Powered by Blogger.
नेकपा एमालेको थाहा नगरमा सर्वसम्मत नयाँ नेतृत्व


पालुङ । नेकपा एमाले थाहानगर कमिटिको अध्यक्षमा सुरेन्द्रमान प्रधान निर्वाचित भएका छन् । एमाले थाहानगरको तेस्रो अधिवेशनबाट प्रधान निर्विरोध निर्वाचित भएका हुन् । 

२८ फागुनमा पालुङ जेसिज सभाहलमा भएको अधिवेशनमा अध्यक्ष पदका लागि कल्पना बलामी, बिमल कुमार ढकाल र बलराम थापाले उमेद्वरी दर्ता गराएका थिए ।

वि.सं. २०५३ सालबाट अनेरास्ववियु जनकल्याण मावि प्रारम्भिक कमिटीबाट राजनीति शुरु गरेका प्रधान सोही कमिटिको सचिव, इलाका कमिटी उपसचिव, क्षेत्रीय सचिव समेत भएका थिए । 

वि.सं. २०५९ सालमा जिल्ला कमिटी उपाध्यक्ष, राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय प्रचार विभाग सदस्य समेत भएका थिए । उनले २ कार्यकाल सचिव भएर थाहानगर कमिटिमा काम गरेका थिए ।  एमाले मकवानपुर जिल्ला कमिटि सदस्य पदमा उनी दुई कार्यकाल निर्वाचित भैसकेका छन् । प्रधान पछिल्लो समय थाहानगर सह–ईञ्चार्जको जिम्मेवारीमा रहेका थिए ।

नगर कमिटिको उपाध्यक्षमा हेम कुमार थिङ, सचिव सुजन रायमाझी, उप सचिव (महिला)मा तुलसा विष्ट, उपसचिव खुल्लामा सुर्य बहादुर दोङ निर्वाचित भएका छन् । अधिवेशनले ६७ सदस्यीय नगर कमिटि चयन गरेको छ । 

यसैबीच नेकपा एमाले थाहा नगरपालिका वडा नम्बर २ कमिटीले नव निर्वाचित नगर पदाधिकारीहरुलाई स्वागत गरेको छ ।

वडा कमिटी अध्यक्ष बिष्णुहरी थापाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष अच्युतम प्रसाद ढकाललाई बिदाई गर्दै नव निर्वाचित नगर कमिटी अध्यक्ष सुरेन्द्रमान प्रधानलगायतलाई टीका र खादा लगाएर स्वागत गरिएको हो । 

कार्यक्रममा पूर्व अध्यक्ष ढकालले अब आफ्नो भूमिका परिवर्तन भएको बताउदै आफू थाहाको विकास निर्माणतर्फ जोडिने बताउनु भयो । 

कार्यक्रममा नगर अध्यक्ष प्रधानले वडा कमिटीले जनताको कार्यक्रममा जोड्दै नियमित कार्यक्रम गर्न आग्रह गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रदेश कमिटी सदस्य श्यामभक्त श्रेष्ठले थाहा नगरको २ नम्बर वडा राजनीतिक हिसाबले ऐतिहासिक रहेकोले त्यसको महत्त्व बुझेर काम गर्न आग्रह गर्नुभयो । 

कार्यक्रममा स्थानीय बिनोद कार्की, विष्णु कार्की, दशरथ कार्की र सुजन कार्की नेकपा एमाले प्रवेश गर्नु भएको छ । नव प्रवेशीहरुलाई प्रमुख अतिथि श्रेष्ठ, नगर अध्यक्ष प्रधान र पूर्व अध्यक्ष ढकालले टीका र खादा लगाएर स्वागत गर्नुभयो ।




0 comments

Write Down Your Responses