काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै जाँदा नेकपा (एमाले) ले आफ्नो संगठनात्मक तयारीलाई तीव्र बनाएको छ । यही सिलसिलामा काठमाडौंको कलंकीमा नेकपा (एमाले) थाहा–काठमाडौं सम्पर्क मञ्चको चुनाव केन्द्रीत बृहत् भेला सम्पन्न भएको छ ।
भेलाले निर्वाचन अभियानलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यसहित बिजय विक्रम श्रेष्ठ को संयोजकत्वमा ‘निर्वाचन परिचालन कमिटी’ गठन गरेको छ । उक्त कमिटीले काठमाडौंमा रहेका थाहा नगरपालिकावासी मतदाताहरूसँग समन्वय गर्ने, उनीहरूलाई मतदानका लागि गाउँसम्म लैजाने र नेकपा (एमाले) को पक्षमा जनमत सिर्जना गर्ने जिम्मेवारी पाएको छ ।
भेलालाई सम्बोधन गर्दै नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा मकवानपुर क्षेत्र नं २ का उम्मेदवार महेश कुमार बर्तौलाले आसन्न निर्वाचनले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण दिशा तय गर्ने बताएका छन् ।
उनले काठमाडौंमा रहेका प्रत्येक थाहावासीलाई “एमालेको एम्बेसेडर” का रूपमा भूमिका खेल्दै गाउँ–गाउँमा मत सिर्जना गर्न आग्रह गरे।
“यो केवल एउटा सिटको लडाइँ होइन, यो विकास र समृद्धिको अभियानको निरन्तरता हो, उपयुक्त नीति निर्माणको अभियान हो,” बर्तौलाले भने, “त्यसैले हरेक कार्यकर्ताले अहिलेदेखि नै एमालेको पक्षमा जनलहर पैदा गर्न सक्रिय रूपमा लाग्नुपर्छ।”
एमाले मकवानपुर–२ का निर्वाचन फोकल पर्सन आशिष अस्लामीका अनुसार भेलामा थाहा नगरपालिकाबाट विभिन्न पेशा र व्यवसायका सिलसिलामा काठमाडौंमा बसोबास गर्ने १६० भन्दा बढी सक्रिय कार्यकर्ता तथा शुभेच्छुकहरूको उत्साहजनक उपस्थिति रहेको थियो।
कार्यक्रममा संविधानसभा सदस्य सुभाष चन्द्र ठकुरी, सम्पर्क समन्वय कमिटीका अध्यक्ष अशोक ठकुरी, एमाले नाहा नगर कमिटीका निवर्तमान अध्यक्ष अच्यूतम प्रसाद ढकाल, सम्पर्क मञ्च जिल्ला अध्यक्ष चित्र पुलामी, एमाले थाहा नगर उपाध्यक्ष हेम लामा लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
भेलाले काठमाडौंमा रहेका मतदातालाई मतदानका लागि गाउँसम्म लैजाने, टोल–टोलमा चुनावी अभियान विस्तार गर्ने तथा जनसम्पर्कलाई थप सशक्त बनाउने कार्ययोजना समेत पारित गरेको छ ।





0 comments
Write Down Your Responses