काठमाडौं । समावेशी आवाज, जनचासो र विकासका मुद्दाहरुलाई निरन्तर उजागर गर्दै आएको दामन पोष्ट साप्ताहिक आज आफ्नो प्रकाशन यात्राको १९औं वर्षमा प्रवेश गरेको छ । २०८२ साउन २ गते शुक्रबारको नयाँ अंकमार्फत पत्रिकाले वर्ष १९, अंक १ बाट नयाँ यात्रा सुरु गरेको हो ।
१८ वर्षअघि‘विकास, राजनीति, जनचासो र समावेशी आवाजको संवाहक’ भन्ने नारासहित सुरु गरिएको दामन पोष्ट साप्ताहिकले सुरुदेखि नै सिमान्तकृत, उपेक्षित तथा तल्लो वर्गका आवाज र मुद्दालाई प्राथमिकता दिँदै आएको छ । आमसञ्चारको क्षेत्रमा साना लगानीका माध्यमप्रति देखिएको बजारको अविश्वासबीच पनि जनताद्वारा जनताकै लागि सञ्चालित माध्यमका रूपमा दामन पोष्ट निरन्तर रूपमा प्रकाशनमा रहँदै आएको छ ।
प्रेस काउन्सिल नेपालको पत्रपत्रिका वर्गिकरणमा ‘क’ वर्गमा पर्दै आएको दामन पोष्ट उत्तरी मकवानपुरको चर्चित पर्यटकीय क्षेत्रलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा थप प्रचार–प्रसार र प्रवद्र्धनको लक्ष्य सहित अघि बढेको छ ।
आजको डिजिटल युगमा प्रवेशसँगै, दामनपोष्ट डटकमको औपचारिक सुरुवात २०७९ पुस २५ गते सूचना तथा प्रसारण विभागबाट इजाजत लिएर गरिएको हो । यद्यपि, ९ वर्ष अघि अर्थात २०७३ मंसीर २८ मा नै दामन पोष्ट डटकम न्युज पोर्टल प्रेस काउन्सिल नेपालमा दामन पोष्ट साप्ताहिकको सहप्रकाशनको रूपमा सूचीबद्ध भइसकेको थियो ।
विकेन्द्रित सञ्चारको अभ्यास गर्दै दामन पोष्टले विगत १८ वर्षदेखि सुशासन, स्थायित्व, जनअधिकार, ‘थाहा’ पाउने हक, लोकतन्त्र र गणतन्त्रका पक्षमा निर्भीक रूपमा आवाज उठाउँदै आएको छ ।
प्रकाशनको प्रारम्भिक चरणमा सम्पादकका रूपमा पुष्कल ढकाल रहनु भएको थियो भने संस्थापक प्रकाशक तथा प्रधान सम्पादकको भूमिकामा शन्तराम बिडारी रहनुभएको थियो । पछिल्लो समय सम्पादकीय नेतृत्व बिडारीले निरन्तर सम्हालिरहनुभएको छ भने प्रकाशकका रूपमा संगीता अधिकारी कार्यरत हुनुहुन्छ ।
दामन पोष्टको १९औं वार्षिकोत्सवको यस गौरवपूर्ण अवसरमा पत्रिका सम्पूर्ण पाठक, लेखक, विज्ञापनदाता, सहयोगी, शुभेच्छुक तथा समर्थकहरूलाई हार्दिक आभार प्रकट गर्दै धन्यवाद ज्ञापन गर्दछ । आगामी दिनमा अझ सशक्त, विश्वसनीय र जनउत्तरदायी पत्रकारिताका साथ अघि बढ्ने प्रण दामन पोष्टको रहनेछ ।
र, सम्पादक शन्तराम बिडारी प्रेस काउन्सिल नेपालको बोर्ड सदस्यमा नेपाल सरकारबाट मनोनयन भएकाले सो पदमा बहाल रहुन्जेलका लागि यस साप्ताहिकको सम्पादक पदबाट पनि अलग हुनुभएको छ।
पत्रपत्रिका वर्गिकरण समेत गर्दै आएको प्रेस काउन्सिलको कार्यमा रहँदा सो कार्यमा स्वार्थ नबाझियोस् भनेर साप्ताहिकको सम्पादकबाट अलग हुनु भएको हो । तथापि अनलाइन तर्फको प्रधान सम्पादकको जिम्मेवारी भने कायमै रहनेछ ।
0 comments
Write Down Your Responses