Powered by Blogger.
टिस्टुङको बज्रबाराही अजिमा परिशर धार्मिक पर्यटनको केन्द्र बनाइँदै




काठमाडौं । उत्तरी मकवानपुरको थाहा नगरपालिका–६ टिस्टुङ बज्रबाराही मन्दिर परिशरलाई धार्मिक पर्यटनको केन्द्र बनाइने भएको छ । 

बाराहीको अहिले मन्दिर रहेको परिशरबाट पुरानो बाराही थान अर्थात जंगलको माथिल्लो भाग सम्म पुग्न सिंढी तयार गर्ने र माथी डाँडामा विशाल बाराही–अजिमाको मूर्ति प्राण प्रतिष्ठा गर्ने योजना गरिएको छ । 

त्यसका लागि बाराही पर्यटक मार्ग निर्माण समिति गठन भै जनस्तरमा काम समेत सुरु भैसकेको छ । वडा कार्यालयले पनि यस अभियानलाई एउटा ‘ड्रिम प्रोजेक्ट’का रुपमा अघि सारेको छ । सुरु भएको अभियानलाई कसरी मूर्त रुप दिने भन्ने सन्दर्भमा आइतबार काठमाडौंमा वृहत भेला आयोजना गरिएको थियो । 

वडा अध्यक्ष राजेन्द्रभक्त श्रेष्ठ,  काठमाडौंमा रहेका मकवानपुरवाशी र यस क्षेत्रलाइ पर्यटनसंग जोडेर विकास गर्नुपर्छ भन्ने ध्येयले जम्मा भएका बज्रबाराहीवाशीबीच यस सम्वन्धमा आइतबार ब्यापक छलफल भएको थियो । प्रदेश सरकारले दिएको ८ लाख रुपैंयाले काम सुरु गरेकोमा पुन केही बजेट निकासा हुने आश्वासन पाएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । 

नपुग रकम स्थानीयवाशी, बज्रबाराहीप्रति आस्था राख्ने समाजसेवी वा जो सुकै दाताहरुले पनि सहयोग गर्न सकिने बताइएको छ । स्थानीय बासिन्दा हरेक घरबाट कम्तिामा पनि एक सिंढी बनाउन पुग्ने लागत सहयोग गर्दा पनि करिव योजना पुरा हुने संभावना रहेको बताइन्छ । त्यसका लागि वडा कार्यालयले ‘एक घर, एक सिंढी’ नारा पनि अघि सारेको छ । 



सिंढीका लागि मूर्ति बाहेक एक करोड ४० लाख रुपैंया लाग्ने अनुमान छ । यस योजनामा एक हजार ८ वटा सिंढी रहने जनाइएको छ । आइतबारको छलफलमा केही दाताहरुले आफुले उक्त अभियानमा आर्थिक सहायता गर्नको लागि रकमको प्रतिवद्धता समेत जनाएका छन् । 

जसमा निर्माण व्यवसायी प्रदीप जोशीले १ लाख ११ हजार र निर्माण व्यवसायी तथा समाजसेवी एवं कागहिटी टोल सुधार समितिका अध्यष नरेश महर्जन (जुरलाल) ले ५० हजार सहयोगको घोषणा गरेका छन् । 

टिस्टुङबाशी बाहेक अन्यत्रका स्थानीय जो बज्रबाराहीप्रति आस्था राख्छन् उनीहरुले पनि सहयोग रकम दिन थालीसकेका र केहीले प्रतिवद्धता जनाएको कार्यक्रममा जानकारी दिइयो । 


वडा अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा यो अभियान पुरा गरेरै छाड्ने प्रतिवद्धता जनाए । उनका अनुसार सो स्थानबाट साइकल मार्ग र पछि जिपलाइन समेत स्थापना गर्ने योजना रहेको छ । यसो गर्दा उत्तरी मकवानपुरको प्रमुख पर्यटकीय केन्द्र नै बज्रबाराही मन्दिर बन्ने बताइन्छ । 

छलफल कार्यक्रममा निर्माण समितिका अध्यक्ष हरिगोपाल श्रेष्ठले योजना प्रस्तुत गर्दै सबैको सहयोग भएमा अभियान पुरा गरेरै छाड्ने बताउनुभयो । कार्यक्रममा समाजसेवी, व्यवसायी, स्थानीयहरुको उपस्थिति रहेको थियो । 



0 comments

Write Down Your Responses