भवानी न्यौपाने ‘भावना’, वरिष्ठ साहित्यकार
तपाईंको वास्तविक नाम भवानी कि भावना ?
न्वारानमा गुरुले राखिदिएको नाम भवानी भएपनि मलाई देशभर अनि देश बाहिर सबैले भावना भनेर चिन्नुहुन्छ ।
जीवनमा तपाईंलाई खुसी दिने को को छन् ?
मेरा जन्मदाता, मैले जन्मदिएका सन्तान अनि मेरो कलमले नजिक बनाएका मेरा प्यारा शुभेच्छुकहरू र मेरा प्रिय विद्यार्थीहरू नै मलाई खुसी दिनेहरु हुन् ।
तपाँइले आफ्नो व्यस्त समयलाई कसरी सदुपयोग गर्नुभएको छ ?
मान्छेको जीवन अत्यन्तै छोटो छ, त्यसकारण समय निक्कै कम छ । गर्नुपर्ने कुरा धेरै छन् । जिन्दगीका केही महत्वपूर्ण योजनाहरू छन् तिनलाई पूरा गर्न प्रयासरत छु ।
त्यसैले होला अति व्यस्त भएर मलाई सिङ्गो एक वर्ष एक महिना जस्तो ,सिङ्गो एक महिना एक दिन जस्तो र सिङ्गो एक दिन एक सेकेन्ड झैँ लागिरहेको छ । यही वेगमा हुइँक्याउदैछु जिन्दगी । कसरी बित्दैछ समय पत्तै छैन ।
पछिल्लो समयमा के लेख्दै हुनुहुन्छ ? केही कृति प्रकाशित गर्ने तयारीमा हुनुहुन्छ ?
सरकारी विद्यालयको शिक्षक भएकोले म दिनभर आफ्नो पेशामा व्यस्त छु । बिहान बेलुका आफ्नो घरमा बिहान बेलुकाका दिनचर्या छन् । समय तालिकामा सोही अनुसार चलिरहन्छु । अविरल व्यस्तता मै छ जिन्दगी ।
राति जब अरू सुत्न थाल्छन् म लेख्न बस्छु । यसरी नै पहिले तीन कृति तयार गरेकी थिएँ । अहिले पनि निद्रा कटाएर लेख्दै गर्दा एउटा कथा सङ्ग्रह ,अर्को छन्द कविता सङ्रह र अर्को नियात्रा सङ्ग्रह तयारीमा छन् ।
लेखन र शिक्षण रोज्नुपर्दा कुन कुरालाई बढी प्राथमिकता दिनुहुन्छ ?
दुबै बराबर छन् मेरा लागि । दुबै क्षेत्रमा उत्तिकै गहिरो प्रेम छ मलाई ।
तपाईंको विचारमा साहित्य के हो ?
मेरो विचारमा साहित्य समाजको ऐना हो । यसले विकृति र विसङ्गतिलाई चिरफार गरि चेतनाको दियो बाल्छ । समाजलाई सचेत गराउँछ । समाज परिवर्तनको संवाहक हो साहित्य । जिन्दगीको मेरुदण्ड हो ।
तपाईं कसलाई प्रेम गर्नुहुन्छ ?
म मेरा जन्मदाता ,मैले जन्माएका दुई सन्तान, मेरो घर परिवार ,मेरा प्यारा विद्यार्थीहरू र मेरो कलमलाई चिन्ने र माया गर्ने देशभर रहनुभएका सम्पूर्ण आत्मीयजन र देश बाहिर बस्नुहुने सम्पूर्णलाई प्रेम गर्छु ।
तपाईंको खुसीको सयय ?
लेखन,यात्रा र शिक्षणको समयमा धेरै खुसी लाग्छ मलाई ।
तपाँइले नेपाली सहित्य आकाशमा लााग्ने प्रेरणा कसरी प्राप्त गर्नुभयो ?
बुवा आमा र अग्रज कविका असल कृति पढेर ।
तपाँइले विभिन्न्न राष्ट्रिय तथा अन्तराष्ट्रिय सम्मान तथा पुरस्कारहरू पाइरहँदा कस्तो महशुस गर्नुहुन्छ र के टिप्पणी छ यसबारे ?
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सम्मान र पुरस्कार प्राप्त गर्दै गर्दा आफ्नो कर्म प्रतिको सम्मान हो भन्ने कुरा अनुभूत हुन्छ । राष्ट्रमा केही गर्ने जिम्मेवारी पाएको महशुस हुन्छ । ऊर्जाको मूल बग्छ रगतका कणकणमा ।
साहित्य तर्फ कुन विधातर्फ तपाँइको विशेष रुचि र लगाव छ अनि यसको कारण के हो ?
साहित्यमा मलाई सबै विधा उत्तिकै प्यारो लाग्छन् । प्राय कथा ,कविता ,गजल र मुक्तकमा बढी कलम चलिरहेकोछ मेरो ।
लेखन र अध्यापनसंँगै घरपरिवार र साथीभाइसँग घूमफिरमा कत्तिको समय दिने गर्नु भएको छ , अहिलेसम्म कहाँ कहाँ घुम्नुभयो र अब घुम्ने के योजना छ ?
लेखनमा समाहित भएको मेरो जीवनको धेरै समय यसमै बितिरहेका छन् । यात्रा मेरो जिन्दगीको प्राण हो ,स्वास हो । म अति धेरै यात्रा गर्छु । यात्राले जिन्दगीमा ऊर्जाशील र प्रेरणाको मूल फुटाइरहेकोछ । म सुदूर पूर्व देखि सुदूर पश्चिम नेपालका थुप्रै जिल्ला घुमेकी छु । अबको यात्रा खप्तड क्षेत्र र रारा हुनेछ ।
परिवार, श्रीमान र बालबच्चाबाट लेखनी यात्रामा अघि बढ्न कत्तिको साथ सहयोग छ ?
साहित्यमा बच्चाहरूले निक्कै साथ दिए । मेरो कार्यक्रम र यात्रालाई उनीहरूले कहिले बाधा पुर्याएका छैनन् । परिवारबाट साथ मिलेको छ ।
साहित्यकारहरु एकोहोरो हुन्छन् भन्छन्, घर परिवारलाई कत्तिको समय दिने गर्नुभएको छ ?
अवश्य पनि । यो भनाइमा म सहमत छु । साहित्यमा लागेको व्यक्ति एकहोरो हुन्छ । खासै समय दिन सकिरहेकी छैन ।
छन्दमै कलम चलाउने प्रेरणा कसरी आयो ?
जन्मदिने बुवा आमा र राष्ट्रकवि माधव घिमिरेको प्रेरणाले नै छन्दमा अनवरत कलम चलाइरहेकी छु ।
मोफसलको जिल्ला दाङमा रहेर शिक्षक पेशासंँगै साहित्य सिर्जनामा तल्लिन हुँदा कस्तो अनुभूति हुने गर्छ ?
आफूलाई भाग्यमानी लागेको छ । व्यस्त र मस्त गतिमा चलाउँदैछु जिन्दगीको गाडी ।
अहिलेसम्म नेपाली साहित्य आकाशमा लागेर के के पाउनुभयो अनि के के गुमाउनुभयो ?
साहित्यमा लागेपछि आफूलाई चिन्ने र माया गर्ने देशभर शुभेच्छुक मित्रहरू पाएँ । खुसी र ऊर्जा ग्रहण गर्न पाएँ । मस्तिष्कमा आउने अनावश्यक चिन्ता हटाउँदै गए ।
देशका विभिन्न भूगोलमा पुगेर नेपाली भाषा र साहित्यको सेवा गर्दै आउनुभएको छ, त्यस्ता अविश्मरणीय स्थानहरू कुन कुन हुन् ?
नुवाकोट ,मकवानपुर ,विराटनगर ,चितवन , पोखरा ,महेन्द्र नगर आदि स्थान सदैव स्मरणीय छन् मेरो जिन्दगीमा ।
साहित्यमा लागेर जीवनमा कत्तिको खुसी पाउनुभएको छ ?
अत्यन्त खुसी छु यस क्षेत्रमा उभिएपछि । देशभर चिन्ने ,सम्झिने शुभेच्छुकहरू पाएकी छु ।
तपाँइको बुझाइमा साहित्य के हो ?
साहित्य समाजको ऐना हो । चेतनाको मूल हो । साहित्य शब्द ,भाव ,बिम्ब ,प्रतीक ,श्रृङ्गार ,रस र अक्षरहरूको महासागर हो ।
साहित्यकारहरु सधैं आर्थिक संकटमा हुन्छन् भन्छन्, तपाँइलाई त्यस्तो संकट परेको अनुभुति छ की छैन ?
साँच्चिकै यो कुरा सत्य हो । मस्तिष्कले दिनहुँ साहित्यिक सृजना जन्माइरहेको छ । लेख्दै जाँदा धेरै विधाका कृति तयार भए तर आर्थिक समस्याका कारण निकाल्न सकिएको छैन ।
एउटा कृति निकाल्न कमसेकम सतहत्तर देखि असी हजार खर्च लाग्छ । जीवन चलाउन पुगेको छ तर पुस्तक निकाल्न मुस्किल छ । त्यसैले केही समय लेखेर राख्दैछु । आर्थिक जुटेपछि पुनः अन्य कृति निकाल्ने योजना छ ।
तपाँइको नेतृत्वमा एउटा साहित्यीक संस्था पनि जन्मिएको सुनिएको छ, यसबारे प्रकाश पारिदिनुहुन अनुरोध गर्दछु ?
स्वतन्त्र साहित्य नेपाल भन्ने संस्था जन्मिएकोछ । देशभर कुनै गुटउपगुटमा नलागेका स्वतन्त्र साहित्यकार जसले घरमा बसेर छन्दमा कलम चलाउँदै आउनुभएको छ उहाँहरू सबैलाई एउटै मालामा गाँसेर छन्दको संरक्षण गर्दै अगाडि बढ्ने यो सस्थाको पक्ष रहेकोछ ।
तपाँइको नजरमा साहित्य के हो, र साहित्यकारहरु केका लागि साहित्य लेखन गर्छन्, तपाँइ किन लेख्नुहुन्छ ?
साहित्य प्राण हो । प्राण धान्ने अक्सिजन हो । समाजको दर्पण हो । म आत्मसन्तुष्टि र समाज अनि राष्ट्रका लागि लेख्छु ।
0 comments
Write Down Your Responses