Powered by Blogger.
फोहोरलाई स्रोतमा वर्गीकरण गरी मोहर कमाऔँ

 




टीकादास श्रेष्ठ

हाम्रा नेतृत्वले सहरका सुन्दरतासँग जोडिएको फोेहोरको व्यवस्थापनमा दिर्घकालीन सोच राखेर काम गर्ने प्रणालीको विकास गर्न नसक्दा अहिले यो विषय हामी सबैको टाउको दुखाइको विषय बनिरहेको छ । यसकै कारण हाम्रा पुर्खाले देखेको सुन्दरता हामीले देख्न नपाउने अवस्था बनेको छ । 

आधुनिकता र सहरीकरणसँगै बढ्ने प्रदुषण तथा फोहोरको मात्रालाई मध्यनजर गरी फोहोरलाई बैज्ञानिक ढंगबाट व्यवस्थापन गर्ने प्रणालीको विकास गर्ने काम विगतका नेतृत्वले नगर्दा अहिले पनि ल्याण्डफिल्ड साइटमा गोलमोटल सबै प्रकारका फोहोरलाई खाल्डोमा पुर्न पठाउनमा नै महानगरपालिका, उप महानगरपालिकाहरुको दैनिकी जस्तो बनेको छ ।

 यसरी फोहोर स्रोतमा वर्गीकरण नगरी सिधै ल्याण्डफिल्डमा पठाउँदा खाल्डो तोकिएको भन्दा छोटो अवधिमा नै भरिएर अर्को नयाँ खाल्डो तयार गर्नुपर्ने बाध्यता रहेको छ । 

केही दिन अघि पंक्तिकारले एउटा गाउँपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी हुने अवसर पाएको थियो । उक्त गाउँ पालिकाले यस वर्ष दुई ठाउँमा डम्पिङ साइड निर्माण गरेर बोतल, प्लाष्टिक लगायतका फोहोरहरु खाल्डोमा पुर्नका लागि बजेट तथा कार्यक्रम अगाडि बढाएको रहेछ । यसवाट पनि के थाहा हुन्छ भने काठमाडौं लगायतका प्रमुख सहरहरुमा टाउँको दुखाइको विषय बनेको फोहोरको सवाल विस्तारै अब ग्रमीण भेगहरुमा समेत देखा पर्न थालेको छ । 

नयाँ बनेका सिंहदरवारले समेत सही ढंगबाट फोहोरको व्यवस्थापन नगर्ने हो भने नेपाललाई डम्पिङ साइटको देश भनेर चिनाउन लामो समय लाग्दैन । हरेक नगरपालिका र गाउँपालिकाहरु समेत विस्तारै सहकारीकरणतर्फ उन्मुख भइरहेको अवस्थामा फोहोरको बैज्ञानिक ढंगबाट व्यवस्थापन गर्न जरुरी छ । 

अन्यथा यो भविष्यमा काठमाडौ लगायतका प्रमुख सहरहरुको टाउँको दुखाइको विषय बनेको फोहोरको सवाल गाउँमा समेत समस्या बनेर देखा पर्नेछ । विगत लामो समयदेखि डम्पिङ साइट आसपासका नागरिकहरुले व्यहोर्नु परेको दिर्घकालीन समस्या ग्रामीण भेगका जनताले समेत व्यहोर्नुपर्ने निश्चित छ ।  



पछिल्लो समय बढ्दो जनसख्या र बढ्दो सहरीकरणले गर्दा काठमाडौं लगायतका सहरहरु दिनप्रतिदिन प्रदुषित बन्दै गइरहेको छ । 

काठमाडौंको गल्ली, चोक, नदी तथा सार्वजनिक स्थलहरुमा थुप्रिएर जनजिवन प्रभावित बनाउने फोहोरको मुद्दा केही समयअघि प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा समेत प्रवेश गरेको थियो । काठमाडौँ महानगरपालिकाको अधिकार क्षेत्रभित्र रहेको सिंहदरबारले फोहोर व्यवस्थापन लगायत स्थानीय तहको काम कारवाहीमा असहयोग गरेपछि स्थानीय र केन्द्र सरकारको बीचमा फोहोर व्यवस्थापनकै विषयमा लामो समयसम्म टकराव उत्पन्न भएर उक्त मुद्दा अदालतसम्म नै पुगेको थियो । 

काठमाडौँ महानगरको फोहोरलाई व्यवस्थापन गर्नको लागि स्रोतमै वर्गीकरण गरी जिरो वेस्ट नीति लिएको भएपनि उक्त नीति काठमाडौँ महानगरपालिकाले पूर्ण रुपमा कार्यान्वयन गर्न सकिरहेको छैन । 

कुहिने र नकुहिने फोहरको वर्गीकरण तथा व्यवस्थापन ः

फोहोर व्यवस्थापनको सवालहरु उठ्दा फोहोरको श्रोत कहाँ र कसरी उत्पादन हुन्छ भन्ने कुरामा ध्यान केन्द्रित गर्नुपर्ने हुन्छ । फोहोर उत्पादन हुने क्षेत्रहरुमा घर सामुदायिक निकाय, व्यापारिक क्षेत्र, उद्योग, स्वास्थ्य सेवा केन्द्र, स्कुल–कलेज, विश्वविद्यालय, पुस्तकालय, सरकारी कार्यालयहरु र मासु पसल लगायतका क्षेत्रहरुबाट फोहोर उत्पादन हुने गर्दछ । 

फोहर उत्पादन हुने क्षेत्रको पहिचान पश्चात कसरी ती निकायहरूबाट व्यवस्थित रूपमा सम्बन्धित क्षेत्रमै वर्गीकरण गरेर फाल्नुपर्ने वा उपयोग नहुने फोहोरको मात्रालाई सुन्यमा झार्न सकिन्छ भन्नेतर्फ ध्यान दिनु आवश्यक छ ।

 फोहोर जहाँबाट उत्पादन हुन्छ त्यहीँ नै वर्गीकरण गर्ने परिपाटी लागू गर्न सकियो भने स्रोत भन्दा टाढाको स्थानमा सिर्जना हुने जटिलता स्वतः हटेर जान्छ भन्ने कुराको अभ्यास नेपाल सरकार शहरी विकास मन्त्रालय अन्तर्गत अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति मातहतमा सञ्चालित फोहोर मैला व्यवस्थापन तथा सामाजिक परिचालन कार्यक्रम अन्तर्गत एकीकृत विकास समाज नेपाल –आइडीएस) ले फोहोर व्यवस्थापनको नविन सोचहरु समुदायमा फैलाउने काम गर्दै आएको छ । 



फोहोरको प्रकृति अनुसार फोहोरलाई तीन भागमा वर्गीकरण गरिन्छ । जसमा जैविक तथा कुहिने फोहोर, अजैविक तथा नकुहिने फोहोर, र संक्रमित तथा हानिकारक फोहोर पर्दछन् । यी प्रकृति अनुसारका फोहोरलाई हामीले स्रोतमा फोहोरकोे वर्गीकरण गर्नुपर्ने हुन्छ । वर्गीकरण गर्ने क्रममा कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै संग्रह गर्नुका साथै कुहिने फोहोरलाई कम्पोष्ट मल बनाउन सकिन्छ । जसलाई हामी अर्गानिक कृषि सामग्री उत्पादनमा उपयोग गर्न सक्छौँ । काठमाडौं उपत्यका लगायतका प्रमुख सहरहरुमा कौशी खेतीलाई प्रवर्धन गर्नका लागि कम्पोष्ट मलले महत्वपूर्ण भूमिका खेलिरहेको छ । 

नकुहिने फोहोरहरु मध्ये कतिपय फोहोरहरु हामी प्रसोधन नगरीकन पुनः प्रयोग गर्न सक्छौँ भने कतिपय नकुहिने फोहोरलाई प्रशोधन गरेर प्रयोग गर्न सकिन्छ । पुनः प्रयोग गर्न नमिल्ने र प्रशोधन पनि गर्न नमिल्ने खालका फोहोरलाई मात्र हामीले वर्गीकरण गरेर ल्याण्डफिल्ड साइटमा सुरक्षितपूर्वक पठाउने प्रबन्धका लागि पनि स्रोतमा नै फोहोरको वर्गीकरण गर्ने प्रणालीलाई अनिवार्य रुपमा अगाडि बढाउन आवश्यक छ । 

तेस्रो संक्रमित तथा हानिकारक फोहोर जसले मानव स्वास्थ्यलाई नै गम्भीर असर गर्ने गर्दछ । जस्तै मिति गुज्रिएको औषधि, ब्याट्री, अस्पताल तथा स्वास्थ्य संस्थाहरुबाट निस्कने संक्रमित तथा हानिकारक फोहोरहरुहरुलाई स्रोतमा नै छुट्याएर राखियो भने त्यसलाई विशेष प्रविधिबाट प्रशोधन गरी विसर्जन गर्न सकिन्छ ।

 त्यसैले तपाइँ हामीले स्रोतमा नै फोहोरलाई वर्गीकरण गरेर छुट्टाछुट्टै भाँडोमा राख्न सक्यौँ भने यो प्रणालीले हाम्रो वातावरणीय सुन्दरता निर्माणमा सहयोग गर्नुको साथै फोहोरको परिणाम घटन गई ल्याण्डफिल्ड साइटमा जाने फोहोरको मात्रालाई कम गर्न सहयोग पु¥याउँदछ । यो प्रणालीले गर्दा निश्चित समय अवधिका लागि निर्माण गरिएको ल्याण्डफिल्ड समय अगावै भरिने सम्भावना पनि घटेर जान्छ । एक प्रकारले भन्ने हो भने ल्याण्डफिल्डको देश भनेर परिचित हुन लागेको विकराल अवस्थालाई हटाउनका लागि पनि अवको पहिलो काम भनेको स्रोतममै फोहोरको वर्गीकरण गर्नु नै हो ।  

एउटा नयाँ अभ्यास 

यो पंक्तिकार स्वयं  केही समय अघि काठमाडौँ महानगरपालिका वडा नंं. ९ को फोहोरमैला व्यवस्थापन सम्बन्धी अनुगमन तथा मूल्यांकनको कार्यमा समेत सहभागी भएको थियो । आइडिएस नेपाल र वागमति सुन्दरता सरोकार मञ्चले आयोजना गरेको उक्त कार्यक्रममा अनुगमन तथा मूल्यांकन कार्यमा सहभागी हुँदा काठमाडौंबासीहरुले कसरी फोहोर व्यवस्थापन गरेका छन् भन्ने कुराको अनुगमन गरिएको थियोे । 

अनुगमनका क्रममा फोहोर उत्पादन हुने क्षेत्रहरुमा घर सामुदायिक निकाय व्यापारिक क्षेत्र उद्योग स्वास्थ्य सेवा केन्द्र स्कुल–कलेज विश्वविद्यालय पुस्तकालय सरकारी कार्यालयहरु मासु पसल लगायतका क्षेत्रहरुमा वडा कार्यालयका प्रतिनिधि, प्रहरी प्रतिनिधि र स्थानीय युवा प्रतिनिधि सहितको टोली पहिलो पटक अनुगमनमा जाँदा अनुगमनकर्ताहरुलाई सुरुमा त झट्ट विश्वास नगर्ने तर अनुगमन कार्य स्रोतमै फोहोरको बर्गीकरण गर्ने प्रणालीको विकास गर्नका लागि विभिन्न चरणमा गर्ने र सो को प्रतिवेदन स्थानीय वडा कार्यालयमा रहने र स्थानीय तहबाट सेवा सुविधा दिने बेलामा सो प्रतिवेदनलाई समेत आधार मानेर सेवा सुविधा दिने परिपाटीको सुरुवात गर्न लागेको कुरा सुनेपछि भने स्रोेतमा नै फोहोरको वर्गीकरण गर्ने विषयमा उतरदाताहरु विश्वस्त बनेका थिए । 



स्रोतमा फोहोरको वर्गीकरण गर्नु भनेको कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै भाँडोमा राख्ने र कुहिने फोहोरलाई कम्पोष्ट मल बनाउने र नकुहिने फोहोरलाई पनि पुन प्रयोगका निम्ति उपयोगमा ल्याउने र बाँकी रहेको फोहोर मात्र फोहोरको गाडीमा पठाउने प्रबन्ध गर्ने योजनालाई उत्तरदाताहरुले सकारात्मक रुपमा लिएका थिए । परीक्षण अनुगमनको क्रममा नै फोहोरको दिगो व्यवस्थापनको उपायहरुको बारेमा जान्नका लागि प्रायः उत्तरदाताहरु धेरै नै उत्सुक देखिन्थे । 

यदि पछिल्लो अनुगमनका क्रममा समेत फोहोरलाई वर्गीकरण गरेर छुट्टाछुट्टै भाँडोमा राखिएन भने फोहोर संकलकले फोहोर नउठाउने र वडा कार्यालयले दिने सुविधाहरु रोकेर कारबाही हुन सक्छ भन्ने तवरबाट सम्बन्धित निकायहरु प्रस्तुत हुँदा सजिलै फोहोरको समस्या समाधान हुने निष्कर्ष अनुगमनबाट प्राप्त प्रतिवेदनको सारांश रहेको थियो । उक्त अनुगमन कार्यले धेरै उत्तरदाताहरुबाट फोहोर मैला व्यवस्थापनमा आप्mनो आँखा नै खोलिदिएको भनी प्रशंसा समेत गरेको पाइएको थियो । 

स्थानीय सरकारले फोहोरमैला व्यवस्थापन तथा सामाजिक परिचालनको क्षेत्रमा भर्खरै विकसित भएको अनुगमनको अवधारणालाई व्यवहारमा निरन्तरता दिने कार्यलाई समेत प्रभाकारी ढंगले अगाडि बढाउनका लागि आवश्यक जनशक्ति, अन्य स्रोत र साधान उपलब्ध गराउने हो भने हरेक घरहरुबाट वर्गीकरण नगरिएको फोहोरहरु सिधै ल्याण्डफिलमा जानबाट रोक्न सकिने तथ्य प्रमाणित गर्ने आधार अनुगमनबाट प्राप्त भएको थियो ।   

अनुगमनका क्रममा ९ नं. वडा अन्तरगतका शैक्षिक संस्थाहरुले फोहोरमैला व्यवस्थापनका विषयमा कविता, गीत, कथा, निबन्ध लेखन लगायतका कुनै पनि क्रियाकलाप गरेको पाइएन । यदि यस विषयमा विद्यालयस्तरमा नै विद्यार्थीहरुलाई सहभागी गराउने हो भने हरेक घरबाट स्रोतमा नै फोहोरको वर्गीकरण गर्ने प्रणालीको विकास हुने थियो भन्ने निष्कर्ष समेत निकालिएको थियो । 

भान्सादेखि बागमती सफाईमा जगाएको जागरूकता

विभिन्न व्यक्ति तथा निकायहरुले स्रोतमा फोहोरको व्यवस्थापन गरेको विषयको अनुगमनसँगै वागमति सुधार आयोजनाले कुहिने र नकुहिने फोहोर व्यवस्थापनका लागि करिव ४००० भन्दा बढी कम्पोष्ट विनहरु खरिद गरेर अनुगमन गरेको क्षेत्रका समुदायहरुलाई वितरण गरेको थियो । सहुलियत मूल्यमा उपलब्ध गराउने, ती वीन प्रयोगका लागि आवश्यक ज्ञान, सीप प्रदान गर्न समुदाय स्तरमा सहजकर्ताहरु तयार पार्ने, उनीहरुलाई प्रशिक्षित गर्ने र यी वीनको प्रयोगको समुदाय स्तरमा नै अनुगमन गर्ने जस्ता कार्यहरु आयोजनाबाट सञ्चालन गरिएको थियो । सन् २०१६ पश्चात थालनी गरिएको यो कार्यक्रमको प्रभावकारिताका बारेमा बाग्मती सुधार आयोजनाले अध्ययन गरी प्रतिवेदन समेत सार्वजनिक गरेको छ । 



आयोजनाले कम्पोष्ट वीनको प्रभावकारिता सम्बन्धी अध्ययन सर्भे विधिमार्फत गरिएको थियो । यसका लागि कम्पोष्ट वीन प्रयोग गरिरहेका ४०० घरहरुमा तथ्यांक संकलन गरिएको भए पनि सम्पूण तथ्यांक प्राप्त भएका ३९३ वटा घरको तथ्यांकलाई मात्र विश्लेषण गरेको आयोजनाले जनाएको छ । 

आयोजनाले तथ्यांक संकलनका लागि प्रश्नावलीहरु तयार गरी तालिम प्राप्त संकलकहरुले मोवाइल फोनमा कोबो टुल बक्स प्रयोग गरी ती प्रश्नावली सहित घरघरमा पुगेर सर्वेक्षण गरेका थिए भने मोवाइल एप्लिकेसनको प्रयोग गर्न अप्ठ्यारो भएका केही सर्वेक्षकहरुमार्फत छापिएका प्रश्नावलीहरु प्रयोग गरी तथ्यांकहरु संकलन गरिएको जनाएका छन् ।  

गोकर्णेश्वर नपाको ५ वटा वडाहरु (वडा नं ५, ६, ७, ८ र ९), कागेश्वरी मनोहरा नपाका दुई वडाहरु (वडा नं ५ र ८) का साथै कामनपाका तीनवटा वडाहरु (वडा नं ७, ९ र ३१) मा अध्ययन सर्वेक्षण कार्यक्रम सञ्चालन गरेको वागमती सुधार आयोजनाले यी वडाहरुमा वीन खरीद गरेका ४०० घरधुरीमा सर्वेक्षण गरेको थियो । 

फोहोरको दिर्घकालीन समाधानः स्रोतमा वर्गीकरण र अनुगमन तथा मूल्यांकन 

वागमती सुधार आयोजनाले सन् २०२२ अक्टोबरमा झन्डै एक महिनाको अवधि लगाएर सम्पन्न गरिएको अध्ययन कार्यमा संलग्न सहभागीहरु ३९३ घरधुरी मध्ये झन्डै ७३ प्रतिशत उत्तरदाता महिला रहेको र त्यसमा पनि अधिकांश उत्तरदाताहरु गृहिणीहरु भएको पाइएको छ । साथै ९८ प्रतिशत उत्तरदाताहरुले कम्पोष्ट वीनको प्रयोग गरिरहेको अध्यनले देखाएको छ । यसबाट के प्रष्ट हुन्छ भने वीन वितरण गरिएको क्षेत्रमा स्रोतमा फोहोरको वर्गीकरण गर्नेहरुको संख्या बढेको पाउन सकिन्छ । वीन वितरण सँगसँगै सही ढंगबाट वर्गीकरण गरिएको छ कि छैन भन्ने कुराको अनुगमन तथा मूल्यांकनको पाटोलाई स्थानीय सरकारले कडाइका साथ लागू गर्ने हो भने फोहोरको समस्या दिर्घकालीन रुपमा समाधान हुनसक्छ । 

मनिसहरुमा दिनप्रतिदिन फोहोर व्यवस्थापनको विषयमा सचेत बन्न थालेका छन् । विगतका दिनमा भन्दा मानिसहरु घरायसी कम्पोष्ट विधिबाट मल बनाएर उपभोग गरिरहेको अध्ययनले देखाएको छ । यस विधिबाट गन्ध, कीरा आदि नआउने गरी कसरी उच्च गुणस्तरको मल बनाउन सकिन्छ भन्ने कुराको खोजी गर्नका लागि तालिम तथा इन्टरनेट आदि माध्यम उपयोग गरी घरमै मल बनाएर कुहिने फोहोरको व्यवस्थापन गर्न थालिएको अध्ययनले देखाएको छ । यो समयको माग पनि हो । घर घरबाट फालिएको फोहोर स्थानीय सरकार र केन्द्र सरकारको लागि नै टाउँको दुखाइको विषय बनेपछि अहिलेको सञ्चार र प्रविधिको युगमा मानिसहरु सजग र सुसूचित हुनु स्वाभाविक पनि हो ।   

फोहोरका कारण यति ठूलो समस्या सिर्जना भइसक्दा पनि फोहोरलाई स्रोतमा वर्गीकरण गर्न लगाउने कार्य सँगसँगै फोहोरबाट लाभ लिन सकिने विषयमा मानिसहरुलाई जागरुक गराउन सकिएन भने अहिले सिसडोलमा देखा परेको समस्या हाम्रा भावी सन्ततीहरुले समेत बेहोर्नुपर्ने छ । यहीँ कुरालाई मध्यनजर गरेर वागमती सुधार आयोजनाबाट प्रभावित भएर परियोजना स्थलका मानिसहरु मध्ये ५८ प्रतिशतले परियोजनाबाट सिकेर कम्पोष्ट मल बनाउने गरेका छन् भने २७ प्रतिशतले स्वतःस्फूर्त रुपमा मल बनाउन सिकेका छन् । 

आयोजनाको प्रतिवेदनमा उल्लेख भएअनुसार विन प्रयोग गर्ने घरधुरीले एउटा वीनले नपुगेर दुई वा दुई भन्दा बढी वीनहरु समेत एउटै घरमा प्रयोग भएको जनाएको छ । हामीले कम्पोष्ट वीन विधि बाहेक अन्य कम्पोष्ट मल बनाउने विधिहरु जस्तैः खाल्टे विधि, गड्यौला मल विधि आदि लगायत समुदायमा प्रचलनमा रहेको विधिहरुलाई पनि अवलम्वन गर्न सक्छौँ । 

काठमाडौं लगायतका बढी जनघनत्व भएको सहरी क्षेत्रहरुमा वढी प्रयोग हुने भनेको कम्पोष्ट वीन विधि नै उपयुक्त हुन्छ । ग्रामीण क्षेत्र बढी भएको र घर वरिपरी प्रशस्तै जग्गा भएको क्षेत्रमा परम्परागत खाल्टे मल बनाउने विधि उपयोग गर्न सकिन्छ । यसो गर्न सकियो भने स्रोतबाट निष्कने कुहिने फोहरको व्यवस्थापन नभई कुहिने फोहरबाट बन्ने कम्पोष्ट मलको प्रयोग गरी उपभोक्ताहरुले ताजा र अर्गानिक तरकारी तथा फलफूल उपभोग गर्न पाउने भएकाले यस तर्फ सबैको ध्यान पुग्नु आवश्यक छ ।  

नेपालका कतिपय सहरहरुमा फोहोरलाई स्रोतमा वर्गीकरण गरी यसबाट लाभ लिएका प्रशस्त उदाहरणहरु छन् । अहिले सबैभन्दा बढी फोहोरको समस्या बनेको काठमाडौं उपत्यकामा स्रोतमा फोहोरको वर्गीकरण गरी यसबाट लाभ लिने वातावरण सिर्जना गर्नु जरुरी छ । यदि यो अभ्यासलाई लागू गर्ने प्रयासको थालनी गर्ने हो भने गोलमोटल रुपमा सबै प्रकारका फोहोरलाई खाल्डोमा पुर्ने तयारी गरिरहेका स्थानीय सरकारहरुले विस्तारै आप्mनो नीति तथा योजनाहरुमा परिवर्तन ल्याउन बाध्य हुनेछन् । 

अन्तमा 

फोहरलाई स्रोतमा नै कम गर्ने फोहरमैला व्यवस्थापन ऐन २०६८ को मर्म र फोहर व्यवस्थापनका विद्यमान चुनौतिहरु जस्तैः ल्याण्डफिल साइटको विवाद, ढुवानी, केही दिन फोहर उठाउन नसक्दा सिंगो उपत्यकामा फोहर थुप्रने, दुर्गन्धित हुने जस्ता समस्याहरुलाई दृष्टिगत गर्दा समुदाय स्तरमा सुरु गरिएका स्रोतमा फोहोरको वर्गीकरण गरेर फोहोरको मात्रा स्रोतबाट नै घटाउन गरिएका साना तर प्रभावकारी कदमले फोहर व्यवस्थापनमा सहयोगी भूमिका खेल्न सक्छ भन्ने दृष्टान्तलाई प्रमाणित गरेको छ । 

स्रोतमा फोहोरको व्यवस्थापनका लागि कुहिने नकुहिने फोहोरलाई छुट्टाछुट्टै वर्गीकरण गरेर व्यवस्थापन गर्न सके कुहिने फोहोरलाई कम्पोष्ट मलको रुपमा प्रयोग गर्न सकिने र नकुहिने फोहोरलाई पनि पुनः प्रयोग गर्ने वा नविकरण गरी प्रयोगमा ल्याउन सके यसबाट पनि फोहोरबाट मोहर कमाउनुको साथै सुन्दर नेपाल निर्माणमा महत्वपूर्ण योगदान पुग्ने देखिन्छ । 

अहिले काठमाडौंबाट गोलमोटल वर्गीकरण नगरी पठाएका फोहोरलाई ओखरपौवाका नागरिकहरुले वर्गीकरण गरेर त्यसबाट समेत लाभ लिइरहेका छन् भने तपाइँ हामीले आप्mनै घरको फोहोरलाई वर्गीकरण गरेर उपयोगमा ल्याउन सक्यौं भने फोहोरबाट पनि हामीले लाभ लिन सक्छौँ । 

त्यसैले विश्वमा सफल अभ्यासको रुपमा प्रयोग गरिएको स्रोतमा फोहोर वर्गीकरण गर्ने प्रणालीलाई अपनाऔँ । सफा र सुन्दर नेपाल निर्माणमा सहभागी बनौँ । 



1 comments

फोहोरलाई स्रोतमा बर्गिकरण गर्नु नै व्यवस्थापनको वैज्ञानिक विधि हो । यसमै ध्यान केन्द्रित गरौं ।

Write Down Your Responses