Powered by Blogger.
पत्रकारिता केन्द्रीय विभागको नवनिर्मित भवन उद्घाटन


काठमाडौं । त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभाग बल्खुस्थित नवनिर्मित भवनको उद्घाटन भएको छ । 

बुधवार बल्खुस्थित विभागको नवनिर्मित भवनको उद्घाटन एक कार्यक्रमकाबीच त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा शिवलाल भुसालले गरेका हुन् ।

लामो सयमसम्म प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस परिसरबाट सञ्चालित पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको नवनिर्मित भवनको उद्घाटन भएसँगै सबै कार्यक्रमहरु नयाँ भवनबाट सुरू भएको छ ।

चार वर्षको अवधि लगाएर अत्याधुनिक र सुविधासम्पन्न भवन निर्माण सम्पन्न भएको हो । उद्घाटन कार्यक्रममा बोल्दै विभागका प्रमुख प्रा.चिरञ्जीवी खनालले रत्नराज्यलक्ष्मी क्याम्पस परिसरमा साना ठाँउ भएकाले विभागको पहलमा भवन निर्माण भएको बताए । 

सीमित स्रोत साधनबीच पनि विभागले गुणस्तरीय पत्रकारिता शिक्षा दिइँदै आएको उनको भनाइ छ । उनले पत्रकारिताको अध्यापन पनि नयाँ ढङ्गबाट लैजानुपर्छ भन्ने उद्देश्यले विभागको पहलमा विश्वविद्यालयले भवन बनाइदिएकाले आफ्नै संरचना बन्न सफल भएको दाबी गरे ।

उनले विभागको कुनै ठूलो कार्यक्रम र नयाँ प्रविधि राख्न समेत ठाँउको अभाव भएकाले पनि सबैको साथ सहयोगमा नयाँ संरचना र पूर्वाधार तयार बनाउन सफल भएको बताए । उनले विभागको सुविधासम्पन्न भवन सजिलो तरिकाले भन्दा पनि सबैको सहयोगबाट सहज भएको उल्लेख गरे ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा शिवलाल भुसालले पत्रकारिता तथा आमसञ्चार केन्द्रिय विभागको सुविधासम्पन्न संरचना बनेसँगै विभागलाई चुनौती पनि थपिएको बताए।

उनले विश्वमा दिनप्रतिदिन हुने नयाँ परिवर्तन,नयाँ विकास र उपलब्धीहरुलाई समेटेर देशभित्र भित्र्याउन सक्नुपर्ने उल्लेख गरे । उनले त्यसको लागि नेपाल सरकारसँग सहकार्य गर्दै जानुपर्ने बताए । उपकुलपति भुसालले पत्रकारिता तथा आमसञ्चार केन्द्रिय विभागको स्तरवृद्धिको लागि विश्वविद्यालयले गर्नु सहयोग सधैँ गर्न तयार रहेको प्रतिवद्धता जनाए ।

भ्याली बाबुरत्न जेभी निर्माण कम्पनीले २१ करोड ५९ लाखको लगतमा भवन निर्माण गर्ने सम्झौता गरेको थियो । नयाँ भवनमा सुविधासम्पन्न कक्षाकोठा, प्राध्यापक कक्ष, रेडियो स्टुडियो, फिल्म अध्ययनस्थल, मल्टिमिडिया कक्ष, पुस्तकालय, अन्तर्राष्ट्रियस्तरको सभाहल, अतिथि (विदेशी) प्राध्यापक आवास लगायत रहेका छन् ।

त्रिविले विसं २०५८ देखि पत्रकारिता तथा आमसञ्चार विषयमा स्नातकोत्तर, विसं २०६७ देखि विद्यावारिधि र विसं २०७४ देखि दर्शनाचार्य तथा विद्यावारिधि तहको अध्यापन प्रारम्भ गरेको थियो । उपप्राध्यापक घमराज लुँइ्टेलले सञ्चालन गर्नुभएको सो कार्यक्रमा उपप्राध्यापक डा. देवराज अर्यालले स्वागत भाषण र प्रा. प्रवलराज पोखरेल पोखरेलले धन्यावाद दिनुभएको थियो । 






0 comments

Write Down Your Responses