Powered by Blogger.
थाहा आन्दोलनलाई सूचनाको हकसंग जोडेर लिपिवद्ध गर्न राष्ट्रिय सूचना आयोग समक्ष आग्रह


काठमाडौं । नेपालमा सूचनाको हकका अभियन्ताका रूपमा ३० को दशकदेखि ’थाहा आन्दोलन’ लाई अभियानका रूपमा सुरु गर्नुभएका रुपचन्द्र बिस्ट ’रुदाने’को थाहा अभियानलाई सूचनाको हकसंग जोडेर लिपिवद्ध गर्न आग्रह गरिएको छ । सूचनाको हक सम्वन्धी ऐन २०६४ अनुसार सूचनाको हक व्यवस्थित गर्न स्थापित संस्था राष्ट्रिय सूचना आयोगलाई यो आग्रह गरिएको हो । 

रुपचन्द्र विष्टका जनमुखी सहकर्मी तथा संविधानसभा सदस्य रामनारायण बिडारीको अगुवाइमा एक टोलीले आयोग पुगेर यस्तो आग्रह गरेको हो । टोलीमा दामन पोष्ट साप्ताहिकका सम्पादक तथा प्रेस काउन्सिल नेपालका सदस्य शन्तराम बिडारी पनि सहभागी थिए । 

छलफलमा उहाँको योगदानलाई कसरी रास्ट्रीय सूचना  आयोगमार्फत स्मरण र लिपिबद्ध गर्न सकिन्छ भन्ने विषयमा गम्भीर छलफल भएको बताइएको छ । छलफल कार्यक्रममा संविधान सभा सदस्य तथा वरिष्ठ अधिवक्ता रामनारायण बिडारी,  प्रमुख आयुक्त डा.सुरेश आचार्य, आयुक्तद्वोय गगन विष्ट  र दुर्गा भण्डारी सहित आयोगका सचिब लगायत कर्मचारीहरु उपस्थित थिए । 

सुचना आयोगका पदाधिकारीसंग थाहा दर्शन र अन्तर्राष्ट्रिय थाहा दिवश वारेमा छलफल भएको र भविष्यमा यसको उपलब्धि भावि सन्ततिले पाउलान् भन्ने आशा रहेको रामननारायण बिडारीले जानकारी दिनुभयो । 

नेपालका सन्दर्भमा सूचनाको हकका विषयमा जे–जति संवैधानिक र कानुनी प्रबन्ध भएको छ, त्यो प्रबन्ध स्वतःस्फूर्त रूपमा होइन, दीर्घकालीन सामाजिक आन्दोलन र विचारधारात्मक सङ्घर्षको परिणामस्वरूप सम्भव भएका हुन् । यस सन्दर्भमा ‘थाहा आन्दोलन’ तथा उक्त आन्दोलनका प्रणेता रुदानेको योगदानलाई उपेक्षा गर्न मिल्दैन । 

विसं २०३० को दशकमा रुदानेका नेतृत्वमा सुरु भएको ‘थाहा आन्दोलन’ केवल सूचना प्रवाहको मागमा सीमित थिएन । यो आन्दोलन समाज रूपान्तरणको तीव्र आकाङ्क्षाबाट प्रेरित थियो । यसले राज्य र नागरिकबिचको दुरी घटाउने, जनतालाई सूचना र चेतनाबाट सशक्त बनाउने र ग्रामीण जनजीवनमा सचेतनाको विकास गर्ने प्रयास ग¥यो ।

उत्तरी मकवानपुरको दामन–पालुङमा जन्मिएका रूपचन्द्र विष्टले प्रतिपादन गरेको ‘थाहा’ अवधारणा सूचना मात्र होइन, चेतना, आत्मनिर्भरता र सामाजिक न्यायसँग गाँसिएको थियो । 

उहाँले यही चेतना जनतामा जगाउन, गाउँ, टोल, सहर, चोक, चौतारी, सवारीसाधनमा मात्र होइन मान्छेका छातीमा समेत ‘थाहा’ लेख्दै हिँड्नुहुन्थ्यो । लेख्ने मात्र होइन त्यस माध्यमबाट उहाँले चेतनाको जागरण पैदा गराउनमा महत्पूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । 



विष्टलगायत तत्कालीन जनमुखी सहकर्मी रामनारायण बिडारी, अजेयराज सुमार्गी, बलराम बललगायतको समूहले ‘थाहा पाउने’ प्रक्रियालाई नागरिक सशक्तीकरणको आधार मान्नुभयो, जसले अन्ततः नागरिकले राज्यसँग उत्तरदायित्व माग्न सक्ने क्षमताको विकास गर्दै गयो । 

नेपालमा सूचनाको हकसम्बन्धी कानुनी मान्यता र संस्थागत अधिकार यस रूपमा स्थापित हुनुभन्दा धेरै पहिला थाहा आन्दोलनले उठाएका मुद्दाले सूचनाको हकको वैचारिक जग निर्माणमा ठुलो सहयोग पु¥याएको स्पष्ट छ । 

नेपालको सामाजिक रूपान्तरणमा योगदान पु¥याएका विभिन्न आन्दोलनमध्ये ‘थाहा आन्दोलन’ विशिष्ट छ, जसले ग्रामीण जनजीवनमा चेतना, सशक्तीकरण र सुशासनको अवधारणा फैलाउन कोसिस ग¥यो । यस आन्दोलनका प्रणेता ‘रुदाने’ ले ‘मानिस चेतनशील प्राणी हो, उसले थाहा पाएन भने बाँच्नुको अर्थ छैन’ भन्ने उद्धोषमार्फत सूचना प्राप्तिको अधिकारलाई नागरिकको अस्तित्वसँग गाँस्नुभएको थियो । 

सूचनाको हक कानुनी रूपमा स्थापना हुनुभन्दा करिब चार दशकअघि नै यस विषयमा समाजमा वैचारिक आन्दोलन तथा रचनात्मक क्रियाकलाप विद्यमान थिए । रुदाने नेतृत्वको थाहा आन्दोलनले नेपाली समाजमा सूचना र चेतना फैलाउने बिउ रोपेको हो । यसको प्रत्यक्ष वा परोक्ष प्रभाव सूचनाको हकसम्बन्धी ऐन निर्माणमा स्पष्टसँग परेकै छ ।  

मूलतः थाहा अभियान विसं २०३०–४० को दशकतिर तत्कालीन परिवेशको समाज सुधारक तथा चिन्तक रूपचन्द्र विष्ट ‘रुदाने’ द्वारा मकवानपुर जिल्लाको पालुङ क्षेत्रबाट सुरु गरिएको एक अभियान थियो ।




0 comments

Write Down Your Responses