका विद्यार्थीलाई आफ्नो नामबाट वार्षिक पूर्ण छात्रवृत्ति दिन चाहेमा रु छ लाख र विद्यावाििरिध तहमा रु १० लाख सहयोग गर्न सकिने प्रबन्ध गरिएको छ ।

अहिले नेपाल सरकारको बजेटले मात्र काम भैरहेकोमा व्यापक रुपमा जनसहभागिता र सहयोगमा सो विश्वविद्यालयलाई अन्तराष्ट्रिय स्तरको विद्यालय बनाउने उनको भनाई छ  ।

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयले नेपालमै पहिलोपटक विश्वस्तरको अनुसन्धानमूलक शिक्षा दिने गरी स्नातकोत्तर र विद्यावारिधि तहमा भर्ना खोल्ने तयारी गरेको छ  । पहिलो शैक्षिकसत्रमा दुवै तहमा गरी जम्मा ३२ विद्यार्थीलाई छनोट गरी भर्ना लिने तयारी गरेको हो । 

 विश्वविद्यालयले ती तहमा निःशुल्क शिक्षा र छात्रवृत्तिको प्रबन्ध पनि गरेको अध्यक्ष जोशीले बताए । विश्वविद्यालयले स्नातकोत्तर र विद्यावारिधिमा फरेष्ट बायोमेटेरियल्स साइन्स एण्ड इन्जिनियरिङ, अग्र्यानिक एग्रिकल्चर, स्नातकोत्तरमा टुरिजम इन्फ्रास्ट्रक्चर विषयमा ती तहमा भर्नाका लागि शुक्रबार सूचना प्रकाशन गर्ने बताइएको छ । 

अध्यक्ष डा जोशीले समृद्ध र न्यायिक नेपालमा योगदान दिन प्याटेन्ट राइट्स सिर्जना र उत्पादन बढाउन सहयोग पुग्ने गरी विश्वस्तरका प्राध्यापक र विद्यार्थीलाई पनि आकर्षित गरिरहेको दावी गरेका छन् । 

सात सय ४० रोपनी जग्गा पहिचान गरी २०७६ वैशाख १० गते विश्वविद्यालय निर्माणका लागि पूर्वाधार विकास समिति गठन भएको थियो । विश्वविद्यालयले हाल सुविधासम्पन्न प्रयोगशालासहित चारवटा बहुद्देश्यीय भवन निर्माण गरिसकेको छ । 

हाल एक सय ८० रोपनी जग्गामा विश्वविद्यालयको भोगाधिकार प्राप्त भइसकेको छ । यो विश्वविद्यालयको सङ्गठनात्मक प्रक्रिया परम्परागत विश्वविद्यालयभन्दा पृथक रहेको छ । हाल यसको बोर्ड अफ ट्रष्टी (संरक्षक समिति)का अध्यक्ष उद्योगपति पदम ज्योति हुनुहुन्छ भने ट्रष्टीमा स्वदेश र विदेशका ख्यातिप्राप्त प्राध्यापक र सूचना प्रविधि विज्ञका साथै अर्थ र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव र विश्वविद्यालय अनुदान आयोगका सदस्यसचिव पदेन सदस्य हुनुहुन्छ । 



यो विश्वविद्यालयमा कुलपति र उपकुलपति नरहने भएकाले विश्वविद्यालयमा राजनीतिक हस्तक्षेप शून्य विज्ञहरु बताउँछन् । 

सो विश्वविद्यालयको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले गत साउन २२ गते ललितपुरस्थित प्राविधिक कार्यालयबाट उद्घाटन गरेका थिए भने सङ्घीय संसद्बाट विधेयक पारित र राष्ट्रपतिबाट जारी भई मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय ऐन, २०७९ लाई गत साउन १८ गते नेपाल राजपत्रबाट प्रकाशन भएको थियो ।

सो विश्वविद्यालयका लागि नेपाल सरकारबाट काभ्रेपलाञ्चोकको पाँचखाल र नमोबुद्धमा एघार सय रोपनी जग्गा प्राप्तिको निर्णय भइसकेको छ । विश्वविद्यालयले मुलुकका लागि आवश्यक पर्ने सक्षम, उच्च प्राविधिक तथा अन्य विधाका आदर्शवान् जनशक्ति, वैज्ञानिक तथा विचारकको उत्पादन तथा नयाँ ज्ञान र प्रविधि सिर्जना गर्न भविष्यमा तीन हजारसम्म विद्यार्थी भर्ना लिने लक्ष्य लिएको छ ।

अध्यक्ष जोशीले कुनै पनि प्राध्यापक र कर्मचारी स्थायी नभई करारमा राख्ने र कामका आधारमा सुविधा दिने तथा कुनै पनि राजनीतिक दलीय हस्तक्षेप र सङ्गठनको गुञ्जायस नहुने स्पष्ट गरे । यहाँ विद्यावारिधिप्राप्त र अनुसन्धानमा सक्षम व्यक्तिलाई मात्रै प्राध्यापकमा राखिन्छ ।

सक्षम प्राविधिक र वैज्ञानिक जनशक्ति उत्पादन गरी नेपाली अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरी स्थानीय परिवेशअनुरूप ज्ञान र प्रविधिको सिर्जना र अनुकूलन गरी समृद्ध नेपाल निर्माणमा सघाउने उद्देश्यले विश्वस्तरीय अनुसन्धानमूलक विश्वविद्यालयको परिकल्पनासहित उक्त विश्वविद्यालय स्थापना भएकोे हो ।

विश्वविद्यालयले विज्ञान तथा प्रविधिको क्षेत्रमा संयुक्तरूपमा अध्ययन अनुसन्धानका लागि लार्के हिमाल जडीबुटी उद्योगबीच सम्झौता गरिसकेको छ भने काष्ठ उद्योगसँग अनुसन्धान सम्झौताका लागि छलफल अघि बढाएको छ ।

विश्वविद्यालयले हाइकिङ र टर््ेकिङ, च्याउको बीउ उत्पादन, पानीको सरसफाइ र वनमा उत्पादन हुने फोहरको प्रयोग, ललितपुर महानगरलाई पर्यटनमैत्री बनाउने आदि विषयमा अनुसन्धान सुरु गरिसकेको छ । अध्यक्ष डा जोशीले उत्पादनमूलक उद्योगका लागि आवश्यक पर्ने अनुसन्धानका लागि समझदारी गर्ने र ती उद्योगबाट विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीका लागि स्नातकोत्तर तहमा मासिक रु २५ हजार र विद्यावारिधि तहमा मासिक रु ३० हजार छात्रवृत्ति दिलाउने नीति लिइएको बताए ।



विश्वविद्यालयले आफ्नै हातामा पाँच सय किलोवाट क्षमताको सौर्य ऊर्जाबाट प्रतिघण्टा चार सय किलोवाट बिजुली उत्पादन गरी मासिक रु दुई लाखको आम्दानी सुरु गरिसकेको छ भने किवीखेती, कृषि फार्म, हरेक भवनमा बायोग्यास, पानी भण्डारण, मौसम पूर्वानुमान उपकरण आदिको सञ्चालन गरिसकेको छ ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमण (२०७६ असोज २५ र २६) का अवसरमा सो विश्वविद्यालय निर्माण सहकार्यका विषयमा समेत छलफल भएको थियो । चित्लाङको स्वच्छन्द भैरव माध्यामिक विद्यालय र त्यस आँसपासका वन तथा पर्ती समेत गरी ७ सय ४० रोपनी जग्गा विश्वविद्यालयका लागि छुट्टयाइएको छ । 

तत्कालिन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता गरे । उक्त विधेयकमा पनि यो विश्वविद्यालय चित्लाङमा स्थापना गर्ने उल्लेख थियो । 

विधेयकको परिच्छेद २ को ३ मा विश्वविद्यालय मकवानपुर जिल्लाको थाहा नगरपालिकास्थित चित्लाङमा रहनेछ भन्ने उल्लेख छ । यो विश्वविद्यालयका लागि आर्थिक वर्ष २०७६÷०७७ को बजेटमा पनि एक अर्ब १० करोडको बजेट छुटट्याएको थियो । बीचमा चित्लाङबाट विद्यालय अन्यत्र सार्ने षड्यन्त्र भएपछि स्थानीयहरुले दवाव दिएका थिए । 





0 comments

Write Down Your Responses