Powered by Blogger.
आगामी नीति तथा कार्यक्रम र बजेटले जनता सामू नयाँ रक्तसञ्चार गर्नेछः प्रचण्ड


काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पछिल्लो राजनीतिक कदमले देश र जनतामा नयाँ उत्साह थपिएको दाबी गरेका छन् । उनले कांग्रेससँगको सहकार्य तोडेर एमालेसहितका दलसँग गरेको सहकार्यलाई संकेत गर्दै यस्तो भनेका हुन् । 

रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । आफूले सकेसम्म देश र जनताको हितको लागि सबै दललाई विश्वासमा लिएर राष्ट्रिय सहमति कायम गर्नको लागि भूमिका खेलेको पनि दाहालको दाबी छ । 

उनले भने,‘म रिपोर्टर्स क्लबलाई बधाई भन्न चाहन्ुछ । अझ धेरै सफलताको निम्ति शुभकामना व्यक्त गर्न चाहन्छु । अघि यहाँ ऋषिजीले स्वागत मन्तव्य राख्दै गर्दा चाहिनेभन्दा बढि भन्नुभयोजस्ता पनि लाग्ने, कतिपय बेला ठीकै भन्नुभयो होला भनेजस्तो पनि लाग्ने । संघर्ष गर्दै क्लब राष्ट्रियस्तरमा नै स्थापित भयो । उहाँले बोल्दाबोल्दै मलाई शान्ति प्रक्रिया टुँगो लगाउन एकातिर ओली र अर्कोतिर देउवा राखेर सहमति बनाउन भन्नुभयो नभन्दै यहाँबाट गएर आजै साढे ५ बजे तीनै जना हामी एक ठाउँमा बस्दैछौं । मेरो कोशिस सकेसम्म सबै दललाई एक ठाउँमा ल्याएर सहमति बनाउनु नै हो ।’

उनले कतिपय अवस्थामा आफू एमालेसँग नजिक हुँदा कांग्रेसजनलाई र कांग्रेससँग नजिक हुँदा एमालेका साथीहरुलाई नमिठो लागेको पनि यथार्थ सुनाए । 

उनले भने,‘तर, हामीले भन्ने गरेको बिग ६, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख र राष्ट्रियसभाको अध्यक्ष यसरी हेर्यो भने मलाई चाहीँ गर्व छ । यसले के देखाउँछ भने राष्ट्रिय सहमतिको वातावरण बनाउने नै काम गरेका छौं । पत्रकार साथीहरुलाई म राष्ट्रिय सहमतिको वातावरण बनाउनको लागि आग्रह गर्दछु ।’

प्रधानमन्त्री दाहालले मुलुकलाई चाहिएको सुशासन र समृद्धिको लागि त्यहीअनुसार आफ्नो भूमिका निर्वाह गर्न सञ्चारमाध्यमलाई आग्रहसमेत गरे । उनले भने,‘अब सुशासन र विकासको लागि राष्ट्रिय सहमति चाहिएको छ । मैले गएको वर्षदेखि लगातार सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा केही न केही मानक स्थापित गर्ने कोशिस गरेको छु, अन्तर्राष्ट्रिय जगतमा नेपाली जनतको आवश्यकत्ता सम्बोधन गर्ने कोशिस गरेको छ् । अहिले नयाँ शीराबाट त्यो प्रयासलाई अघि बढाउँदैछौं । मेरो प्रयासलाई सबैले सकारात्मक रुपमा लिएको हेरेको छु ।’

उनले विभिन्न राजनीतकि घट्नाक्रममा क्लब साझा मञ्च बनेको बताए । उनले भने,‘क्लब बास्तवमा सबै नागरिकको साझा मञ्चजस्तै भएको छ ।’

सो अवसरमा प्रधानमन्त्री दाहालले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा फेरबदल ल्याउने घोषणा गरे । उनले भने,‘मैले बजेट निर्माणको प्रक्रियामा फेरबदल ल्याएर देश र जनताको हितमा केन्द्रित गर्ने भनेको छु । योपटक बजेट नयाँ तरिकाले तयारी गरिँदैछ । यसपटकको बजेटले तीन करोडभन्दा तलको आयोजनामा हात नहाल्ने भनेका छौं । यो पटकको नीति तथा कार्यक्रम र बजेटले राष्ट्र र जनतासामू नयाँ रक्तसञ्चार तय गर्नेछ ।’

यस्तै नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाको मुक्तकण्ठले प्रशंसा गरेका छन् । उनले पत्रकार धमला हजारमा मात्रै नभएर लाखौंमा एक भएको भन्दै प्रशंसा गरे । 

रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले भने,‘रिपोर्टर्स क्लब नेपालले पुर्याएको योगदानको उच्च कदर गर्दै आगामी दिनमा क्लबले अझ धेरै ठूला ठूला योगदान पुर्याउन सकोस भनेर हार्दिक शुभकामना भन्न चाहन्छु ।’ 

सम्बोधनको क्रममा ओलीले पत्रकार धमला प्रशंसा गर्ने कुरामा दानवीर भएको पनि सुनाए । उनले थपे,‘ऋषिजी अरू कुरामा कुन्नि, प्रशंसा गर्ने कुरामा यति दानवीर हुनुहुन्छ । मभन्दा अगाडि बोल्ने वक्ताहरुको प्रशंसा, म आएपछि पनि मैले पनि सुनें । यो एउटा उहाँको विशेषता हो । किन कञ्जुस हुने ? खर्च हुँदैन्, केही हुँदैन् । म पनि ऋषिजीको प्रशंसा गर्न चाहन्छु–उहाँ हजारमा एक होईन लाखौंमा एक पत्रकार हो । उहाँले पैसा भएर क्ल्ब खोलेको होईन नभईकन खोलेको हो । साथीहरुको समूह भएर खोलेको होईन । भएको भनेको क्षमतामात्रै हो । आँट र आत्मविश्वासले काम गरेको पत्रकार हो–ऋीष धमला ।’

उनले क्लबले र यसका नेतृत्व ऋषि धमलाले देशको लागि ठूलो योगदान पुर्याएको स्मरण गराए । उनले भने,‘बास्तवमा ऋषि धमलाले योगदान पुर्याएको छ । माओवादी द्धन्द्धका बेला, द्धन्द्धकारी र राज्य, सहमत र असहमतका पक्षलाई एउटा फोरम उपलब्ध गराउने आँट ऋषि धमलाले गरेकै हो । भूमिगतलाई पनि उहाँले क्लबमा ल्याएको हो । ऋषि धमलाले क्लबलाई सबैको विचारको साझा प्लेटफर्मको रुपमा विकास गरेकै हो । मान्छेलाई मर्का परेको बेला, ब्ल्याकमेल गर्नुपर्यो भने कहिले कहिले मान्छे रिपोर्टर्स क्लब जाऔं भन्छ । ऋषि धमलामा खासियत छ । विशेषता छ । त्यसैकारण आज ऋषि धमला ऋषि धमालको रूपमा छ । धमलाको हमला साँच्चै हुन्छ । म हिजो राति मिटिङमा थिएँ । १२ बजे राति ऋषि धमला टुपुल्लकै । भोलि आउनैपर्छ भन्नुभयो, बास्तवमा गेट क्र्यास भन्छ नि । आउँछु नभनेसम्म उठ्दै नउठ्ने । धमलाको हमला साँच्चैकै हुन्छ । यो हमला रातको १२ बजेपनि हुन्छ । यहाँ नआएसम्म कहाँ आईपुगियो भनेर मान्छे लगाएको लगाए गर्नुभयो, जे होस–उहाँमा क्षमता छ । मै हुँ भन्नेलाई पनि घिसार्ने क्षमता छ ।’



सम्बोधनको क्रममा ओलीले तत्कालिन राजा ज्ञानेन्द्र शाहले गरेको माघ १९ गतेको कू’को बेलामा क्लबले खेलेको भूमिकाको पनि स्मरण गराए । उनले भने,‘तत्कालिन राजाले सुरुवाती असोज १८ र अन्तिममा माघ १९ गते कू गर्दा र प्रतिबन्ध लगाउँदा क्लब सशक्त फोरम थियो । हामीले त्यसलाई प्रयोग गरेकै हो । त्यतिवेला सजिलो थिएन । अप्ठ्यारै थियो । पत्रकारिताको धर्म– म कसैलाई केही भन्न चाहन्नँ । कतिपयले फाईदा र नोक्सान पनि हेरे । ऋषि धमलाले पत्रकारिताको धर्म रिस्क मोलेर निभाएको छ । मुख्य सञ्चालक, जहाजको क्याप्टेनको रुपमा ऋषि धमला नै हो । ऋषि धमलाबाहेक मलाई अर्को क्लबमा ऋषि थपलिया थाहा छ । क्लब भन्नेबित्तिकै भन्नुहोस–जनता जान्न चाहन्छ आईहाल्छ । यो संस्थाको परिकल्पना संरक्षण, सम्र्वद्धन र योगदानको कुरा गर्दा ऋषि धमलाको नेतृत्व र उहाँको प्रयास प्रशंसनीय छ । राम्रो पहल छ । म ऋषि धमलालाई बधाई भन्न चाहन्छु । थप सफलताको लागि शुभकामना भन्न चाहन्छु ।’

उनले क्लबद्धारा सम्मानित विभिन्न व्यक्तित्वहरुलाई पनि बधाई भने । उनले भने,‘आज थुप्रै मित्रहरु सम्मानित भएको थाहा पाएको छु । प्रोफेसर गान्धी पण्डित । गायक पनि । सबै सुयोग्य पात्रले सम्मान प्राप्त गर्नुभएको छ । उहाँहरुलाई बधाई भन्न चाहन्छु । अघि भनेजस्तै साँढे ५ बजे हाम्रो मिटिङ छ । मैले यहाँबाट विदा लिनु राम्रो हुन्छ । फेरि वरिष्ठ मान्छेले हामीलाई टेरेन भन्ने हुन्छ । क्लब फलोस र फुलोस । सकृति फैलिँदै जाओस । ऋषि धमलाको गुणगाण अझ ठूलो स्वरमा गर्न पाईयोस ।’




0 comments

Write Down Your Responses