Powered by Blogger.
प्रज्ञा स्मृति साइक्लिङ म्याराथन चैत १८ मा


काठमाडौं  । दोस्रो संस्करणको प्रज्ञा स्मृति साइक्लिङ म्याराथन शनिबार चितवनमा हुने भएको छ । प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजना र प्रदेश खेलकुद परिषद् बागमतीको साझेदारीमा चैत १८ गते दोस्रो प्रज्ञा स्मृति साइक्लिङ म्याराथन आयोजना हुन लागेको हो ।

प्रतिष्ठानले आइतबार प्रतियोगिताका बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई जानकारी गराएको छ । प्रतियोगिताका सहसंयोजक रवीन्द्र श्रेष्ठले प्रज्ञा स्मृति प्रतिष्ठानका संरक्षकसमेत रहेका प्रधानमन्त्री दाहाललाई प्रतियोगिताका बारेमा जानकारी गराएका हुन् ।

प्रतियोगितालाई चार स्पर्धामा विभाजन गरी ६५ किलोमिटर दूरीको साइक्लिङ म्याराथन आयोजना हुन लागेको हो । ‘एलिट म्यान एन्ड वुमन’ स्पर्धामा १९ वर्षदेखि ३९ वर्षसम्मका महिला तथा पुरुषले भाग लिन पाउनेछन् । यो समूहबाट पहिलो हुनेले ५० हजार, दोस्रो हुनेले ४० हजार र तेस्रो हुनेले ३० हजार नगद पुरस्कार पाउने छन् ।

 यसैगरी ‘मास्टर म्यान’ स्पर्धामा ४० वर्ष वा सोभन्दा माथिका पुरुषले प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् । यो समूहबाट पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ३० हजार, २५ हजार र १५ हजार नगद पुरस्कार पाउनेछन् ।

यसैगरी ‘जुनियर म्यान एन्ड वुमन’ अन्तर्गत १७ र १८ वर्षका युवायुवतीले भाग लिन पाउनेछन् । यो विधामा पहिलो, दोस्रो र तेस्रो हुने प्रतियोगीले क्रमशः १५ हजार, १२ हजार र १० हजार नगद पुरस्कार पाउने छन् । 

‘चितवन स्पेसल म्यान एन्ड वुमन’ विधाअन्तर्गत पहिलो, दोस्रो र तेस्रो हुने प्रतियोगीले क्रमशः ३० हजार, २० हजार र १५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।




0 comments

Write Down Your Responses